नेभिगेशन
अर्थतन्त्र

उद्योग संगठन मोरङको ‘कोशी कनेक्ट व्यावसायिक मिसन’

विराटनगर । उद्योग संगठन मोरङले माघ २ देखि ४ गतेसम्म तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन प्रारम्भ गर्ने भएको छ । कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ कोशी कनेक्ट आयोजना गरिएको उद्योग संगठनले जनाएको छ ।

मिसनअन्तर्गत संगठनको प्रतिनिधि मण्डलले उदयपुर, खोटाङ र भोजपुर भ्रमण गरी स्थानीय उद्यो ग व्यवसाय, लगानीका अवसर र आपसी सहकार्यका विषयमा अन्तक्र्रिया गर्ने जनाइएको छ । कार्यक्रमअन्तर्गत माघ २ गते त्रियुगा उद्योग वाणिज्य संघ, ३ गते खोटाङ उद्योग वाणिज्य संघ र ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्यवसायीका साथ बिटुबी र सहकार्यका विविध आयामका बारेमा अन्तरक्रिया हुनेछ ।

प्रतिनिधि मण्डलमा अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनियालगायत छन् ।

व्यावसायिक मिसनले क्षेत्रीय व्यापारलाई सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवर्धन गर्ने र साझा समृद्धिको मार्ग निर्माण गर्ने लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने विश्वास लिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए । ‘निजी क्षेत्रको अग्रणी संस्था उद्योग संगठन मोरङले यस अभियानमार्फत पहाड र तराईलाई साझा विकासको यात्रामा अघि बढाई व्यवसाय–व्यवसायबीच सम्बन्ध विस्तार, ज्ञान र विचार आदान–प्रदान तथा आर्थिक एजेण्डामा साझा आवाज स्थापना गर्नेछ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्