नेभिगेशन
दृष्टिकोण

आजलाई महत्व देऊ, भोलि पछुताउनु नपरोस्

हाम्रो वरपरको वातावरण र प्रकृति–हामी शुद्ध हावा, पानी, खेतबारी, जंगल, नदी सबैलाई सामान्य मान्छौँ । तर वातावरण बिग्रिएपछि, रोगव्याधि लागेपछि, पानीका अभाव भएपछि मात्र थाहा हुन्छ कि प्रकृतिको मूल्य कति ठूलो थियो ।

मानिससँग जे पनि चिज आज छ उसले त्यसलाई महङ्खव दिएको हुँदैन, त्यसको मूल्य बुझ्दैन । जब उसको हातबाट र साथबाट त्यो चिज हराउछ या खोसिन्छ, छुट्छ या टाढा हुन्छ तबमात्र उसले त्यो चिजको उच्च मूल्य थाहा पाउँछ । यो प्रत्येक मानिसको जीवनको गहिरो सत्य हो । यसो हेर्दा हरेक क्षेत्रमा विद्वता हासिल गरेकाेमानिस चतुर र विवेकवान देखिन्छ तर ऐनमौकामा उसले आफूसँग हुनुपर्ने चिज गुमाएर पछि पछुताइरहेको हाम्रै आँखा अगाडि देख्ने गरेका छौं । फेरि पनि भन्न सकिन्छ– मानिसको जीवन धेरै विडम्बनाहरूले भरिएको हुन्छ । ती विडम्बनामध्ये एक गहिरो र बारम्बार दोहोरिने सत्य के हो भने– जहाँसम्म कुनै कुरा, व्यक्ति, अवसर वा वस्तु हाम्रो नजिक छ, हामी त्यसलाई सामान्य मान्छौं; तर एक दिन त्यो हराएर जान्छ, तब मात्र त्यसको वास्तविक मूल्य कति ठूलो थियो भन्ने बुझिन्छ । यो मानवीय मनोविज्ञानको एउटा जटिल तर रोचक पक्ष हो । चाहे सम्बन्ध होस्, समय, स्वास्थ्य, धन, मित्रता, परिवार, प्रकृति वा हाम्रो आफ्नै क्षमता, हामी धेरैजसाेले आफ्नो वरिपरि रहेका यस्ता अनुपम सम्पत्तिहरूलाई सामान्य ठान्छौँ । तर जब त्यो गुम्छ, त्यसको अभावले हरेक पल चसक्क घोचिरहन्छ । यो विषयले हाम्रो मनोवैज्ञानिक, दार्शनिक र व्यवहारिक दृष्टिकोणसँग गहिरो सम्बन्ध राखेको हुन्छ ।

