नेभिगेशन
अर्थतन्त्र

काठमाडौंमा रिजाल ग्रुपको ‘डिलर भेटघाट’ कार्यक्रम

काठमाडौं । रिजालको ग्रुप एन्ड कम्पनीले ३२ वर्षको सफल यात्रालाई स्मरण गर्दै काठमाडौंमा ‘डिलर भेटघाट’ कार्यक्रम आयोजना गरेको छ । सोल्टी होटलमा आइतबार देशभरका डिलर, डिस्ट्रिब्युटर, व्यावसायिक साझेदार र कर्मचारीसहितको सहभागितामा कम्पनीले भेटघाट कार्यक्रम गरेको हो ।

कार्यक्रममा रिजालको ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक नवीन रिजालले पानी ट्यांकी उत्पादनबाट सुरु भएको रिजालको ग्रुपले समयसँगै आफूलाई परिमार्जन गर्दै पिभिसी, सिपिभिसी, एचडिपिई पाइप र फिटिङ, गार्डेन पाइप, बोरिङ पाइपलगायतका उत्पादन गर्दै आएको स्मरण गरे । आगामी दिनमा स्टिल ट्यांकी उत्पादन सुरु गर्ने कम्पनीको तयारी छ ।

‘हाम्रो सफलताको श्रेय सबैसँग जोडिएको छ । तपाईंहरूको मेहनत, विश्वास र सहयोगबिना यो उपलब्धि सम्भव थिएन,’ उनले कर्मचारी, डिस्ट्रिब्युटर, उपभोक्ता र सम्पूर्ण टिमलाई भने, ‘देशको अर्थतन्त्र र व्यावसायिक वातावरण मजबुत बनाउन हामी सबैको साझा प्रयास आवश्यक छ ।’

भविष्यमा कम्पनीलाई अझ व्यवस्थित, दिगो र नवीन प्रविधिमा आधारित बनाउने प्रतिबद्धता उनले जनाए । ‘हामी हाम्रो आगामी पुस्ता र नयाँ उद्यमीहरूलाई प्रेरित गर्न निरन्तर अगाडि बढ्नेछौं,’ रिजालले भने, ‘रिजालको ग्रुपको यो यात्रा केवल व्यावसायिक सफलता मात्र होइन, देशप्रति समर्पण, युवाप्रति प्रेरणा र समाजप्रति योगदानको प्रतीक बनेको छ ।’ कम्पनीको ब्रान्ड एम्बेसडर नायिका स्वस्तिमा खड्का हुन् ।

रिजाल तीन दशकअघि जागिरको खोजीमा काठमाडौं आएका थिए । तर, विभिन्न ठाउँमा जागिर खोज्दा पनि आफ्नो क्षमता, सोच र आत्मसम्मानसँग मेल खाने अवसर नपाएपछि जन्मथलो विराटनगर फर्किएका थिए । विराटनगर फर्किएपछि ‘जागिर खोज्नेमात्र होइन, जागिर दिन सक्ने व्यक्ति बन्नुपर्छ’ भन्ने सोच उनमा जाग्यो । यही सोचको परिणामस्वरुप जन्मिएको कम्पनी आज ‘रिजालको ग्रुप एन्ड कम्पनी’का रुपमा स्थापित बन्न पुगेको छ ।

रिजालको कम्पनी अत्याधुनिक प्रविधिबाट फाइभ लेयर ट्यांकी उत्पादन गर्ने नेपालको पहिलो कम्पनी बन्न पुगेको छ । ‘सुरुवाती दिनमा एक ग्राहकको गुनासो सुन्दै समाधान खोज्ने प्रयासले नै कम्पनीलाई नवप्रवर्तनतर्फ डोर्‍याएको हो,’ उनले भने । कम्पनीमा हाल प्रत्यक्ष–परोक्ष २५ सयले रोजगारी पाएका छन् ।

कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का उत्कृष्ट पाँच डिलरहरू र दुई जना इन्जिनियरलाई सम्मान गरिएको छ । कार्यक्रममा डिलरहरूले रिजालको ग्रुपलाई एउटा कम्पनीमात्र नभएर परिवारकै रूपमा व्याख्या गर्दै आगामी दिनमा सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्