नेभिगेशन
अर्थतन्त्र

नेप्सेमा ३१ अंकको वृद्धि, वित्त समूहमा उछाल

काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार ३१ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ अंकमा उक्लिएको छ ।

साताको पहिलोको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको उपसूचक ५.७३ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ३.०३, होटल तथा पर्यटन २.०२, उत्पादनमूलक २.४२, लघुवित्त १.३१ र जीवन बिमा १.२५ प्रतिशतले बढेका छन् । बाँकी समूहको वृद्धि १ प्रतिशतभन्दा कम छ ।

आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ९५ हजार ४४५ पटक खरिद–बिक्री हुँदा आठ अर्ब ४० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकम अघिल्ला दिनको तुलनामा बढेको छ । गत साता अन्तिम कारोबार भएको दिन बुधबार ६ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

आइतबार २२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३१ वटाको घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गोर्खाज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ८.७८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्