नेभिगेशन
अर्थतन्त्र

नेप्सैसँगै बढ्यो कारोबार

काठमाडाैं । शेयरबजारमा मंगलबार सामान्य अंकको वृद्धि भएको छ । कारोबार मापक नेप्से परिसूचक ४.९० अंकले बढेर २,६३९.९१ विन्दुमा कायम भएको छ । कारोबार भएका २६० कम्पनीमध्ये ११८ वटाको शेयरमूल्य बढेको छ भने १३४ वटाको घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेसँगै यसदिन कारोबार रकम पनि बढेको छ । कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ०.१२ प्रतिशत बढेर ४५४.८६ विन्दुमा पुगेको छ । यस्तै, साधारण शेयर तर्फको कारोबार मापन गर्ने फ्लोट सूचक ०.० ९ प्रतिशत बढेर १८१.२४ विन्दु र सेन्सिटिभ फ्लोट ०.१८ प्रतिशत बढेर १५५.०३ विन्दुमा कायम भएको छ ।

सूचीकृत १३ समूहमध्ये ७ वटा बढेका छन भने ६ वटा घटेका छन् । जलविद्युत समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ । त्यसपछि व्यापार समूह ०.९८, अन्य ०.७८ र म्युचुअल फण्ड ०.४२, निर्जीवन बीमा ०.०७, लगानी ०.०४ प्रतिशत र विकास बैंक ०.४१ अंकले बढेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूह ०.४८ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स समूह ०.२९, उत्पादन तथा प्रशोधन ०.२३, लघुवित्त ०.२०, जीवन बीमा ०.१७ र बैंकिङ ०.१४ प्रतिशत घटेका छन् ।

थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यसपछि दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.३८ प्रतिशतले बढेको छ । रसुवागढी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५४ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एसवाई प्यानल नेपालको करिब ३५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ ।

लगानीकर्ताको सम्पत्ति एक दिनमा आठ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि दुई अर्ब रुपैयाँ बढेर १५ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्