काठमाडौं । टोखाबाट यसवर्ष पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ । टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन् । १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन् ।
टोखा नगरपालिका वडा नम्बर २ र ३ मा चाकु उत्पादन हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पुर्याउने गरिन्छ । टोखामा उत्पादन हुने चाकुले नेपालको करिब ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ ।
टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए । टोखामा बर्सेनि पाँच लाख किलो चाकु र लड्डु उत्पादन हुँदै आएको छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती हुने ठाउँका रुपमा चिनिन्छ ।
टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकु उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोडौँ रुपैँया आम्दानी गर्दै आएको बताए । टोखामा कृष्ण चाकु उद्योग, काशीलाल चाकु उद्योग र न्हुछे चाकु एण्ड तिरौला उद्योग ठूला उद्योग हुन् ।
कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकु बनाईँदै आएको छ । धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखुखेती भने मासिएको छ ।
सादा चाकुको मूल्य प्रतिकिलो १४० रुपैयाँ, मसला चाकुको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए । ‘टोखा नगरपालिका वडा नम्बर २ गलेमा चाकु स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ, छिट्टै चाकु स्तम्भ निर्माण गछौँ,’ उनले भने । टोखाले चाकुलाई अन्तरराष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने बताएको छ ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकुबाहेक सख्खर, तरुललगायतका खानेकुरासमेत खाने प्रचलन छ ।