नेभिगेशन
अर्थतन्त्र

बीवाईडी ब्रान्डका नक्कली पेज र वेबसाइटबाट जोगिन साइमेक्स इंकको आग्रह

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरूविरुद्ध सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

कम्पनीका अनुसार यस्ता नक्कली प्लेटफर्महरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक माध्यम भन्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन् ।

साइमेक्स इंकले अनधिकृत वेबसाइट, फेसबुक पेज र टेलिग्राम समूहहरू सिर्जना गरिएको कन्टेन्टमा विश्वास नगर्न र बीवाईडी नेपालका आधिकारिक सञ्चारमाध्यमबाट मात्र सूचना लिन पनि सबैमा अनुरोध गरेको छ । त्यस्ता प्लेटफर्महरूसँग साइमेक्स इंकको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अनधिकृत डिजिटल प्लेटफर्महरूले गलत सूचना प्रवाह गर्दै विभिन्न अफर, योजना तथा प्रचारमार्फत ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको छ । यसले ग्राहकको विश्वास, ब्रान्डको विश्वसनीयता तथा उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै साइमेक्स इंकले चिन्ता व्यक्त गरेको छ । सर्वसाधारण, ग्राहक तथा सरोकारवालालाई नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार– प्रसार वा आर्थिक कारोबार नगर्न कम्पनीले आग्रह गरेको छ । नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी आधिकारिक जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ ।

बीवाईडी ब्रान्ड नामको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरूविरुद्ध आवश्यक कानुनी तथा नियामक प्रक्रिया अघि बढाइएको पनि कम्पनीले जानकारी दिएको छ । आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गर्दै थप कदम चालिने साइमेक्स इंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्