सन् २०२५ मा भारतीय चलचित्र उद्योग आफ्नो सुपरिचित मैदानमा खेल्नका लागि पुनः फर्किएको देखियो । त्यसभन्दा अघिल्लो वर्ष महिला केन्द्रित कथाहरूले केही समयका लागि भारतको वैश्विक सिनेमा छविलाई बदलेका थिए... वाहवाही बटुलेका थिए र नयाँ मानिसहरूको ध्यान खिचेका थिए । तर, गत वर्ष बलिउडका हिंसक र पुरुष–प्रधान एक्सन थ्रिलर चलचित्रहरू घरेलु बक्स अफिस र सांस्कृतिक चर्चाहरूमा हाबी भए ।
सन् २०२५ का अन्तिम हप्ताहरूमा भारतीय सामाजिक सञ्जालमा एउटै चलचित्रको चर्चा थियो, ‘धुरन्धर’ । यो भारत–पाकिस्तान तनावको पृष्ठभूमिमा बनेको एउटा जासुसी थ्रिलर चलचित्र हो । हिंसालाई खुल्ला रूपमा देखाउने र अपराधको दुनियाँको राजनीतिले भरिएको यो चलचित्र वर्षकै सबैभन्दा ठूलो ‘हिट’ बन्यो । यससँगै यो चलचित्र अत्यन्त लोकप्रिय रहेका आक्रामक र अति–पुरुषवादी चलचित्रहरूको शृंखलामा सामेल भयो ।
यो लहर सन् २०२४ भन्दा पूर्ण रूपमा फरक थियो । २०२४ मा महिलाहरूले बनाएका धेरै चलचित्रहरू, जस्तै पायल कपाडियाको ‘अल वी इमेजिन एज लाइट’, शुचि तलाठीको ‘गर्ल्स विल बी गर्ल्स’ र किरण रावको ‘लापता लेडिज’ले विश्वको ध्यान खिचेका थिए र प्रशंसा पाएका थिए ।
चलचित्र समीक्षक मयंक शेखर भन्छन्, ‘२०२४ ले भारतीय महिला चलचित्रकर्मीहरू किनाराका पात्र मात्र होइनन्, बरु विश्वलाई नेतृत्व गर्ने आवाज हुन् भन्ने प्रमाणित गरेको थियो ।’ उनी यसलाई अस्थायी ट्रेन्ड मात्र नभई एउटा ‘निर्णायक क्षण’ मान्छन्।
महिलाका कथाहरूमा आधारित र गहिरा एवं पत्रैपत्र भएका चलचित्रहरूको संख्या र लोकप्रियता दुवै बढ्ने अपेक्षा गरिएको थियो । तर, २०२५ मा शीर्ष १० बक्स अफिस हिट्समा असाधारण र अति– पुरुषवादी नायकहरू नै छाइरहे ।
हुन त तीमध्ये पाँचवटा चलचित्र बलिउडका थिए, जुन महामारीपछि संघर्ष गरिरहेको हिन्दी चलचित्र उद्योगका लागि केही राहतको विषय थियो । यसमा ‘छावा’ जस्तो ऐतिहासिक र ‘वार २’ जस्तो एक्सन चलचित्रहरू समावेश थिए । यो सूचीमा महिला–प्रधान एउटा मात्र चलचित्र थियो— मलायालम भाषाको सुपरहिरो चलचित्र ‘लोकाह’ ।
पुरुषत्वको भाव हाबी
एक्सन थ्रिलर मात्र होइन, रोमान्टिक ब्लकबस्टर ‘सैयारा’ पनि एउटा समस्याग्रस्त पुरुष रकस्टारको कथा थियो, जसले अन्त्यमा अल्जाइमरसँग जुधिरहेकी आफ्नी पार्टनरलाई ‘सम्हाल्छ’ ।
यहाँसम्म कि ‘कान्ताराः च्याप्टर १’ (कन्नड) र ‘महावतार नरसिंह’ (धेरै भाषामा डब) जस्ता पौराणिक चलचित्रहरूले पनि परम्परागत पुरुष वीरतालाई नै अझ मजबुत बनाएको देखियो ।
वर्षका सबैभन्दा चर्चित चलचित्रहरूमा पुरुषको पीडा, शक्ति र बदलाको भाव नै पूर्ण रूपमा हाबी रहे ।
शीर्ष १० चलचित्रहरूमा सबैभन्दा बढी बहस भएको चलचित्र ‘तेरे इश्क मे’ थियो । यसमा रिसाहा र अस्थिर पुरुष पात्र छ, र एक महŒवाकांक्षी महिला, जसको आकांक्षालाई पुरुषको सनकी प्रेमले ग्रहण लगाइदिन्छ । दमनकारी पुरुषवादी सोचलाई रोमान्टिक बनाएर प्रस्तुत गरिएको आरोपका बाबजुद यो चलचित्र अभिनेता धनुषको सबैभन्दा ठूलो हिन्दी हिट सावित भयो । यसले विश्वभर १५५ करोड रुपैयाँभन्दा बढी कमायो ।