मनोवैज्ञानिक कारणहरू

अभ्यस्त हुनु– मानिससाग जे छन्, निरन्तर उसकै साथमा रहन्छन्, त्यसमा मनस्थिति पनि बिस्तारै अभ्यस्त हुन थाल्छ र उसलाई लाग्छ यो चिज मेरो हो सधैं मसँग नै रहन्छ । घर परिवारको प्रेम, साथीभाईको साथ, हेरचाह गर्ने परिवार र आफन्तजन, बाल्यकालका मित्रहरू, स्वस्थ शरीर लगायत लगायतका कुराहरू यी दिनहुँ, प्रायजसो पाइरहने र मिल्ने हुँदासम्म त्यति महत्व हुँदैन तर जब छुटेर जान्छ अनि संसार नै खसेजस्तो, सबै चिज लुटिए जस्तो मनोवैज्ञानिक असर नै पर्न थाल्दछ । मानिस, पद, सम्बन्ध मात्र होइन, प्रकृतिले दिएका सबै उपहारहरू–शुद्ध हावा, पानी, जमिन, घाम, बादल, जाडो, गर्मी, ऋतु अनुसारको उपलब्धता, यी सबै हाम्रो दैनिकीको हिस्सा बन्नेबित्तिकै सामान्य जस्ता लाग्न थाल्छन् । जुन दिन केही चिजको अभाव महसूस हुन्छ अनि थाहा लाग्छ, ओहो मैले नसोचेको, मैले महत्व र मूल्य नदिएको चिज कति महत्वपूर्ण रहेछ, मेरो जीवनको लागि ! मानिसको मष्तिस्कले असामान्य र नयाँ कुरालाई बढी महत्व दिन खोज्छ, जबकि हाम्रो वरिपरि रहेका सामान्य कुराहरूलाई पृष्ठभूमिमा धकेलिदिन्छ । यही कारणले, हामीसँग भइरहेको सुवर्ण अवसरलाई सुस्त रूपमा बिर्सन थाल्छौँ । त्यसैले हाम्रो मनस्थिति मात्रै होइन हृदयको पनि सुन्नुपर्दछ । सधैं उपलब्धताको मानसिकताले काम नगर्न सक्दछ । स्वाभाविक हुनसक्छ, मानिसलाई जुन कुरा सरल रूपमा उपलब्ध छ, त्यो सजिलै पाइने भन्ने मनोवृत्तिले मूल्य र महत्व घटाइदिन्छ । स्वस्थ हुँदा स्वास्थ्यको महत्व के रहेछ बिरामी पर्दा मात्र थाहा हुन्छ । आमाबुबा आफ्नो साथमा हुँदा उहाँहरूको माया र साथ कति महत्वको रहेछ भन्ने कुरा साथ छुटेपछि अझ गहिरोसँग बुझिन्छ । मित्र साथ हुँदा मित्रताको गहिराई, पैसा हुँदा त्यसको मूल्य, यी सबै हामीसँग हुँदाखेरी कम वास्ता र महत्व पाएका हुन्छन् तर एउटै कुरा हराएपछि उपलब्धता गाह्रो हुन्छ, तब मानसिक रूपमै सोच्न बाध्य बनाउँछ, त्यो चिज त साह्रै महत्वको रहेछ । मानिसको अहंकार र अपेक्षाको कारण पनि यस्तो हुने गर्दछ । मानिसले आफ्नो अहंकारको ख्याल गरेकै हुँदैन । उसको साथमा भएका चिजहरूप्रतिको घमण्ड र अहंकारले वरिपरिको धन, सम्पत्ति, सम्बन्धको कदर गर्न दिँदैन । यो त मेरो अधिकार हो भन्ने भावनाले महत्व घटाउँछ । जब त्यो अधिकार हट्छ या उसको हातबाट र साथबाट ती चिज गुम्छन् तब मन रिक्त हुन्छ ।

दार्शनिक दृष्टिकोणः हराएर मात्र पत्ता लाग्ने मूल्य

मानिसले कुनै पनि कुरा गुमाउनुअघि त्यसको गहिरो मूल्य बुझ्दैन । तर दर्शन, आध्यात्म र विश्वका महान् शिक्षाहरूले भने हामीलाई यही कुरामा जागरूक बनाइरहेका छन्– हामीसँग भएको सबै कुरा अस्थायी छ, त्यसैले अहिले नै त्यसको कदर गर । बुद्धको शिक्षा– “अनित्य” को बोध, जसमार्फत भगवान् बुद्धले जीवनको मूल सत्यलाई “अनित्य” अर्थात् सबै वस्तु अस्थायी हो भनी वर्णन गरेका छन् । यो शिक्षा साधारण जस्तो देखिए पनि अत्यन्त गहिरो छ । हाम्रो शरीर, सम्बन्ध, वातावरण, सुख–दुःख, धन–सम्पत्ति सबै निरन्तर परिवर्तनशील छन् । जब हामी अस्थायीपनको यो सत्यलाई वास्तवमै बुझ्न थाल्छौँ, तब प्रत्येक क्षण अमूल्य लाग्न थाल्छ । हामी घमण्ड, गुनासो, चिन्ता, ईर्ष्याजस्ता नकारात्मक भावनाबाट बिस्तारै मुक्त हुन्छौँ, किनकि बोधबाट थाहा हुन्छ सबै कुरा बदलिहाल्ने छ, त्यसैले अहिलेको क्षण नै सबैभन्दा महत्वपूर्ण हो तर सामान्य जीवनमा हामी स्थायीत्वको भ्रममा बाँच्छौँ । हामी सम्झन्छौँ–यो त सधैं रहन्छ र मेरो नै साथमा रहन्छ । यसै भ्रमले गर्दा हराएपछि मात्र पीडा शुरु हुन्छ । यही कारणले, बुद्धको “अनित्य” दर्शनले मानिसलाई प्रबुद्ध, कृतज्ञ र सजग बन्न प्रेरित गर्दछ ।

त्यसैगरी, भागवत गीताले वर्तमानको सम्मान र कर्मयोगमा रहन प्रेरित गरेकाेछ । भागवत गीतामा कृष्णले अर्जुनलाई भनेका छन्– “कर्म गर, वर्तमानलाई सम्मान गर, किनकि यही तिम्रो हातमा छ ।” गीताको यो वचन जीवनको गहिरो सत्य हो । हामी प्रायःभविष्यको अनिश्चिततामा चिन्तित हुन्छौँ, विगतका गल्तीमा पछुतो गर्छौँ, अझै नआएको वा भइसकेको कुरामा मन डुबाउँछौँ, तर यसै क्रममा, अब यो क्षण, जो वास्तवमै हाम्रो छ, मेरो अगाडि छ, मेरो साथमा छ त्यसको कदर गर्न भुल्छौँ । विगत फेरि आउँदैन, भविष्य कसैले देखेको छैन । मानिससँग केवल वर्तमान मात्रै हो, तर विडम्बना के छ भने,सबैभन्दा कम सम्मान उसको वर्तमानलाई नै दिइन्छ । यदि हामी गीताको “वर्तमान–केन्द्रित चेतना” आफ्नो दैनिकीमा उतार्न सक्यौँ भने– पछुतो घट्छ, चिन्ता कम हुन्छ, मन हलुका हुन्छ, काममा ध्यान बढ्छ, जीवनको स्वाद गहिरो हुन्छ ।

त्यसैगरी, जापानी झेन दर्शन–वाबी– साबीलाई मनन गर्ने हो भने, एक अत्यन्त सुन्दर जीवन–दर्शन हो । यसले विश्वलाई दुई अद्भुत तर सरल दृष्टिमा बुझाउँछः सबै कुरा अपूर्ण छ, सबै कुरा क्षणभंगुर छ, अस्थायी छ । तर जापानीहरू यसलाई कमजोरीको रूपमा होइन, सुन्दरताका रूपमा हेर्छन् । अपूर्णता, सादगी, निस्कपटपन र परिवर्तनमा नै उनीहरू सौन्दर्य देख्छन् । वाबी–साबी टुटेको भाँडोमा सुनले जोड्ने कला हो । जापानी संस्कार र वस्तुहरू– पुरानो काठको दैलो, सादा, अनौपचारिक चियाघर, मुस्लो लागेको पत्थर वा पुरानो कागज, यी सबै वाबी–साबीका रूप हुन् किनकि ती “अपूर्ण र अस्थायी” भएर पनि गहिरो सुन्दरता झल्काएका हुन्छन् । यदि हामीले दैनिक जीवनमा वाबी–साबीको दर्शन अपनायौँ भने सानासाना कुरामा आनन्द देख्न थालिन्छ । अपूर्ण सम्बन्धहरूलाई स्वीकार गर्न सिकिन्छ । आफूले गरेकाेसानो प्रगति पनि अर्थपूर्ण लाग्न थाल्छ । दबाब, तुलना र अहंकार कम हुन्छ । प्रकृति, मौनता र साधारण जीवनको सुन्दरता बुझ्न थालिन्छ । यसले जीवनलाई धेरै सहज, धैर्यशील र आत्मीय बनाइदिन्छ । समग्रमा, सबै दर्शनले एउटै कुरातिर संकेत गर्छन्– आज, अहिले, हामीले पाएको कुरा नै सबैभन्दा ठूलो सम्पत्ति हो । हामीले त्यसको कदर अझै साथमै हुँदाहुँदै गर्न सक्यौँ भने, जीवनको पिडा आधा घट्छ र आनन्द दोब्बर हुन्छ ।

