म २०१६/१७ सालतिर ढल्कोको बालविकास प्राइमरी स्कूलमा इतिहास पढाउँथें । इतिहास विषयमा नेपालको इतिहास परिचय भन्ने पुस्तक थियो । यो पुस्तक तीन भागमा थियो र यसका लेखकको नाम चित्तरञ्जन नेपाली (१९८८–२०८०) थियो । पुस्तकमा बालबालिकालाई इतिहासबारे जानकारी गराइएको थियो । यसरी मैले सबैभन्दा पहिला इतिहासको किताबमार्फत उहाँलाई लेखकका रूपमा चिनेको थिएँ । यद्यपि उहाँको चर्चित पुस्तक ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ले २०१३ सालमै प्रकाशित भएर मदन पुरस्कार पनि पाइसकेको थियो ।
त्यसअघि उहाँको छोटो संगत पनि पाएको थिएँ । प्युखामा स्थापित नेपाल राष्ट्रिय पुस्तकालयले २०१६ सालतिर सिंहदरबारको नाचघरमा एउटा सांस्कृतिक कार्यक्रम गरेको थियो । त्यसमा चित्तरञ्जन नेपालीले लेख्नुभएको र निर्देशन गर्नुभएको नाटक देखाउने योजना थियो । नाटक मञ्चन अभ्यास पनि गरिएको थियो । नाटकमा किशोरका रूपमा मेरो छोटो भूमिका थियो । तर, कलाकारले नभ्याएर वा कुनै समस्या परेर पछि त्यो नाटक नै देखाइएन । मञ्चन नै नभएको हुनाले मैले नाटकको नाम बिर्सिएँ । मलाई यसको राम्रो सम्झना भए पनि त्यसबेला सम्भवतः चित्तरञ्जन नेपालीले भने मलाई उस्तो ख्याल गर्नुभएको थिएन ।
चित्तरञ्जन नेपालीसँग व्यक्तिगतरूपमा नजिकबाट चिनजान भएको चाहिँ २०३०/३१ सालतिर हो । म त्यतिबेला त्रिभुवन विश्वविद्यालयको लेक्चरर भइसकेको थिएँ । २०२३ सालको अन्त्यदेखि म लेक्चरर भएको हूँ । लेक्चरर भएपछि उहाँका किताबहरू पढिएकै थियो । भौतिकरूपमा नभेटे पनि ती किताबबाट उहाँको राम्रै परिचय पाएको थिएँ ।
त्रिविमा हरेक विषयको विषय समिति हुन्छ । इतिहासको पनि विषय समिति छ । त्यसमा विभागीय प्रमुख अध्यक्ष र केही छानिएका लेक्चरर सदस्य हुन्छन् । त्यसबाहेक तीन जना सदस्य त्रिविबाहिरबाट राख्नुपर्थ्याे। तीनमध्ये एक सदस्यमा चित्तरञ्जन नेपाली मनोनीत हुनुभयो । विषय समितिको बैठक हुँदा उहाँ आउनुभयो र पहिलोपटक नजिकबाट चिनजान भयो । त्यही मेसोमा नियमित भेटघाट हुन थाल्यो ।
उहाँसँगका सम्झना धेरै छन् । कति धमिला हुन थाले, कति विस्मृतिमा गए । केही सम्झना अझै ताजा छन् । अहिले पनि ती घटना याद आइरहन्छन् ।
२०५३ सालमा म त्रिवि इतिहास विभागको डिन भएँ । डिन भएको केही दिनपछि उहाँको फोन आयो । उहाँले भन्नुभयो, ‘तपाईं डिन भइहाल्नुभयो, अब मलाई पीएचडी गराउनुहोस् ।’
यो त मेरा लागि विडम्बना थियो । मैले र मेरा समकालीन तथा कनिष्ठहरू धेरैले उहाँकै पुस्तक पढेर एमए पास गरेका थियौं । त्यसपछि कतिले पीएचडी पनि गरेका थियौं । मैले उहाँलाई भनें, ‘ए बाबा, तपाईंले त्यत्रा पुस्तक लेख्नुभएको छ, ती के पीएचडीभन्दा कम छन् ? पीएचडीभन्दा बढी गर्नुभएको छ । अब तपाईंले पीएचडी गर्ने होइन, पीएचडी उत्पादन गर्ने हो ।’
