नेभिगेशन
अर्थतन्त्र

मधेसको खडेरीले घट्यो धान उत्पादन

काठमाडौं । नेपालमा यो वर्ष धान उत्पादन घट्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटन कमी हुने अनुमान गरेको हो ।

देशभर धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी आएका कारण यो वर्ष ५७ लाख पाँच हजार १२६ मेट्रिकटन धान उत्पादन हुने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा धान उत्पादनमा ४.२० प्रतिशतले कमी आएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा धान बाली भित्र्याइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर रहेकोमा चालु आवमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर कायम छ । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार उत्पादकत्व गत आवमा ४.१९ मेट्रिकटन प्रतिहेक्टर थियो ।

युवा पलायन, बसाइँसराइँ, फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि, तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानखेतीको क्षेत्रफलमा कमी आएको छ ।

मधेस प्रदेशमा धान रोप्ने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आउँदा समग्रमा धान उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा उन्नत बीउविजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै प्रतिकूल मौसमका कारण उत्पादकत्वमा कमी आएको सूचना अधिकारी जोशीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्