अर्को अचम्मको हिट ‘एक दिवाने की दिवानियत’ रह्यो । यो सानो बजेटको रोमान्टिक ड्रामा थियो । एउटा समीक्षाका अनुसार यसको नायक ‘एक सनकी प्रेमी हो, जो ‘नाइँ’ सुन्नै तयार छैन ।’
किंग्स कलेज लन्डनमा ‘परफर्मिङ आट्र्स’की सिनियर लेक्चरर प्रियंका बसु भन्छिन्, ‘२०२४ ले ‘सम्भावनाको एउटा झलक’ देखाएको थियो । हिन्दी सिनेमाले ऐतिहासिक रूपमै नायिकाहरूलाई किनारामा राखेको छ । पुरुष–प्रधान उद्योगमा लामो समयदेखि कास्टिङ, पारिश्रमिक र अवसरहरूमा गहिरो असमानता रहँदै आएको छ ।’
उनी भन्छिन्, ‘मात्र एक वर्षमा यो सबै परिवर्तन हुनु सम्भव छैन । हामीलाई त्यस्ता अरु धेरै वर्षहरू चाहिन्छ, त्यस्ता थप कथाहरू चाहिन्छ जहाँ महिला केन्द्रमा हुन् ।’
भारतीय सिनेमा, विशेषगरी बलिउडको मर्दाना हिरोप्रतिको आशक्ति सन् १९७० को दशकमा अमिताभ बच्चनको ‘एंग्री यङ म्यान’को छविबाट सुरु भएको थियो । शाहरूख खानको रोमान्टिक युग पनि एक छोटो परिवर्तन मात्र थियो, जसलाई छोडेर उनले पछि ‘पठान’ र ‘जवान’जस्ता एक्सन–प्रधान ब्लकबस्टर चलचित्रहरूमा काम गर्न रुचाए ।

ओटीटीमा घटे महिला–प्रधान कथा
कुनै समय अनलाइन स्ट्रिमिङ प्लेटफर्महरूमा महिलाका कथाहरू चल्न सक्छन् भन्ने विश्वास गरिन्थ्यो, तर यो ट्रेन्ड अहिले त्यहाँ पनि पुगेको छ ।
मिडिया रिसर्च कम्पनी ‘ओरम्याक्स’को एक ताजा रिपोर्टमा ३३८ हिन्दी शोजहरूको विश्लेषण गरिएको थियो । विश्लेषणमा के पाइयो भने अहिले एक्सन र क्राइम थ्रिलर (धेरैजसो पुरुष–प्रधान) को हिस्सा ४३% पुगेको छ । महिला–प्रधान कथाहरू जुन २०२२ मा ३१% थिए, २०२५ मा घटेर मात्र १२% मा सीमित भए ।
विश्लेषक तथा पत्रकार मयंक शेखर भन्छन्, ‘ओटीटी प्लेटफर्महरूले बक्स अफिसको बाटो पछ्याउन थाले । अहिले स्ट्रिमिङ प्लेटफर्महरूले सिनेमामा चलिरहेका ट्रेन्डहरूलाई चुनौती दिनुको सट्टा तिनकै नक्कल गरिरहेका छन् ।’
तर, केही विज्ञहरूका अनुसार यो परिवर्तन उद्योगको रचनात्मक गिरावट नभई दर्शकको मागको उपज हो ।
ट्रेड एनालिस्ट तरण आदर्श भन्छन्, ‘भारतीय चलचित्रहरू परम्परागत रूपमा पुरुष–प्रधान रहेका छन्, तर हामीसँग ‘मदर इन्डिया’ र ‘पाकिजा’जस्ता महिला केन्द्रित क्लासिक्सहरू पनि छन् ।’
उनका अनुसार दमनकारी पुरुषवादी सोचको आरोप केही ‘गिनेचुने आलोचक’हरूले मात्र लगाउँछन् र यसले चलचित्रको भाग्य तय गर्दैन । उनी थप्छन्, ‘अन्त्यमा जे कुराले साँच्चै असर पार्छ, त्यो दर्शकको फैसला मात्र हो ।’
तर अनु सिंह चौधरी सबै कुरा दर्शकको रोजाइमा मात्र थोपर्नु निकै सतही कुरा भएको मान्छिन् । अनु नेटफ्लिक्स थ्रिलर ‘दिल्ली क्राइम ३’ की सह–लेखिका हुन् । यस शृंखलामा महिला तस्करीको मुद्दालाई नारीवादी दृष्टिकोणबाट देखाइएको छ ।
