नेभिगेशन
अर्थतन्त्र

देश विकासका लागि आर्थिक एजेन्डा प्राथमिकतामा

घोषणापत्र निर्माणमा दलहरूलाई सिएनआईको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले आर्थिक एजेन्डालाई पहिलो प्राथमिकता दिएर घोषणापत्र बनाउन दलहरूलाई आग्रह गरेको छ । दलहरूले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषयबारे परिसंघको तर्फबाट सुझाव दिन आइतबार पत्रकार सम्मेलन गरी सुझावहरू सार्वजनिक गर्दै यस्तो आग्रह गरिएको हो ।

सिएनआईले सार्वजनिक गरेका सुझावहरूबारे राष्ट्रियस्तरका दलहरूसँग छलफल गर्ने भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले २००७ सालदेखि २०८२ को जेनजी आन्दोलनसम्म आइपुग्दा धेरै पटक राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तनले तीव्रता पाउन नसकेको बताए । ‘दलहरूले घोषणापत्रमा आर्थिक एजेन्डाहरू ल्याए पनि सरकारमा हुँदा कार्यान्वयनले प्राथमिकता पाइरहेको छैन,’ उनले भने ।

मुलुकको विकासका लागि राजनीतिक स्थिरतासँगै पहिलो आवश्यकता दरिलो अर्थ व्यवस्थालाई दिनुपर्नेमा परिसंघले जोड दिएको छ । आम सर्वसाधारणले खोजेको सुशासन, आर्थिक विकास, रोजगारीसहित समग्र राष्ट्रको समृद्धिका लागि आर्थिक विकासका मुद्दा तथा एजेन्डाहरूमा राष्ट्रिय सहमतिसहित दलहरू अगाडि बढ्नुपर्ने अध्यक्ष पाण्डेले बताए । राष्ट्रिय सहमतिमा मुलुकको विकासका लागि दीर्घकालीन दृष्टिकोण, प्राथमिकताका क्षेत्र तथा आयोजना र कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना स्पष्ट उल्लेख गरिनुपर्ने सुझाव परिसंघको छ ।

परिसंघले सुशासनका लागि ‘फेसलेस, कन्ट्याक्टलेस, पेपरलेस’ प्रणाली प्रभावकारी रूपमा लागू गर्ने विषय, उद्योग, उत्पादन र उद्यमशीलता बढाउने विषयलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ । त्यस्तै एकीकृत औद्योगिक विकास रणनीति, नयाँ कानुन निर्माण तथा सुधार, सूचना प्रविधिको प्रयोगमा केन्द्रित रहेर सुशासनमा सुधार, लगानी अभिबृद्धि गर्न कर प्रणालीमा सुधारका विषयलाई प्राथमिकतामा राख्न सुझाएको छ ।

दलहरूका घोषणापत्रमा गरिएका प्रतिबद्धता र ती दलहरू सरकारमा हुँदा गर्ने कार्यमा तालमेल नभएको, आर्थिक एजेन्डाभन्दा राजनीतिक एजेन्डाले नै प्राथिमकता पाइरहेको विगतका अनुभवहरू आगामी दिनमा व्यापक सुधार अपरिहार्य भएको परिसंघले जनाएको छ ।

सरकारले निर्माण गर्ने नीति तथा कार्यक्रम, बजेट तथा सोको कार्यान्वयनमा देखिने गरेको ठूलो खाडल पुर्न आवश्यक रहेको, मुलुकको आर्थिक विकासका लागि आर्थिक नीति तथा योजनाहरूले निरन्तरता पाउनुपर्नेमा प्राथमिकताहरू परिवर्तन हुँदै गएको, नीति तथा कार्यक्रमहरूको अपनत्व लिन नखोजिदा आर्थिक रुपमा मुलुक पछाडि परेको पाण्डेले बताए । ‘सुशासनका विषय बोलीमा भए पनि व्यवहारमा नहुँदा आम मानिस चिन्तित छन्,’ उनले भने, ‘घोषित आर्थिक नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने निकाय तथा व्यक्तिलाई थप जिम्मेवार बनाउनुपर्छ ।’

परिसंघले आर्थिक विकास सम्बन्धमा राष्ट्रिय सहमति तथा ‘सोचपत्र’ आवश्यक रहेको जनाएको छ । छिमेकी मुलुकहरूको अनुभव तथा अभ्यासलाई हेरेर आर्थिक विकासका सम्बन्धमा राजनीतिक सहमतीमा साझा सोचपत्र तयार गरिनुपर्ने परिसंघको सुझाव छ ।

परिसंघले आगामी १० वर्षभित्र करिब ४४ अर्ब डलर बराबरको अर्थतन्त्रलाई १०० अर्ब डलरको बनाउनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएको छ । परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले सबै राजनीतिक दलले अर्थतन्त्रलाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्नुपर्ने र त्यसले आगामी दिनमा विकासको दृष्टिले कसरी अगाडि बढ्ने भन्नेमा प्रस्ट पार्नुपर्ने बताए । निजी क्षेत्रको आत्मविश्वास घटिरहेको अवस्थालाई समेत मध्यनजर गर्दै समग्र आर्थिक विकासका कसरी अगाडि बढ्छ भन्नेमा आश्वस्त पारिनुपर्ने धारणा उनले राखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्