मैले यसो भन्दा उहाँ हाँस्नुभयो । मैले उहाँबाट उम्किन मात्र त्यसो भनेको थिइनँ । उहाँ वास्तवमै काबिल र विद्वान् हुनुहुन्थ्यो । अनि मैले दुई वटा पीएचडी थेसिस जाँचका लागि उहाँलाई पठाएँ । एउटा थेसिस यज्ञनाथ आचार्यको थियो, भीम शमशेरसम्बन्धी । अर्को चाहिँ घनश्याम भट्टराईको थियो, नेपालको स्थानीय प्रशासनसँग सम्बन्धित । दुवै थेसिस उहाँले जाँच्नुभयो र राम्रोसँग कमेन्ट लेखिदिनुभयो । थप कामका लागि प्रेरित गर्नुभयो । थेसिस जाँच्ने कोही–कोहीले ‘ठीक छ’ वा ‘भएन’ मात्र भनिदिन्छन् । उहाँले त्यसो गर्नुभएन । त्यसबेला १६ पन्ना वा ३२ पेजको कापी हुन्थ्यो । उहाँले ३२ पेज नै भरिनेगरी कमेन्ट लेखिदिनुभएको थियो । अहिले दुवै शोधपत्रहरू किताबका रूपमा प्रकाशित भइसकेका छन् ।
म उहाँको निकै निकट थिएँ । उहाँले अवकाश जीवन बिताउन थालेपछि र वृद्धावस्थामा पनि हरेक १५/२० दिनमा फोन गरेर ‘आजकल नेपालको इतिहाससँग सम्बन्धित नयाँ किताब के छन्’ भनेर सोध्नुहुन्थ्यो । मैले त्यसको विवरण दिएपछि मगाएर पढ्नुहुन्थ्यो । पढेपछि फेरि फोन गरेर आफूलाई लागेको बताउनुहुन्थ्यो । पढ्नमा त्यति धेरै रुचि थियो ।
उहाँलाई सम्झिनुपर्ने अर्को प्रसंग चाहिँ ताजा छ । संस्कृति मन्त्रालयले २०७९ सालदेखि दिने गरी दुई लाख रुपैयाँ राशिको बाबुराम आचार्य पुरस्कार राखेको छ । पहिलो वर्ष त्यो पुरस्कार पाउने म नै हो । २०८० सालमा त्यो पुरस्कार कसलाई दिने भन्ने विषयमा अनौपचारिकरूपमा मलाई पनि सोधिएको थियो, यद्यपि म छनोट समितिमा थिइनँ । उहाँहरूले मलाई ‘तपाईंजत्तिकै वा तपाईंभन्दा सिनियरलाई सिफारिस गर्नुपर्यो’ भन्नुभएको थियो । मैले चित्तरञ्जन नेपालीको नाम भनिदिएँ । उहाँभन्दा सिनियर त कोही थिएन । अनि २०८० सालको पुरस्कार उहाँलाई दिने निर्णय भयो । २०८० असारमा पुरस्कार अर्पण गरिएको थियो । त्यसपछि फोन गरेर ‘एकपटक भेटौंला नि है’ भन्नुभएको थियो । तर भेट हुन नपाई मृत्युको खबर पाएँ ।
महत्वपूर्ण तीन किताब
उहाँले चर्चा पाउनुभएको पहिलो पुस्तक ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ हो । यो २०१३ सालमा प्रकाशित भयो र पहिलो मदन पुरस्कार पनि पायो । यो पुस्तकको विशेषता भनेको हाम्रो परराष्ट्र मन्त्रालयमा रहेका कागजपत्र जुन कसैले हेर्न पाएका थिएनन्, तिनलाई अध्ययन गरेर पुस्तक तयार भएको हो । उहाँका पिताजी मेदिनीप्रसाद राजभण्डारी परराष्ट्र मन्त्रालयमा सुब्बा हुनुहुन्थ्यो । त्यही कारण चित्तरञ्जनले ती कागजपत्रमा पहुँच पाउनुभएको थियो । त्यो पुस्तकमा त्यसबेलासम्म प्रकाशनमा नआएका कागजपत्रको जानकारी छापियो । पुस्तकमा धेरै नयाँ सूचना आए । नयाँ कागजातको सँगालो हो त्यो किताब ।