उनी भन्छिन्, ‘मर्दाना कथा भएका ब्लकबस्टरहरू लामो समयदेखि अस्तित्वमा छन् किनभने तिनले यस्तो समाजलाई देखाउँछन् जुन सधैं पितृसत्तात्मक र पुरुष– प्रधान रहँदै आएको छ । के यो रातारात बदलिन्छ त ? पक्कै बदलिँदैन । तर, जसरी विश्वको संरचना बदलिँदै जान्छ, हाम्रा चलचित्रहरू पनि बदलिनेछन् ।’
यससँगै आर्थिक यथार्थ पनि जोडिएको छ । निर्माता, वितरक र प्रदर्शकहरूले तय गर्छन् कि कुन चलचित्रले कति स्क्रिन पाउनेछ, कति प्रचार हुनेछ र दर्शकहरूसम्म त्यसको पहुँच कस्तो हुनेछ । र, यो अक्सर पुरुष स्टार बक्स अफिसमा कति भरोसायोग्य वा कति कमाइ गराउन सक्ने मानिन्छन्, त्यसमा भर पर्छ । स्वतन्त्र र महिला–प्रधान चलचित्रहरूका लागि यो लडाइँ निकै कठिन हुन्छ, विशेषगरी ठूला स्टारहरू नभएको अवस्थामा ।
क्षेत्रीय चलचित्र उद्योगबाट आशा
‘छपाक’ र ‘मार्गरिटा विथ ए स्ट्र’ जस्ता महिला–प्रधान चलचित्रकी स्क्रिनराइटर अतीका चौहान भन्छिन्, ‘अचेलका चलचित्रहरू ‘देखावटी र अतिरञ्जित स्त्री– द्वेषको चरण’बाट गुज्रिरहेका छन् । यसको केही कारण सन् २०१७–१९ को ‘मी टू’ आन्दोलनका क्रममा महिलाहरूले मागेको जवाफदेहिताको प्रतिक्रिया हो ।
‘मी टू’ आन्दोलनले चलचित्र उद्योगमा व्याप्त व्यापक शोषणलाई उजागर गरेको थियो, तर त्यसको असर सामान्य रह्यो । आरोप लागेका कतिपयलाई अस्थायी धक्का लाग्यो तर धेरैजसो पुनः काममा फर्किए र सत्ताको संरचना उस्तै रहिरह्यो । अतीका चौहान भन्छिन्, ‘जबसम्म यी अति–पुरुषत्व भएका चलचित्रहरूले पैसा कमाइरहन्छन्, केही पनि बदलिनेवाला छैन ।’
तर, सधैंझैं आशाका केही किरणहरू पनि छन्, जुन प्रायः साना र क्षेत्रीय चलचित्र उद्योग तथा स्वतन्त्र चलचित्रकर्मीहरूबाट आइरहेका छन् । अनु सिंह चौधरीका अनुसार, भारतमा नयाँ पुस्ताका स्वतन्त्र चलचित्रकर्मीहरू ‘चाखलाग्दा र व्यवहारिक सिनेमा’ मात्र नबनाई जनतालाई लोभ्याउने मनोरञ्जन पनि गराइरहेका छन् ।’
‘सबर बोन्डा’ र ‘संग्स अफ फरगटन ट्रीज’ जस्ता भारतीय चलचित्रहरू पनि छन् जसले सामाजिक र राजनीतिक पत्रहरूमा गहिराइपूर्वक ओर्लिएर सम्बन्धका संवेदनशील कथाहरू सुनाउँछन् । तेलुगु चलचित्र ‘द गर्लफ्रेन्ड’ एक महिलाको कथा थियो, जसले विषाक्त सम्बन्धबाट आफूलाई मुक्त गर्न सिक्छे । त्यस्तै, तमिल चलचित्र ‘ब्याड गर्ल’लाई महिला दृष्टिकोणबाट देखाइएको सफल ड्रामाका रूपमा प्रशंसा गरियो ।
मलयालम चलचित्र ‘फेमिनिची फातिमा’ (जसमा ‘फेमिनिची’ सामाजिक सञ्जालमा फेमिनिस्टको बिग्रेको रूप हो) ले ठट्टाका माध्यमबाट एक मुस्लिम गृहिणीको पितृसत्ता विरुद्धको शान्त विद्रोहलाई देखाएको छ । स्ट्रिमिङ प्लेटफर्ममा ‘द ग्रेट शम्सुद्दीन फ्यामिली’लाई आधुनिक मुस्लिम महिलाहरूको दैनिक संघर्ष र जटिलताहरूलाई सूक्ष्म रूपमा समातेकोमा प्रशंसा गरिएको छ ।
चौधरी भन्छिन्, ‘यो शान्त रूपमा चलिरहेको एउटा आन्दोलन हो, जसले किनाराबाट काम गरिरहेको छ र यो हराएर जानेवाला पनि छैन ।’