प्रा.डा. केदारभक्त माथेमा
६० वर्षअघि फ्रान्सेली भाषा पढ्ने क्रममा श्याममोहन श्रेष्ठलाई भेटें । उनी ज्यादै मिहिनेती थिए । यति मिहिनेती कि उनको पढाइबाट म पनि प्रभावित भएँ । म फ्रान्सेली भाषा कक्षा पढ्न जानबाट नरोकिएको भए श्याममोहन र म कडा प्रतिस्पर्धी हुन्थ्यौं होला । तर नियतिले हामीलाई त्यही मोडबाट अलगअलग बाटोमा पु¥यायो । उनी व्यवसायी भए, म विश्वविद्यालय र अन्यत्र व्यस्त भएँ ।
म जापानमा राजदूत रहँदा नेपालबाट राजकीय भ्रमणमा जाने धेरै भए पनि श्याममोहनले मात्र महिनौंअघि आफ्नो यात्रा तय भएकाले आफूले भेट्न चाहेका व्यक्तिहरूको सूची र समय उपलब्ध गराउन आग्रह गरेका थिए । उनको आग्रहअनुसार मैले समय मिलाउने प्रयास पनि गरेँ । जापान भ्रमणमा जाने अरूले पहिले मसँग कुनै संवाद गरेनन् । श्यामजीले पहिले नै चिठ्ठी लेखेर आफूलाई विभिन्न व्यक्तिसँग भेट गराइदिन अनुरोध गर्नुभएको थियो । उहाँले सजिलै भेट पाउनुभयो तर अरूले पाएनन् । श्यामले पाउने, हामीले नपाउने भनेर अन्य उद्यमी तथा व्यवसायीहरू मसँग रिसाए ।
श्याममोहनको स–साना कुरामा पनि मिहिनेत गर्ने बानी अहिलेसम्म उत्तिकै रहेको र यो पुस्तकमा पनि पाएकामा मलाई ज्यादै खुसी लागेको छ । पुस्तकमा श्याममोहनले जीवनका रङहरू सबै पोखिने गरी लेखेको र ती मनोहर रहेको बताए । लेख्न त धेरैले लेख्छन् तर यति धेरै खुलेर, अन्तरंग कुराहरू पनि खुल्ने गरी कमै व्यक्तिले लेख्न सक्छन् ।
नेपालमा २०२३ सालदेखि आत्मकथा लेखन सुरु भएको मेरो मोटामोटी अनुमान छ । बालकृष्ण समको ‘मेरो कविताको आराधन’लाई प्रथम आत्मकथा मान्छु । त्यसपछि पारशमणि प्रधानको ‘मेरो रोचक संस्मरण’, शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्ता मल्लको २०३६ सालमा प्रकाशित ‘मेरो आत्मकथा’ पछि २०३९ सालमा दमनराज तुलाधरले आफ्नै नामबाट आत्मकथा लेखे । २०४० सालमा बीपी कोइरालाको ‘आफ्नू कथा’सम्म आइपुग्दा आत्मकथा लेखनले गति नपाए पनि २०५५ सालमा दमननाथ ढुंगानाको सहयोगमा तयार पारिएको ‘बीपीको आत्मवृत्तान्त’पछि भने नेपालमा यो विधा फस्टाएको प्राडा माथेमाले बताए ।
यस किसिमको लेखनीले नेपालको सामाजिक ज्ञानको भण्डारलाई फराकिलो बनाउँछ । त्यो कसरी भने, कुनै समय नेपालमा उच्च शिक्षा लिन गाह्रो थियो । उच्च शिक्षाका लागि नेपालीले पटनामा पुगेर अध्ययन गर्थे । एकपटक नेपाली भाषामा उच्च अध्ययन गर्न पुगेका विद्यार्थीलाई त्यहाँका प्राध्यापकहरूले नेपालीमा पढाइ हुँदैन किनभने नेपाली साहित्यमा कुनै काम नै भएको छैन भनेर फर्काइदिए । त्यसबाट आहत भएकाहरूले ‘शारदा’ साहित्यिक पत्रिका निकाले । क्रमशः त्यसपछि नेपाली भाषाका अन्य पुस्तकहरू पनि प्रकाशन हुन थाल्यो । साहित्यिक पत्रिका प्रकाशन हुन थालेपछि बनारसबाट साहित्यिक कृतिहरू प्रकाशन हुन थाल्यो । ती सबै एकमुष्ठ लिएर पटना विश्वविद्यालय लगेर त्यसबेलाका केही साहित्यसेवीहरूले ‘ल हेर, हामीकहाँ साहित्यमा कति काम भएको छ’ भनेर दिएपछि नेपाली साहित्य पढाउन थालिएको हो ।
चाहे त्यो आत्मकथा होस्, त्यो संस्मरण वा निबन्ध, जुनसुकै विधामा लेखिएको होस्, ती पुस्तकले केही केही योगदान गरिरहेकै हुन्छन् ।
आत्मकथा कसले लेख्ने ? पहिला त राजा महाराजा लेख्थे । मन्त्री, राजनीतिज्ञहरू, उद्यमी र संसारलाई नै योगदान दिएकाहरूले लेख्थे । के उसो भए आत्मकथा उनीहरूले मात्र लेख्ने हो कि ? उनीहरूका कुरा मात्र पढ्नुपर्ने हो कि ? आत्मकथा लेख्नका लागि प्रख्यात मात्र हुनुपर्ने हो ?