उहाँको उक्त पुस्तकको प्रभाव भविष्यमा इतिहासकारहरूलाई पनि पर्यो । पछि इतिहास लेखिँदा परराष्ट्रका कागजपत्रलाई आधार बनाउन थालियो । हामीले पनि पुस्तक वा लेख लेख्दा त्यहीँका कागजपत्रलाई शोधसामग्री बनाउन थाल्यौं । त्यही किताबका कारण २०५१ सालमा उहाँले भीमसेन थापा स्मृति पुरस्कार पाउनुभयो । उक्त पुरस्कार पाउने पहिलो व्यक्ति पनि चित्तरञ्जन नेपाली नै हुनुहुन्छ ।
यो पुस्तकलाई आलोचना गर्नेहरू पनि छन् । उहाँले पुस्तकमा भीमसेन थापाको तारिफ मात्र गर्नुभएको र कुनै पनि कमजोरी वा नकारात्मक पक्ष नदेखाएको भनिन्छ । यसरी इतिहास लेखिँदा एकपक्षीय हुने आलोचकहरूको मत छ ।
मैले आलोचनाको यो विषय उहाँलाई पनि सुनाएको थिएँ । उहाँले भन्नुभएको थियो, ‘धारणा भनेको आ–आफ्नो हुन्छ । मैले मेरो धारणा पुस्तकमार्फत लेखें । अब मेरो धारणा मिल्नैपर्छ वा सबैले मान्नैपर्छ भन्ने छैन । खण्डन गर्नेले त्यसलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्न सक्छन् । तर मैले जुन कागजपत्रलाई प्रमाणका रूपमा ल्याएको छु, त्यसलाई त कसैले चुनौती दिन सकेको छैन । मैले तिनै कागजातले बोलेको कुरा बाहिर ल्याएको हूँ ।’
उहाँको भनाइ पनि ठीक हो । परराष्ट्र मन्त्रालयमा भएका जुन कागजात उहाँले पुस्तकका रूपमा बाहिर ल्याउनुभयो, त्यो किताबको महत्त्व त्यसैमा छ । किनभने किताबको तथ्यलाई कसैले खण्डन गरेको छैन । खाली पुस्तकमा भीमसेन थापाको नकारात्मक कुरा आएन भन्ने धारणा मात्र हो । धारणा त आ– आफ्नो हुन्छ । उहाँले भीमसेन थापाको सकारात्मक कुरा मात्र बाहिर ल्याउनुभएको कारण धारणाको आलोचना भएको हो ।
उहाँको अर्को महत्त्वपूर्ण पुस्तक ‘श्री ५ रणबहादुर शाह व्यक्तित्व र शासनकाल’ हो । यो पुस्तक २०२० सालमा छापिएको हो । यसमा पनि परराष्ट्र मन्त्रालयका कागजपत्र प्रशस्त छन् । यो पुस्तकमा भएका कागजपत्र अहिलेसम्म मानिसहरूले प्रयोग गरिरहेका छन् । त्यसमा भएको एउटा महत्त्वपूर्ण अभिलेखलाई उदाहरण मान्न सकिन्छ । यद्यपि त्यो रणबहादुर शाहसँग सम्बन्धित छैन । तर रणबहादुर शाहकै पालामा आएको हुनाले उहाँले राख्नुभएको छ । त्यो अभिलेख हो, त्यति बेलाका कर्मचारीलाई दिइने बिदा । त्यतिबेला नेवार कर्मचारीका लागि एक किसिम र पर्वते कर्मचारीका लागि अर्को किसिमको बिदा दिइने उल्लेख छ । नेवार कर्मचारीलाई वर्षको २७ दिन र पर्वते कर्मचारीलाई २३ दिन मात्र बिदा दिइएको छ । त्यसबेला बाबुको श्राद्ध गर्ने दिन बिदा दिने चलन थियो । त्यस्तै देवालीको दिन, कुलपूजाको दिन पनि बिदा दिने चलन थियो ।

अर्को महत्त्वपूर्ण चाहिँ घोडेजात्राको दिन पनि बिदा दिइएको छ । यो किन महत्त्वपूर्ण छ भने, हामी त जंगबहादुरले घोडेजात्रा सुरु गरेको भन्छौं । तर त्यसअघि नै बिदा दिइएको रणबहादुर शाहको पालाको अभिलेखले देखाउँछ । घोडेजात्रामा नेवार कर्मचारीलाई बिदा दिइएको छ, तर पर्वते कर्मचारीलाई दिइएको छैन ।
काठमाडौंमा घोडेजात्रा भव्यताका साथ मनाउँछन् नै, त्यही दिन ललितपुरमा एउटा मात्र घोडा दौडाउने चलन छ । मलाई लाग्छ, ललितपुरमा एउटा घोडा दौडाउने पर्व मध्यकालदेखि सुरु भएको हो । काठमाडौंको चाहिँ जंगबहादुरले सुरु गरेका हुन् । त्यसकारण ललितपुरको घोडा दौडाउने नेवारको जात्रा भएकाले रणबहादुर शाहको पालामा नेवारलाई नै बिदा दिइएको थाहा हुन्छ ।
यो किताबको आलोचना गर्नेले पनि रणबहादुर शाहको दोषलाई रक्षा गर्न खोजेको बताउँछन् । जस्तै, रणबहादुर शाहले बिफर नआएका बच्चाहरूलाई काठमाडौंबाट निष्कासन गरेको, रणबहादुर शाहकी रानी कान्तवती मरिसकेपछि सारा देवताहरू नष्ट गरेकोजस्ता विषय रक्षा गर्न खोज्नुभएको छ । त्यसकारण ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’मा जस्तै यसमा पनि सकारात्मक कुरा लेखेको र कमजोरीहरूलाई अनदेखा गरेको भनेर कतिपय इतिहासकारहरूले आलोचना गरेका छन् । तर यो किताबको महत्त्व भनेको पनि यसमा समेटिएका कागजपत्र नै हुन्, जुन अघिल्लो पुस्तकजत्तिकै महत्त्वपूर्ण छन् ।
उहाँले अर्को किताब जंगबहादुरबारे लेख्नुभएको छ । ‘जंगबहादुरको कथा’ किताब विभिन्न लेखहरूको सँगालो हो । पहिलादेखिका लेखलाई परिमार्जन गरेर छाप्नुभएको हो ।

यसमा इतिहासकारका रूपमा हामीमा भएको समानता भनेको दुवै जनाले जंगबहादुरबारे पुस्तक लेखेका छौं । मैले ‘नेपालको इतिहासमा जंगबहादुर’ पुस्तक २०४८ सालमा प्रकाशन गरेको हूँ । उहाँको भने २०७० सालमा आएको हो । त्यो किताबमा ‘राजेन्द्रको राज्यचुति’ भन्ने करिब १४० पेजको एउटै लेख छ । मेरो किताबमा पनि उनको राज्यचुतिसम्बन्धी लेख छ । त्यसलाई पढेर उहाँले समर्थन गर्ने ठाउँमा गर्नुभएको छ र चित्त नबुझेको ठाउँमा खण्डन पनि गर्नुभएको छ । त्यसमा उहाँको निष्पक्षता देखिन्छ । मैले त्यस लेखलाई सकारात्मकरूपमा लिएको छु।
उहाँको किताब आएपछि त्यसबारे छलफल गर्न कमलमणि दीक्षितले उहाँ र मलाई डाक्नुभएको थियो । अनि मैले उहाँलाई भनेको थिएँ, ‘तपाईंले जंगबहादुरको कथा भनेर किन लेख्नुभयो ? इतिहास भनेको साहित्य होइन । यो त कुनै कथा होइन । के हो तपाईंको कुरा ?’
