नेभिगेशन
अर्थतन्त्र

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागू गरेका छौ : नेपाल

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गर्दै कानूनी, प्रशासनिक तथा संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को कार्ययोजना अन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ ।

कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि (यूएनसीएसी) पक्षराष्ट्रहरूको ११औं सम्मेलनमा सहभागी हुँदै नेपालले उक्त जानकारी गराएको हो । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

उनले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको उद्देश्यसहित अन्तरिम सरकार गठन गरिएको उल्लेख गर्दै वर्तमान सरकार यसप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । सचिव कार्कीले पदको दुरुपयोग, घुसखोरी, सम्पत्ति शुद्धीकरण तथा अवैध सम्पत्ति आर्जनलाई अपराधका रूपमा घोषणा गरी तिनको नियन्त्रणका लागि सरकारले थालेका कानूनी तथा संस्थागत प्रयासबारे सम्मेलनलाई जानकारी गराए ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार नेपालले संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै पारदर्शिता, जवाफदेहिता र सुशासन सुदृढीकरणका लागि निरन्तर सुधार प्रक्रिया अघि बढाइरहेको जनाएको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्