जीवनका उदाहरणहरू जहाँ महत्व पछि मात्र थाहा लाग्छ

स्वस्थ शरीर हुँदा हामी खाने, सुत्ने समय, व्यायाम, मानसिक शान्ति सबैलाई बेवास्ता गर्छौँ । तर एकपटक स्वास्थ्य बिग्रियो भने, सामान्य श्वासप्रश्वास, सामान्य चालढाल, सामान्य निद्रा सबै अमूल्य लाग्न थाल्छ । त्यसैले भन्छन्, “स्वास्थ्य गएको दिन, जीवनकै आधा मूल्य हराउँछ ।” त्यसैगरी, सम्बन्ध र परिवार– आमाबुबाको बोली, संगीसाथीको साथ, दाम्पत्य सम्बन्धको समझदारी, यी सबै हामीसँग हुँदा सामान्य लाग्छ । तर उनीहरू टाढा जाँदा वा हराउँदा घर सुनसान हुन्छ, मन खाली हुन्छ, पछुतो मात्र बाँकी रहन्छ । सम्बन्धको मूल्य धेरैजसाे मानिसले पछि मात्र बुझ्ने यही सत्य हो । त्यसैगरी, समय–समय एउटा अत्यन्त शक्तिशाली पूँजी हो, तर सबैभन्दा कम मूल्य दिइने कुरा पनि यही हो । युवा हुँदा समय छ तर विवेक र बुद्धि कम प्रयोगमा ल्याउछौं, वृद्ध अवस्थामा बुद्धि, विवेक हुन्छ, तर समय कम हुन्छ, जब क्षण गुम्छ, फेरि कहिल्यै फर्किँदैन । शायद समयभन्दा ठूलो हराएर थाहा हुने मूल्य अर्को छैन । त्यसैगरी जीवनका अवसर– कहिलेकाहीँ हामी जीवनमै ठूलो अवसरका ढोकासम्म पुग्छौँ तर ढिलाइ, डर, अनिश्चितताकै कारण त्यो ढोका बन्द हुन्छ । ढोका बन्द भएपछि मात्र थाहा हुन्छ– त्यही अवसर कहिल्यै नदोहोरिने रहेछ । त्यसैगरी हाम्रो वरपरको वातावरण र प्रकृति–हामी शुद्ध हावा, पानी, खेतबारी, जंगल, नदी सबैलाई सामान्य मान्छौँ । तर वातावरण बिग्रिएपछि, रोगव्याधि लागेपछि, पानीका अभाव भएपछि मात्र थाहा हुन्छ कि प्रकृतिको मूल्य कति ठूलो थियो ।

भएका चिजको कदर गर्ने व्यावहारिक उपायहरू

कृतज्ञताको अभ्यास–दैनिक ५ मिनेट आज मैले के–के पाएको छु सोच्ने अभ्यासले मनको चेतना बढाउँछ । वर्तमानमा बस्ने अभ्यास, आउँदैजाँदै गर्ने विचारहरूलाई किनारा लगाएर वर्तमान क्षणको कदर गर्न सिक्ने । परिवार र सम्बन्धलाई प्राथमिकता दिने, सम्पर्क र संचार गर्ने, प्रेम दर्शाउने, भावनात्मक सामीप्य बढाउनेजस्ता अभ्यासलाई निरन्तरता दिने । स्वास्थ्यमा लगानी गर्ने– नियमित व्यायाम, सात्विक र पौष्टिक खानामा ध्यान दिने, मानसिक स्वास्थ्यको ख्याल गर्ने । कुनै पनि अवसर आउँदा ढिलाइ नगर्ने, हिजो भयो, भोलि आउँछ भनेर समय बिताउनुभन्दा– अवसर देखिनेबित्तिकै कदम चाल्ने । अहिले हामीसँग जे छ, त्यही नै जीवनको वास्तविक धन हो । मानिसको सबैभन्दा ठूलो कमजोरी भनेको हुँदा र छन्द देख्दैन, हराएपछि मात्र रोइरहन्छ । त्यसैले जीवनले हरेक दिन सन्देश दिन्छ– परिवार तिम्रो असली धन हो । स्वास्थ्य तिम्रो सर्वश्रेष्ठ पूँजी हो । समय तिम्रो साँचो सम्पत्ति हो । सम्बन्ध तिम्रो वास्तविक शक्ति हो । तिमीले अहिले पाएका कुरा नै तिम्रो जीवनको मूलभूत उपहार हो । यी कुराको कदर अहिले नै गर्यौँ भने पछुतो, पीडा, अभाव सबैबाट हामी आफूलाई जोगाउन सक्छौँ । त्यसैले आज मूल्य देऊ, भोलि पछुताउनु नपरोस् । जीवन फगत बाँच्ने होइन, बुझ्ने, कदर गर्ने र आभारी हुने यात्रा हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्