सन् १९५१ मा भारतमा छापिएको थियो, ‘एन अटोबायोग्राफी अफ अननोन् इन्डियन’ । निराद चौधरीले लेखेको यो आत्मकथा निकै चर्चित भयो । उनी रेल सेवामा काम गर्थे । सय वर्षभन्दा बढी बाँचे । उनी अंग्रेज शासनका बेलाको भारतीय रेलवे सेवाको सामान्य कर्मचारी थिए । तर उनको अंग्रेजी यति राम्रो थियो कि केहीले नेहरुको भन्दा राम्रो भाषा भनेर प्रशंसा गर्थे ।
उनको त्यो आत्मकथामा त्यो बेलाको वातावरण, खान्की, वरिपरिको अवस्थालाई यति मजाले लेखेका छन् कि त्यो आत्मकथामा मात्र सीमित रहेन । त्यो त समयको पदचापलाई टक्क अड्याएर अक्षरमा कुँद्ने चित्रमय शब्दहरू बन्न पुगे ।
निरोदको त्यो आत्मकथाले देखायो, सामान्य मानिसको पनि कथा हुनसक्छ । सबैसँग भन्न लायक कथा छ । मार्गरेट एटवुडको भनाइ निकै प्रख्यात छ । उनी भन्छिन्, ‘वी आर स्टोरिज् एट द इन्ड ।’ आखिरमा हामी सबै कथा मात्रै हौं ।
आत्मकथा दुई प्रकारका हुन्छन् । पहिलो प्रकारका कथामा मैले जिन्दगीमा जे गरें, गज्जब गरें भन्ने हुन्छन् । अर्का चाहिँ, मैले राम्रो काम पनि गरें, नराम्रो काम पनि गरें । समग्रमा मैले आफ्नो बुद्धिले भ्याएसम्मका कामहरू गरें ।
मार्क ट्वेनले कतै भनेका छन्, ‘एभ्रीबडी ह्याज मूनसाइड ।’ वास्तवमा सबै मानिस चन्द्रमा जस्तै हुन् । सबैका उज्याला र अँध्यारा पक्ष हुन्छन् । राम्रो र असल लेखकले उज्याला र अँध्यारा दुवै पक्षका बारेमा लेखेको हुन्छ । उसले लेख्ने हिम्मत गरेको हुन्छ । पाठकले उज्याला र अँध्यारा दुवै पक्ष केलाएर लेखिएका कुरालाई पछिसम्म सम्झन्छन् । तिनले पुस्तौंसम्मका पाठकहरूलाई प्रेरित गरिरहन्छन् ।
जे छ, त्यसलाई ठ्याक्कै त्यही रूपमा लेख्नु कठिन छ । त्यो सजिलो काम होइन । त्यसका बाबजुद पनि लेख्नेले हिम्मतका साथ लेखिदेला, त्यसपछिको पुस्ताका लागि भने त्यो लेखनीले सधैंभरि शूलको काम गर्न सक्छ । त्यसैले त्यस्तो हिम्मत हरकोहीले गर्न सक्तैन ।
टर्कीका प्रख्यात साहित्यकार ओरहान पामुकले जब ‘इस्तानबुल’ नामक पुस्तक लेखे, उनकी आमाले पछिसम्म उनलाई माफ गरिनन् । उनले छोरासँग बोल्दै बोलिनन् । दुई महिनाअघि मात्र अरुन्धति रोयले आफ्नो संस्मरण बजारमा ल्याएकी छन् । ‘मेरी मदर कम्स टू मी’मा उनले आफ्नी आमाको उछित्तो काढेर लेखेकी छन् । उनकी आमा यति रिसाही रहिछन् कि उनको व्यवहारले जीवनभर आमासँग राम्रो सम्बन्ध हुन सकेन । यदि उनकी आमा ज्यूँदै हुन्थिन् भने यो पढेर पक्कै पनि खुसी हुने थिइनन् । रोयकी आमाका बारेमा पढ्दै गर्दा त उनी पक्कै पनि दैत्य होलिन्जस्तो लाग्छ ।
भनाइको अर्थ, तपाईंले आत्मकथा लेख्नु ज्यादै खतरनाक रहर हुनसक्छ । तपाईंले आफ्नो मात्र प्रशंसा गरेर लेख्नुभयो भने पाठक खुसी नहुन सक्छन् । अनि, जब तपाईंले आफूलाई इमानदार भएर लेख्न बस्नुभयो भने तपाईंको वरपरका मानिसहरू पक्कै पनि खुसी हुने छैनन् । आत्मकथा लेखनका यस्ता समस्या हुनसक्छन् । यस मामिलामा भने श्याममोहन श्रेष्ठ अलग देखिएका छन् । उनको ‘एक फिरन्तेको चट्याङे जीवन’मा आफूले गरेका र अरूले आफूमाथि गरेका गल्ती र ज्यादतीहरू पनि उहाँले इमानदारीपूर्वक राख्नुभएको छ ।