यो पुस्तक कमलमणि दीक्षितको जगदम्बा प्रेसले प्रकाशन गरेको थियो । मेरो प्रश्नको उत्तर चित्तरञ्जनले दिनुअघि नै कमलमणि बोल्नुभयो । उहाँले भन्नुभयो, ‘यो नाम उहाँले होइन, मैले राखेको हो । जंगबहादुरको कथा भनेको कुनै काल्पनिक कथा भन्न खोजिएको होइन, वृत्तान्त भनेको हो । यसलाई इतिहासकै रूपमा बुझ्नुपर्छ, जंगबहादुरको वृत्तान्तका रूपमा बुझ्नुपर्छ ।’
यसरी उहाँको अन्तिम किताबका रूपमा ‘जंगबहादुरको कथा’ प्रकाशन भएको थियो । यसमा उहाँले विभिन्न पुस्तकमा प्रकाशित भएका अभिलेखको विवेचना पनि गर्नुभएको छ र जंगबहादुरसँग सम्बन्धित नयाँ कागजातसमेत राख्नुभएको छ । जंगबहादुर कसरी शक्तिमा आए, राजेन्द्रविक्रमको फौजलाई कसरी हराए भन्ने कुरा उल्लेख छ ।
जंगबहादुर शक्तिमा आउनुलाई राजेन्द्रविक्रम र रणबहादुरको प्रभावसँग तुलना गरिएको छ । चित्तरञ्जन नेपालीकै ‘रणबहादुर शाह’ किताबअनुसार रणबहादुर शाह बनारसबाट फर्किंदा उनलाई कैद गर्नका लागि दामोदर पाँडे तम्सिएर गएका थिए । तर दामोदर पाँडेसँग गएको फौजले उल्टै रणबहादुरलाई साथ दियो । उनैलाई राजा मान्यो । अनि दामोदर पाँडेलाई उनले लगेकै फौजले मृत्युदण्ड दियो ।
तर राजेन्द्रविक्रम शाहको हकमा ठीक उल्टो भयो । उनी बनारसबाट फर्किएर अलौमा आएर बसेका थिए । उनलाई नियन्त्रणमा लिन जंगबहादुरले फौज पठाए । त्यो फौजले रणबहादुर शाहको पालामा जस्तो राजेन्द्रविक्रम शाहलाई साथ नदिएर जंगबहादुरप्रति नै बफादार भयो । यहाँ राजेन्द्रविक्रम आफ्ना हजुरबुवा रणबहादुर शाहजति प्रभावशाली देखिएनन् र जंगबहादुर सजिलैसँग सत्तामा टिकिरहे भनेर उहाँले उल्लेख गर्नुभएको छ ।
इतिहासको कोसेढुंगा : ती चार लेख
इतिहाससँग सम्बन्धित चित्तरञ्जन नेपालीका छरिएका लेख अत्यन्त धेरै छन् । तर उहाँका चार वटा लेख पुस्तकजत्तिकै महत्त्वपूर्ण छन् । तिनले इतिहासको नयाँ पाटोलाई उजागर गरेका छन् ।
नेपाल र भोटको सम्बन्ध प्रताप मल्लको समयदेखि गाँसिएको हो । यो विषय केही किताबमा छ्यास्सछुस्स आए पनि प्रामाणिकरूपमा आएको थिएन । चित्तरञ्जन नेपाली नै पहिलो व्यक्ति हुनुहुन्छ, जसले २०१२ सालमा ‘नेपाल र तिब्बत सम्बन्ध’ भनेर यी सबै प्रमाणित गररे लेख प्रकाशित गराउनुभयो । यो लेख २०१२ सालको ‘ प्रगति’ पत्रिकाको वैशाख–जेठ अंकमा प्रकाशित भएको थियो । ‘प्रगति’ त्यस बेलाको साहित्यिक पत्रिका थियो ।
अर्को लेख लेख्नुभयो उहाँले, त्यसको शीर्षक ‘नेपालमा करियामोचनको इतिहास’ भन्ने थियो । करियामोचन नेपालको दासप्रथा उन्मूलनसँग सम्बन्धित छ । उहाँले प्रमाणस्वरूप कागजपत्रहरूसहित त्यो लेख लेख्नुभएको थियो । त्यसमा जंगबहादुरका अभिलेख, देवशमशेरका अभिलेख, चन्द्रशमशेरका अभिलेख सबैलाई राख्नुभएको थियो । त्यो लेख २०२१ सालमा ‘नेपाली’ पत्रिका (पूर्णांक २०) मा छापिएको थियो ।
