नेभिगेशन
अर्थतन्त्र

मेची भन्सार नाकाबाट अलैंची निर्यातमा ५८ प्रतिशत वृद्धि

६ महिनामै सात अर्ब १९ करोड ९५ लाख चार हजारको अलैंची निर्यात, छुर्पी निर्यातमा ६६ प्रतिशत वृद्धि

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुससम्मको ६ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्यको ३४ लाख ६१ हजार ३५० किलो अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको साउनदेखि पुससम्ममा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्यबराबरको अलैंची पूर्वीनाकाबाट निर्यात भएको थियो ।

त्यस्तै कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६.२ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा ७६ करोड पाँच लाख तीन हजार रुपैयाँ बराबरको चार लाख ३२ हजार ४०५ किलो छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजार मूल्यको दुई लाख ६६ हजार २४३ किलो छुर्पी निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

मेचीबाट भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक छ । चालु आवको पहिलो ६ महिनामा ५३ करोड चार लाख ९६ हजारको भेनियर सिट र नौ करोड १२ लाख ८७ हजारको मुसुरो दाल निर्यात भएको छ ।

गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६.४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४.५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ ।

चालु आवको ६ महिनामा दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार मूल्यको चिया र एक अर्ब नौ करोड ७४ लाख तीन हजारको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजारको चिया र एक अर्ब ९७ करोड ७६ लाख ४६ हजारको प्लाइउड निर्यात भएको थियो ।

यसैगरी, चालु आवको पुससम्मको अर्धवार्षिक अवधिमा ३३ करोड ८९ लाख तीन हजारको अम्रिसो, ५० करोड १७ लाखको अदुवा र सुठो, ११ करोड ३१ लाखको काउली, बन्दाकोभी र ब्रोकाउली तथा पाँच करोड ७४ लाख २७ हजारको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्