नेभिगेशन
अर्थतन्त्र

मेटलाइफको तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा

काठमाडौं । अमेरिकन जीवन बीमा कम्पनी मेटलाइफ नेपालले तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ । मेटलाइफले वित्तीय सुरक्षाको पहुँच सुदृढ बनाउने उद्देश्यले महोत्तरीको बर्दिबास, मोरङको पथरी र बागलुङमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको हो । यी कार्यालयले स्थानीय समुदायको दैनिक जीवनसँग नजिक रहेर भरपर्दाे बीमा मार्गदर्शन र सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

नयाँ शाखाबाट दीर्घकालीन जीवन लक्ष्यहरू, शिक्षा, सेवानिवृत्ति योजना र आम्दानी सुरक्षा सुनिश्चित गर्न परिवारलाई सक्षम बनाउने विश्वास लिइएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बर्दिबास, पथरी र बागलुङमा एजेन्सी कार्यालय खुल्दा समुदायस्तरमै वित्तीय पहुँच सुदृढ हुने बताए ।

‘जब सुरक्षा स्थानीय रूपमा उपलब्ध हुन्छ, तब परिवारहरू सचेत निर्णय लिन, जोखिम व्यवस्थापन गर्न र आत्मविश्वासका साथ भविष्यको योजना बनाउन सक्षम हुन्छन्,’ उनले भने । नेपालको अर्थतन्त्र विस्तार र विविधीकरण हुँदै गइरहेको अवस्थामा सहज र भरपर्दो वित्तीय सुरक्षा आवश्यक रहेको र मेटलाइफको रणनीतिक सञ्जाल विस्तारले सबै समुदायलाई दीर्घकालीन वित्तीय सुरक्षामा पहुँच सुनिश्चित गर्ने उनको विश्वास छ ।

पहिले यी क्षेत्रका धेरै परिवार र साना व्यवसायीले जीवन बीमा सेवा पाउन टाढा सहरसम्म यात्रा गर्नुपर्ने वा सीमित जानकारीमा निर्भर रहनुपर्ने अवस्था थियो । स्थानीय स्तरमा कार्यालयहरू खुल्दा ग्राहकले आफ्नै समुदायमा व्यक्तिगत सल्लाह, समयमै सेवा र निरन्तर सहयोग पाउन सक्ने भएका छन् ।

एजेन्सी कार्यालयहरूले स्थानीय रोजगारीका अवसर सिर्जना गर्ने र बीमा व्यवसायीका रूपमा करियर निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । मेटलाइफ नेपाल सन् २००१ देखि सञ्चालनमा छ । कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्