नेभिगेशन
अर्थतन्त्र

साना उद्यमीलाई प्रोत्साहन गर्दै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पूुरा गरेको छ । बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट सञ्चालनमा ल्याएको ग्लोबल हाटबजारले ५० औं हप्ता पूरा गरेको हो ।

बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसात् गर्दै बैंकले लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले काठमाडौंको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमले भोग्ने गरेको बजारीकरणको समस्याबाट राहत दिने प्रयास स्वरुप बैंकले हाटबजार सञ्चालन गरेको बताए । हाट बजारमा खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक, दिगो साना र मझौला उद्यमले उत्पादन प्रदर्शनी तथा बिक्री गर्न सहज भइरहेको उनले जानकारी दिए ।

‘हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको छ,’ उनले भने, ‘अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरणमा सहजीकरण गर्ने हाम्रो प्रयासले नेपाली उत्पादकलाई हौसला प्रदान गरेको छ ।’

हाटबजारलाई भविष्यमा अझ विस्तारित र व्यापक बनाउँदै हजारौं हाटबजारको उत्सव मनाउन पाउने विश्वास उनले व्यक्त गरे । बैंकले सामाजिक उत्तरदायित्वको मर्मलाई आत्मसात् गर्दै कर्जा प्रवाहका अलावा उद्यमीहरूको चौतर्फी विकास र व्यावसायिक सीप विकासमा पनि विभिन्न कार्यहरू गर्दै आएको जानकारी प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्