नेभिगेशन
अर्थतन्त्र

मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा

काठमाडौं । नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोषचन्द्र कुँवरले जर्मनीसँगको सहकार्यमा नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा लगिएको जानकारी दिएका छन् । मंगलबार संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नेपालमै मल कारखाना आवश्यक रहेकोले यस्तो प्रस्ताव गरिएको बताएका हुन ।

‘नेपाललाई न्यूनतम सात लाख मेट्रिक टन युरिया मल आवश्यक छ, तर हाल तीन लाख मेट्रिक टन पनि आयात गर्न सकेका छैनौँ,’ उनले भने । जर्मनीको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पेस भइसकेको जानकारी दिँदै उनले यसलाई सबै सरोकारवालाले मिलेर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपाली उत्पादनहरूले गुणस्तरका आधारमा विश्वास जित्दै आएको दाबी गरेका छन् । साधारणसभालाई सम्बोधन गर्दै मन्त्री सिन्हाले नेपाल र जर्मनीबीचको दीर्घकालीन व्यवसायिक साझेदारीलाई थप सुदृढ बनाउँदै ‘पिपुल टु पिपुल कनेक्सन’ लाई अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।

मन्त्री सिन्हाले स्वदेश तथा युरोपेली मुलुकहरूमा व्यापार, लगानी, आर्थिक सम्बन्ध प्रवर्द्धन, व्यापार मेला आयोजना तथा नेपाली उद्यमीहरूलाई नवीन सोचसहित अन्तर्राष्ट्रिय बजारमा जोड्ने कार्यमा संघले खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यापारिक सहकार्यलाई अझ विस्तार गर्न आफू उत्साहित रहेको बताए । उनले दुई देशबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई आर्थिक साझेदारीमार्फत थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले स्वतन्त्र, पारदर्शी तथा स्वस्थ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले निजी क्षेत्रको सक्रिय सहभागिताबिना दिगो आर्थिक विकास सम्भव नहुने उल्लेख गरे ।

साधारणसभाको पूर्वसन्ध्यामा मंगलबार नै काठमाडौंस्थित र्‍याडिसन होटलमा प्रत्यक्ष कला तथा चित्रकला सत्रहरू आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरले नेपाल तथा विदेशबाट सहभागी युवा तथा वरिष्ठ कलाकारहरूले सिर्जना गरेका उत्कृष्ट कलाकृतिहरूको प्रशंसा गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्