नेभिगेशन
दृष्टिकोण

बाले खनाउनु भएको इनार र अतिथि गृह जस्तो घर

नब्बे सालको भुइँचालोअघि नै महोत्तरीको बिजलपुरा, डाँडाटोलमा जग्गा सजिलै पाइने रहेछ । जतनपुरे मगरहरूले आफूहरूलाई पुरेत पनि हुने भएकाले हाम्रो बालाई यहाँ लिएर आएका रहेछन् । जग्गा पनि दिएछन् । आफूले ल्याएको पैसाले बाले सात बिगाहाको एउटै कित्ता किन्नुभएछ । पछि अरूले फँडानी गरेको जग्गा अन्त ठाउँमा पनि किन्नुभयो ।

एक रुपैयाँ कट्ठाका दरले दुई बिगाहा; पाँच बिगाहा चाहिँ आठ आना प्रतिकट्ठाले लिनुभएछ । घरसर बनाउन आफूसँग भएको पैसाले पुग्यो । पछि त २५/३० बिगाहा नै जग्गा जोड्नुभयो ।

हाम्रो बा त दयालु हुनुहुन्थ्यो । जग्गा जति भने पनि भइहाल्यो । धेरैलाई जग्गा पनि दिनुभयो । धरमपुरबाटै छेत्रीहरू आएर हामीलाई घडेरी दिनु भन्थे । कसैले एक काइँयो केरा ल्याउँथे । कसैले घ्यू ल्याएर दिन्थे । त्यसको साटो पाँच कट्ठा जग्गा पाउँथे । त्यसरी उहाँले तीन बिगाहा जग्गा बाँड्नुभयो ।

बा उपकारी मान्छे । गाउँमा इनार थिएन । गाउँमा हुनेखाने एक–दुई जना त अरू पनि थिए तर तिनले इनार खनाउने रुचि गरेनन् । बाले खनाउनुभयो ।

किनभने त्यहाँ पानीको दुःख थियो । पानीको स्रोत थिएन । खजुरियामा एउटा सरकारी इनार थियो । गाउँभन्दा एक किलोमिटर पर । त्यहाँदेखि पानी ओसार्न गाह्रो थियो । फेरि त्यहाँ पानी लिन जानेको भीड लाग्थ्यो । पालो नै पाइँदैनथ्यो ।

त्यो दुःखले गर्दा पनि बाले इनार बनाउँछु भन्नुभयो ।

उहाँ आध्यात्मिक मान्छे जे गर्दा पनि नारायणले गर्ने हुन् भन्नुहुन्थ्यो । इनार खनाउँदा पनि त्यसै भन्नुहुन्थ्यो । नारायणले खन्ने हुन्, नारायणले बनाउने हुन् ।

उहाँले इनार खन्न काम शुरु गर्नुभयो । इँटा त निकै चाहिन्थ्यो । ठेकेदारले ‘इँटा त हामी पोलिहाल्छौं, दाउरा खोज्नुस्’ भनेछ । काम गर्न निकै मान्छे चाहिने । उसले बासँग पेश्की स्वरुप पैसा माग्यो । बाले आफूसँग भएको चार हजार दिनुभयो । तेत्रो पैसा पाएपछि त्यो त बेपता भयो । बा सोझो मान्छे पैसा दिइहाल्नुभयो । आखिरमा ठगिनुभयो ।

पहिलो पटक इनार खनाउँदा त्यो बिग्रियो । बांगो भएकाले यहाँ खसालेको बाल्टिन उहाँ पुग्ने खालको भयो । त्यो सबै इँटा खेर गयो । फेरि अर्को खन्नुपर्‍यो ।

अर्को पटक इनार खनाउँदा इँटा जुट् यो । कसरी भने बाको साथी मालको हाकिम भएका रहेछन् । उनले ‘दाइ, यो सबै इँटा लानु’ भनेर सरकारी इँटा दिलाइदियो । त्यो वेला दुई रुपैयाँमा हजार इँटाका दरले गौशाला बजारबाट गाउँसम्म ल्याउने भाडा तिरिएको थियो । १० हजार इँटा ल्याउनुभयो; सबै ल्याउन सक्नुभएन । त्यही इँटाले इनार खन्नुभयो ।

इनार खन्न चार बिगाहा जग्गा बेच्नुभयो । तीन सय रुपैयाँ बिगाहाका दरले जग्गा बिक्री गर्नुभयो । सात–आठ हजार खर्च भयो । चार हजार रूपैयाँ त ठेकेदारले खाएर भाग्यो ।

गाउँमा इनार खन्न सक्ने त अरू पनि थिए तर हिम्मत भने बाले गर्नुभयो । त्यो इनार २०७०/७५ सालसम्म पनि सुकेको थिएन । इनार खन्नले पानी नुनिलो हुन्छ भनेकाले, बाले एक वर्षसम्म नुन खानुभएन । पानी पनि बडो मिठो थियो ।

