समावेशी शिक्षाले शिक्षाबाट बाहिर रहेका बालबालिकालाई समावेश गर्ने कुरा मात्र नभएर विविधतालाई स्वीकार गर्ने, सबै बालबालिकाका लागि शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्ने र शिक्षा प्राप्तिमा हुने अवरोध हटाउने लक्ष्य राख्दछ । यसले सबै विद्यार्थीहरूको उच्च गुणस्तरीय शिक्षा पाउने अवसरलाई सुनिश्चित गर्दछ । बार्टनका अनुसार समावेशी शिक्षा फरकपनलाई मान्यता दिनु, विविध दृष्टिकोण सुन्नु र सशक्तीकरणको वातावरण सिर्जना गर्नु हो । यसले विशेषगरी बहिष्करणमा पर्नसक्ने जोखिममा रहेका विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्दछ, उनीहरूको विविध आवश्यकताहरूलाई सम्बोधन गर्दछ अनि शिक्षाको अवसर सिर्जना गरी कक्षामा समावेश गर्न खोज्दछ ।
समावेशी शिक्षाले शिक्षाबाट बाहिर पारिएका र सीमित गरिएका बालबालिकाहरूका लागि शिक्षाका अवसरहरू सुनिश्चित गर्नुपर्दछ भन्ने युनेस्कोको मान्यता छ । सबैका लागि उच्च गुणस्तरीय शिक्षा प्राप्ति र सहभागिता सुधार्न एक रणनीतिक दृष्टिकोणका रूपमा यसलाई व्याख्या गरिएको छ । अपांगता भएका बालबालिकाहरूको समावेशी शिक्षामा अधिकारको सुरक्षा विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरूमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिले स्पष्टरूपमा शैक्षिक प्रणालीहरूलाई विद्यार्थीका विविध आवश्यकताहरू र पहिचानलाई समायोजन गर्न र उनीहरूको शिक्षा प्राप्तिका लागि भएका अवरोधहरू हटाउनका लागि संवेदनशील हुनुपर्ने कुरामा जोड दिएको छ । समावेशी शिक्षाको अवधारणा समयसँगै विकसित हुँदै गर्दा अपांगता भएका बालबालिकासहित अन्य बहिष्करण भोगिरहेका बालबालिकाहरूको समावेशीकरणलाई पनि समेटिएको छ । युनेस्कोको यससम्बन्धी दृष्टिकोणले प्रत्येक विद्यार्थीको महत्त्व रहेको र शिक्षामा समान अवसरको अधिकार रहेको औंल्याउँछ । जसअनुसार विशेषगरी अपांगता भएका बालबालिकाहरूको शिक्षाको आवश्यकता पूरा गर्नु थप चुनौतीको विषय हुनसक्छ । नोरविचका अनुसार समावेशी शिक्षाले विभिन्न पक्ष समावेश गर्दछ, जस्तै विद्यार्थीहरूको एउटै समूहमा उपस्थिति सुनिश्चित गर्नु, उनीहरूको शैक्षिक सिकाइमा सक्रिय सहभागिता कायम गर्नु, र सामाजिकरूपमा समावेश हुने अवस्था । जसको कार्यान्वयनका लागि गहिरो र सूक्ष्म रणनीतिको आवश्यकता पर्दछ ।
नेपालमा समावेशी शिक्षाका खाका
नेपालमा समावेशी शिक्षा अपांगता भएका बालबालिकाका लागि विभिन्न मोडेलमार्फत लागु गर्न खोजिएको छ । विशेष विद्यालयहरू, स्रोत कक्षाहरू, र एकीकृत विद्यालयहरू अपांगता भएका बालबालिकाका लागि व्यवस्थित गरिएका विद्यालय नेपालमा छन् । विशेष विद्यालयहरू विशिष्ट अपांगता भएका बालबालिकाहरूलाई सेवा दिने उद्देश्यका साथ स्थापना गरिएका छन्, जसमा दृष्टिहीनता, श्रवण अपांगता, र मानसिक अपांगताका भएका बालबालिकाले शिक्षा ग्रहण गर्न पाउँछन् । एकीकृत विद्यालयहरूमा अपांगता भएका र अन्य विद्यार्थीहरूलाई सँगसँगै राखेर पढाउने व्यवस्था गरिएको छ भने स्रोत कक्षा मूलधारका विद्यालयहरूमा कक्षा पाँचसम्म अपांगता भएका बालबालिकाका लागि व्यवस्थित गरिएका विद्यालय हुन् ।
अपांगता भएका बालबालिकाका लागि यी मोडेलहरू नेपालमा उपलब्ध हुँदाहुँदै पनि समावेशी शिक्षाको व्यवस्थित कार्यान्वयनको सन्दर्भमा विभिन्न समस्या देखिन्छन् । ती समस्या विशेषरूपमा न्यून र पूर्ण श्रवण अपांगताका भएका बालबालिकाका सन्दर्भमा जटिल रहेको छ । समावेशी शिक्षामा शिक्षकहरूको सकारात्मक दृष्टिकोण भए तापनि त्यसको पूर्ण अभ्यासमा भने धेरै बाधा रहेका छन् । समावेशी शिक्षा कार्यान्वयनमा श्रवण अपांगतासँग सम्बन्धित विशेष ज्ञान राख्ने तथा सांकेतिक भाषाको जानकारी राख्ने दक्ष शिक्षकहरूको अभाव रहेकाले विद्यार्थीको प्रभावकारी सिकाइमा समस्या पुग्न गएको छ । नेपालको शैक्षिक प्रणालीमा अपांगता भएका बालबालिकाहरूका लागि सहज पाठ्यपुस्तक र पाठ्यक्रमहरूको अभाव छ, जसले गर्दा उनीहरू आफ्नो सहपाठीहरूको भन्दा चाँडो सिक्न सक्दैनन् । यसका अतिरिक्त शैक्षिक संरचना र सिकाइको सामान्य दृष्टिकोणले अपांगता भएका बालबालिकाका लागि थप समस्या सिर्जना गर्दछ । विद्यालयमा पहुँचयोग्य संरचनाको अभाव पनि अर्को समस्या रहेको छ । यसबाहेक अपांगतामैत्री भवन, सांकेतिक भाषा अनुवादक तथा सहायक प्रविधि तथा सामग्रीको अभाव पनि टड्कारो छ ।
नेपालमा अपांगता भएका बालबालिकाको अवस्था
नेपालमा अपांगता भएका बालबालिकाको संख्या २.२ प्रतिशतको आसपास रहेको अनुमान गरिएको छ । शारीरिक अपांगता, दृष्टि अपांगता तथा श्रवण अपांगता भएकाहरूका लागि उपलब्ध एकीकृत, स्रोत तथा विशेष कक्षाहरूमा केही पँहुच भएको देखिए पनि वास्तवमा मूलधारको शिक्षा प्रणालीमा सम्पूर्ण अपांगता भएकाहरूको सहभागिता निकै सीमित मात्रामा छ भन्दा फरक पर्दैन ।
नेपालमा प्रारम्भिक बालविकास शिक्षा कार्यक्रममा दश लाखभन्दा बढी बालबालिका दर्ता भएका छन्, जसमा शून्य दशमलब तीन प्रतिशत बालबालिकाहरू अपांगता भएका छन् । आधारभूत र माध्यमिक तहमा पनि अपांगता भएका बालबालिकाको प्रतिशत १ प्रतिशत भन्दा कम छ ।
समावेशी शिक्षा नीतिहरूको नेपालमा स्वीकारोक्ति देखिए तापनि, अपांगता भएका बालबालिकाहरूले सामान्यरूपमा विद्यालयसम्म जानका लागि अझै पनि धेरै र विभिन्न चुनौती सामना गरिरहनुपरेको छ । सामाजिक पूर्वाग्रह, भेदभाव, अभिभावकहरूको समर्थनको अभाव र अपर्याप्त सुविधाका कारण एक ठूलो हिस्सा विद्यालय जानबाट अझै वञ्चित छ । मानव अधिकार निगरानीको प्रतिवेदनले के औंल्याएको छ भने धेरै अपांगता भएका बालबालिका विद्यालय जान सक्दैनन् र जो विद्यालय जान्छन् तिनीहरूले पनि विद्यालय छोड्ने दर उच्च छ । यस अतिरिक्त नेपालमा ३०.६ प्रतिशत अपांगता भएका बालबालिकाहरू विद्यालय जान सक्दैनन् । यो तथ्यांकले समावेशी शिक्षामा रहेका चुनौतीहरू कति सघन रहेछ भन्ने उजागर गरेको छ ।
नेपालमा अपांगता भएका बालबालिकाहरूको लागि समावेशी शिक्षा प्रभावकारीरूपमा लागु गर्नका लागि धेरै चुनौतीहरू रहेका छन् । पहिलो त, शिक्षकहरूमा तालिमको अभाव नै हो । धेरै शिक्षकहरूमा अपांगता भएका बालबालिकाहरूको सहयोग र समर्थन गर्ने तरिकामा रहेको अपर्याप्त ज्ञान मुख्य छ । उदाहरणका लागि श्रवण अपांगताको लागि शिक्षकहरूलाई सांकेतिक भाषा तालिम उपलब्ध भए तापनि यो सीमित मात्रामा रहेको छ जसकारण शिक्षकहरू विद्यार्थीहरूको शिक्षा सम्बन्धित विविध आवश्यकताहरूलाई पहिचान र सम्बोधन गर्न सक्षम देखिँदैनन् । दोस्रो, शैक्षिक सामग्रीहरूको अभाव पनि उत्तिकै छ । अपांगता भएका बालबालिकाहरूका लागि सहज पाठ्यपुस्तक र पाठ्यक्रमको अभाव एक प्रमुख अवरोध हो । हाल उपलब्ध शैक्षिक सामग्रीहरू अपांगता भएका बालबालिकाहरूको सिकाइको मापदण्डअनुसार अनुकूलित छैनन् । तेस्रो, संरचनात्मक र पहुँचसम्बन्धी समस्या पनि विद्यमान रहेको छ । धेरै विद्यालयहरूमा अपांगता भएका बालबालिकाहरूका लागि आवश्यक संरचना नै छैन । अपांगमैत्री भवन, पहुँचयोग्य शौचालय, वा विशेष शैक्षिक उपकरण विद्यालयमा उपलब्ध नहुँदा शारीरिक र अन्य इन्द्रियजनित अपांगता भएका बालबालिकाहरूको विद्यालय गतिविधिमा पूर्णरूपमा सहभागी हुन सकिरहेका छैनन् ।