तेस्रो महत्त्वपूर्ण लेख गोर्खा भर्ती केन्द्रबारे छ । ‘नेपाल र ब्रिटिस गोर्खा राइफल्स’ शीर्षकको त्यो लेख पनि विभिन्न अभिलेखलाई आधार मानेर लेखिएको छ । गोर्खा भर्ती केन्द्रबारे यति गहनरूपमा त्यसअघि कुनै पनि सामग्री लेखिएको थिएन । यो लेख २०२१ भदौको ‘रूपरेखा’ पत्रिकामा छापिएको छ ।
नेपाल–अंग्रेज युद्धपछि अंग्रेजहरूले त्यहाँको सेनामा गोर्खालाई राख्ने अवसर पाए । तर नेपाल सरकार आफ्ना नागरिकलाई बेलायती सेनामा पठाउन चाहँदैनथ्यो । त्यसकारण भीमसेन थापाको समयमा बेलायती सेनामा गोर्खालीको भर्तीको विरोध भयो । त्यसपछि जंगबहादुर राणा प्रधानमन्त्री भएपछि परिस्थिति फेरियो । उनी अंग्रेजहरूका भक्त थिए । यद्यपि नेपालीलाई बेलायती सेनामा पठाउन चाहँदैनथे । उनले बेलायती सेनामा नेपाली प्रवेशको खुला रूपमा विरोध गर्न त सकेनन्, तर भित्रभित्रै नेपालीहरूलाई अंग्रेजको सेनामा जानबाट रोक्ने प्रयास गरे । चित्तरञ्जन नेपालीले पहिलोपटक यो विषय बाहिर ल्याउनुभयो ।
जंगबहादुरले हाम्रो सिमानाका हाकिमलाई लेखेको पत्रमा अंग्रेजहरूले नेपाली युवालाई उनीहरूको सेनामा मागेको र अंग्रेज ‘साहेब’ले थाहा नपाउनेगरी त्यहाँ नजान उर्दी दिनू भन्ने उल्लेख छ । त्यसैगरी अंग्रेज हाकिमलाई चाहिँ ‘आउन खोज्नेलाई हामी राक्दैनौं, पठाइदिन्छौं’ भनेर चिठी लेख्न पनि आदेश गरेका छन् । जंगबहादुरले यसरी लेखेको चिठी त्यही लेखमा प्रकाशित छ ।
जंगबहादुरको मृत्युपछि रणोद्वीप सिंह प्रधानमन्त्री भए । त्यसबेला अंग्रेजको नेपाली भर्ती गर्ने चाहना र नेपालीको उता भर्ती हुने चाहनालाई रोक्न सकेनन् र नेपालीहरू स्वतन्त्ररूपमा निर्बाध बेलायती सेनामा भर्ती भएको पाइन्छ ।
चौथो लेख चाहिँ डायमनशमेशरको उपन्यास ‘सेतो बाघ’मा इतिहाससम्बन्धी तथ्यगत त्रुटिमा केन्द्रित छ । त्यो लेखको नाम ‘सेतो बाघको ऐतिहासिक परीक्षा’ भन्ने छ । यो उपन्यासको समीक्षाका रूपमा कुनै पत्रिकामा छापिएको थियो । पछि त्यसलाई उहाँको लेखहरूको पुस्तक ‘केही कृति: केही अभिव्यक्ति’ मा राखिएको छ ।
जगतजंगलगायतको षड्यन्त्रसम्बन्धी घटनालाई ३८ साल पर्व भनिन्छ । त्यस घटनामा २१/२२ जवानलाई फाँसी नै दिइएको छ । उपन्यासमा जगतजंगले सैनिकलाई सत्ता उल्टाउन उकासेको आरोप लगाइएको थियो । यद्यपि यो षड्यन्त्र खुल्दा जगतजंग तीर्थयात्रामा भारत गएका थिए । तर डायमनशमशेरले उपन्यासमा जगतजंगलाई पक्रिएको र उनका सहयोगीहरूले बाँच्नका लागि अनुनयविनय गरेको देखाएका छन् । नेपालमै नभएको मान्छेलाई कसरी पक्रिइन्छ ?