त्यो इनारमा पानी लिन दैनिक दुई सयभन्दा बढीको भीड लाग्थ्यो । हात्तीलेटदेखिका मान्छे पनि पानीका लागि आउँथे ।

हम्रो घर त धर्मशाला जस्तै थियो । यात्रामा जानेहरू, जंगलमा दाउरा लिन जानेहरू हाम्रा घरको पिँढीमा खाजा नास्ता, इनारको पानी खाएर, एक निद्रा सुतेर बाटो लाग्थे ।

इनार खनाउन मालपोतबाट १५ सय रूपैयाँ ऋण ल्याउनुभएको थियो, बाले ।

पछि पुराना हाकिम गएर नयाँ आए । कार्यालयका कर्मचारीहरूलाई थाहा थियो, बाले पैसा ऋण लानुभएको छ भनेर । अड्डाको उठ्ठीपर्तिमा पनि लेखेको हुँदा हो । उनीहरू ऋण तिर्न बालाई ताकेता गर्न आउँथे ।

बाको पनि आफ्नै पारा थियो । जे गरे पनि भगवान्को नाम लिनुहुन्थ्यो । जे गरे पनि नारायणले गरेका भन्नुहुन्थ्यो । ऋण तिर्न ताकेता गर्न आएका कर्मचारीलाई पनि ‘त्यो मलाई दिएको होइन, नारायणलाई दिएको । उसैलाई भन्नु,’ भन्नुहुन्थ्यो ।

‘तपाईंले इनार खनेको होइन ?’ मान्छेहरू प्रश्न गर्थे ।

‘मैले खनेको होइन, नारनले खनेको,’ बाको उत्तर हुन्थ्यो ।

पछि एक दिन बिर्तावाला हरिशमशेर हात्तीमा चढेर आए । रजखोरको गौशालाका जगन्नाथसँग उनको सम्पर्क थियो, उनैले लिएर आए ।

बाले एक रुपैयाँ राखेर दर्शन गर्नुभयो । बिर्तावाल हरिशमशेरले ‘ल त्यो पैसा उठाउनु। पानी पियाउनु’ भने ।

इनारको पानी लगियो । गिलासमा पानी खाए ।

‘ल पैसा तिर्नु पर्दैन,’ भनेर हिँडे । अनि मालपोतको ऋण माफ भयो ।

अहिलेसम्म कसैले त्यसरी सार्वजनिक इनार खनेका छैनन् ।

अतिथि गृह जस्तो घर बिर्तावाल, कर्मचारी जो आए पनि हाम्रै घरमा खान्थे, बस्थे ।

उहिलेदेखि जनकपुरमा विवाह पञ्चमीको मेला लाग्थ्यो । दुई–तीन सय बाबाहरू आउँथे । नागा बाबाहरू आउँथे । आएका बाबाहरूको एक खण्ड जिम्दारहरू कहाँ जान्थे । जय मनाएर एक छाक खान्थे ।

हाम्रो घरमा पनि डेढ सय नागा बाबा आए । उनीहरूले हामीसँग १ किलो गाँजा; घ्यू दुई किलो; दाल; तरकारी; चामल मागे । भाँडा पनि दियौं । दाउरा पनि दियौं । बाबाहरू आफैं पकाएर खान्थे । भाँडाकुँडा पनि सफा गररे राखिदिन्थे । र, जय मनाएर जान्थे । अरू केही पनि माग्दैनथे । त्यसरी आएको दुई–तीन पटक देखें ।

हाम्रा घरमा पाहुना आउने त पहिल्यैदेखि नै हो ।

त्यसरी हुलका हुल नै हाम्रो घरमा सेनाको टोली पनि आउँथ्यो । एक पटक काठमाडौंबाट हिँडेर टुर गएको बटालियन – डेढ सय जनाको हुल आयो । खाना दिनु भने । चामल, दाल, दाउरा दिएपछि पकाएर खाए, भाँडा जिम्मा लगाएर हिँडे ।

पाहुना जति सबै हामीकहाँ आउँथे । गाउँ बाहिरबाट कोही आउँदा पनि गाउँ टोलमा बस्ने चाहिँ हामीकहाँ नै हुन्थ्यो ।

वटेश्वरमा भएका रामनगरका पोखरेलहरूको पनि नेपाल आउँदाको बिसौनी हाम्रै घरमा हुन्थ्यो । घोडा लिएर लावालस्करसहित आउँथे । तिनलाई पनि पकाएर खुवाउनुपथ्र्यो । पोखरेलहरू भएकाले कुटुम्बी सम्बन्ध पनि भयो । अनि जाँदा– आउँदाको बिसौनी हाम्रोमै हुन्थ्यो । एक रात बस्थे । अनि जान्थे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण