सिन्धुली । सिन्धुलीमा रहेको एसबीआई बैंकको शाखा लुटपाटको योजना करिब तीन महिना अघिदेखि बनेको पाइएको छ । घ्याङलेख गाउँपालिका–२ मा रहेको बैंकको शाखा लुट्न घरधनी छविलाल स्याङ् तानकै संलग्नतामा तीन महिनादेखि योजना बनेको र पटक–पटक लुटपाटको प्रयास भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
तीन महिनादेखिको पटक–पटकको बैंक लुट्ने प्रयास पुस २९ गते साँझ साढे ७ बजे सफल भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले बताए । उनका अनुसार बैंक लुट्न नक्कली प्लास्टिकको पेस्तोलको प्रयोग भएको थियो । प्रहरीले नक्कली पेस्तोल पनि बरामद गरेको छ ।
बैंकबाट ३ करोड ७ लाख लुटिएको छ । लुटपाट भएको पैसा राति जंगलमा फरक–फरक स्थानमा बोरामा लुकाएर राखिएको थियो । प्रहरीले छरपस्ट अवस्थामा रहेको १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ लुटपाट भएको राति नै फेला पारेको थियो ।
प्रहरीले पुस ३० गते घ्याङ्लेख गाउँपालिका–१ सुकाचुरीबाट चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी खानतलासी गर्दा उनीहरूको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला पारेको थियो । उनीहरूको बयानको आधारमा थप ८३ लाख ३५ हजार बरामद गरेको थियो । प्रहरीले अहिलेसम्म २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ फेला परेको जनाएको छ ।
तीन महिनादेखिको योजना
प्रहरीका अनुसार पक्राउ परेका घरधनी स्याङ्तान र घ्याङलेखका चतुरमान बज्यूले २०८२ असोजबाटै बैंक लुट्ने योजना बनाएको र पटक–पटक तयारी तथा सूचना संकलन गरेका थिए । पुस २३ गते बैंक लुट्ने तयारीका साथ उनीहरूले काठमाडौंबाट दुईवटा मोटरसाइकल भाडामा लिएर लगेका थिए ।
हाल पक्राउ परेकामध्ये चार जना सोही मोटरसाइकलमा आएको प्रहरीले जनाएको छ । तर, परिस्थिति अनुकूल नभएकाले पुस २३ मा बैंक लुट्ने उनीहरूको योजना विफल भएको पाइएको डीएसपी सुवेदीले बताए ।
पुस २८ गते पनि बैंक लुट्ने योजनासहित उनीहरू काठमाडौंको कोटेश्वरमा भेला भएका थिए । त्यस दिन ढिला भएकाले पुनः २९ गते कोटेश्वरमा जम्मा भई पब्लिक सवारी साधनमा बनेपासम्म गएका थिए । बनेपाबाट टाटा सुमो भाडामा लिएर उनीहरू घ्याङलेख गएको प्रहरीले जनाएको छ ।
बैंक लुटपाट गर्न घरधनी स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्थापन तथा सूचना प्रदान र निर्देशन दिएको डीएसपी सुवेदीले बताए । पुस २९ गते राति पक्राउ परेकाहरूले बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएको बयान दिएका छन् ।
उनीहरूले बैंक शाखा प्रमुखलाई प्लास्टिकको पेस्तोल देखाएर पैसा भएको भल्टको ताल्चा खोल्न लगाएका थिए । त्यसपछि पैसा बोरा र झोला हालेर भागेको प्रहरीले जनाएको छ । भाग्ने क्रममा उनीहरूले जंगलका विभिन्न स्थानमा पैसा लुकाएको प्रहरीले जनाएको छ । स्थानीयको सक्रिय सहयोगमा प्रहरी केही पैसा बरामद गर्न सफल भएको हो ।
सात पक्राउ, एक फरार
प्रहरीले शुक्रबार बैंक लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार बैंक लुटपाटमा संलग्न सात जना पक्राउ परेका छन् भने एक जना फरार छन् ।
काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय सुमो चालक भागवतसिंह थापा, घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यू, चितवनको भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठेगाना भएका १९ वर्षीय विवेक मगर, घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक पक्राउ परेका छन् ।
पुस २९ गते सँझ उनीहरूले बैंकको गार्ड रुद्रबहादुर कार्की र उक्त बैंकमा रहेका कर्मचारी समेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । उनीहरूले बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरी सामान्य घाइते बनाएका थिए । त्यसपछि बैंकभित्र छिरेर नगद लुटपाट गरी उनीहरू फरार भएको सिन्धुली प्रहरीले जनाएको छ ।
घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा बिएडी ०३९८ टाटा सुमो र चालक भागवतसिंहलाई फेला पारी प्रारम्भिक रुपमा सोधपुछ गर्दा अपरिचित ६ जनाले विवाहका लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको हुलियाको आधारमा बैंक लुटपाटमा संलग्नको खोजीलाई प्रहरीले तीव्र पारेको थियो ।