चौथो, सामाजिक र सांस्कृतिक बाधाहरूले पनि समस्या उत्पन्न गराइरहेका छन् । अपांगता भएका बालबालिकाहरूले समुदायमा एक कलंक र भेदभावको सामना गर्नुपर्ने सामाजिक सन्दर्भमा यसले सामाजिक बहिष्करणको रूप सिर्जना गर्दछ । यसो हुँदा उनीहरूको परिवारहरूमा पनि नकारात्मक सांस्कृतिक दृष्टिकोण पैदा भई बालबालिकाहरू अन्ततः विद्यालय जान अनिच्छा व्यक्त गर्ने वातावरण बन्न जान्छ । पाँचौ, सीमित चेतना र सीमित सहयोगी प्रणालीहरूको समस्या पनि उस्तै पीडादायी छ । अपांगता र समावेशी शिक्षाका विषयमा समुदाय र विद्यालयहरूमा सीमित चेतना रहेको पाइन्छ । अभिभावकहरू आफ्ना बालबालिकाको शैक्षिक अधिकारका बारेमा सचेत छैनन् । विद्यालयहरूमा अपांगता भएका बालबालिकाहरूका विशेष आवश्यकताहरूलाई समर्थन गर्नका लागि पर्याप्त संरचनाहरू पनि बनिसकेका छैनन् । छैटौं, नीति कार्यान्वयनको अभाव पनि अर्को ठूलो चुनौती हो । समावेशी शिक्षामा समर्थन गर्ने नीतिहरू भए तापनि अभ्यास र नीतिहरू बीचको दूरी निकै फराकिलो छ । समावेशी शिक्षाको कार्यान्वयन प्रायः असंगत देखिन्छन् र अपांगता भएका बालबालिकाहरूलाई उपयुक्त पँहुच, स्वीकार्यता र समर्थन प्राप्त हुने किसिमको निरीक्षणको अभाव रहेको पाइन्छ ।
यसर्थ, विशेषगरी अपांगता भएका बालबालिकाहरूको सन्दर्भमा नेपालमा समावेशी शिक्षाको कार्यान्वयनमा धेरै नै चुनौतीहरू देखिएका छन् । यी चुनौतीहरूमा शिक्षकहरूको तालिमको अभाव, अपर्याप्त शैक्षिक स्रोत, सामाजिक कलंक, र अपर्याप्त संरचना विशेष रहेका छन् । यद्यपि, अपांगता भएका बालबालिकाहरूको शिक्षालाई समर्थन गर्ने र पँहुच सुनिश्चित गर्ने कानूनी ढाँचाहरू हुँदाहुँदै पनि समावेशी शिक्षाको व्यावहारिक कार्यान्वयनमा अझै ठूलो खाडल रहेको छ ।
श्रवण अपांगता भएका बालबालिकाहरूको सन्दर्भमा स्रोत कक्षा र एकीकृत विद्यालयहरूमा कमिकमजोरी रहेको देखिएको छ । त्यसमा प्रायः व्यवस्थापन चुनौतीहरू, शिक्षक तालिमको अभाव, र श्रवण अपांगता भएका बालबालिकाहरूका लागि विशेष सामग्रीको कमी उल्लेख्य छन् । शिक्षकहरूले समावेशी शिक्षाप्रति सकारात्मक दृष्टिकोण राखे तापनि उनीहरूको आत्मविश्वासको अभाव र श्रवण अपांगता भएकाहरूको शैक्षिक आवश्यकताका बारेमा न्यूनतम ज्ञानले प्रभावकारी शिक्षणलाई अवरुद्ध गरेको अवस्था छ । यसले नेपालमा पूर्णसमावेशी शिक्षामा रहेका चुनौतीहरूलाई उजागर गर्दछ । यी चुनौतीहरूलाई सम्बोधन र समाधान र गर्नका लागि सबै पक्षहरूको समन्वयको आवश्यकता छ, जसमा सरकारका निकाय, शैक्षिक संस्था र स्थानीय समुदाय मुख्यरूपमा जिम्मेवार हुनुपर्दछ । त्यसो भएमा अपांगता भएका बालबालिकाहरूले आफ्ना सहपाठीहरूसरह गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् । त्यसो भयो भने मात्र नेपालको शैक्षिक प्रणालीमा कुनै पनि बालबालिका शिक्षाको अधिकार पाउनबाट छुटेका छैनन् भन्ने सुनिश्चित गर्न सकिन्छ ।
चालिसे मध्यपश्चिम विश्वविद्यलायमा प्राध्यापन गर्छन् ।