पक्रिँदाखेरि जगतजंगका सहयोगीले ‘माफ पाऊँ महाराज’ भनेको उल्लेख छ । तर वास्तवमा त्यस्तो होइन । उनीहरूले स्वीकार गरेका छन् र ‘हामीले जगतजंगलाई साथ दिएका हौं । सफल भएको भए राज गर्थ्याैँ, अब सजायका लागि तयार छौं’ भनेका छन् । वास्तवमा डायमनशमशेरले जगतजंगका सहयोगीलाई कायर देखाउन खोजेको भन्दै चित्तरञ्जनले आलोचना गर्नुभएको छ ।
यी चार वटा लेखलाई म एकदमै राम्रो मान्छु।
सेमिनारको पैसाले निकालेका दुई किताब
चित्तरञ्जन नेपाली २०५६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुभयो । उहाँ इतिहास विभाग प्रमुख हुनुहुन्थ्यो । उहाँको अध्यक्षतामा इतिहाससँग सम्बन्धित एउटा समिति हुन्थ्यो । त्यो समितिमा चार जना सदस्यलाई नियुक्त गर्नुभएको थियो । त्यसमा मलाई पनि राख्नुभयो । अरू सदस्यमा तुलसीराम वैद्य, दिनेशराज पन्त, गोविन्द टण्डन थिए । उहाँले एकपटक भन्नुभयो, ‘मेरो विभागलाई अलिकति पैसा छ । एउटा सेमिनार गरौं ।’
यो कुरा मलाई चित्त बुझेन । मैले भनें, ‘सेमिनार गरेर के हुन्छ ? कार्यपत्र पेस हुन्छ, दुईचार जनाले बोल्छन्, त्यहाँबाट बाहिर गएपछि बिर्सिन्छन् । त्यो त खर्च मात्रै भयो नि । बरु त्यो पैसाले एउटादुईटा किताब निकाल्नुस् । किताब त भविष्यसम्म रहन्छ । तपाईंको नाम पनि रहन्छ ।’
यसो भनेपछि उहाँले मान्नुभयो । अनि दुई वटा किताब निस्कियो । एउटा थियो ‘नेपालको इतिहासका विविध पक्ष’ । यसमा २५ जना इतिहासविद्को लेख छ जसमध्ये बाबुराम आचार्य, जनकलाल शर्मा, नयराज पन्त, धनवज्र वज्राचार्य, उहाँ आफैं र हामीहरू पनि समावेश छौं । त्यसको सम्पादक उहाँ आफैं हुनुहुन्छ र समितिमा भएका हाम्रो नाम पनि राखिएको छ ।
दोस्रो किताब मध्यकालसँग सम्बन्धित छ । त्यो समयमा धेरै इटालियन पादरी नेपाल आएका थिए । तिनीहरू भोट जान यहाँको बाटो आएका थिए । भोटबाट फर्किंदा पनि यहाँ बस्ने गर्थे । तिनीहरूले नेपालको वर्णन धेरै पुस्तकमा गरेका छन् । त्यस्तो पुस्तक लेख्ने एक जना लेखक लुच्यानो पेतेक हुन् । उनले सात वटा भागमा इटालियन भाषामा पुस्तक लेखेका छन् । त्यसमा भारत, भोटलगायत क्षेत्रको बयान छ ।
हामीले चित्तरञ्जन नेपालीलाई ती सात भागमध्ये नेपालबारे वर्णन गरिएको भागको मात्र अनुवाद गरेर छाप्न सल्लाह दियौं । अनि इटालियन भाषा जान्ने सुरेन्द्र ढकाललाई उहाँले अनुवादको जिम्मेवारी दिनुभयो । त्यो पुस्तक उहाँकै समयमा निस्कियो । यो ज्यादै महत्त्वपूर्ण काम हो । सेमिनारको पैसाले यसरी पुस्तक निस्कियो ।
(प्रकाश गुरागाईं सम्पादित दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थबाट साभार)