काठमाडौं । नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा करिब १५० वर्षको इतिहास बोकेको एम.भी. दुगड ग्रुपले वातावरण संरक्षणलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउँदै आगामी ५ वर्षभित्र देशभर ५ लाख विरुवा रोप्ने, हुर्काउने र संरक्षण गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म फैलिएको यस ग्रुपले अटोमोबाइल, कृषि, जलविद्युत् र निर्माण व्यवसायसँगै बैंकिङ, बीमा तथा वित्तीय क्षेत्रमा समेत उल्लेखनीय लगानी गर्दै आएको छ । नेपालको पूर्वाधार विकास र आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान दिँदै आएको ग्रुपले हाल सोलुखुम्बु र रामेछाप जिल्लामा निर्माण गरेका जलविद्युत् आयोजनाबाट १६१ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गरिरहेको छ । वर्षायाममा विद्युत् भारत निर्यात हुँदा नेपाल सरकारले विदेशी मुद्रा आर्जनसमेत गरिरहेको छ । यसका साथै दोलखा जिल्लामा करिब २०० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
एम.भी. दुगड ग्रुपका अध्यक्ष श्री मोतीलाल दुगडको वातावरणप्रेमी सोच र सुझावअनुसार विगत पाँच वर्षदेखि ग्रुपकै खर्चमा वृहत् वृक्षारोपण अभियान सञ्चालन हुँदै आएको छ । अध्यक्ष दुगडको ७५औँ जन्मोत्सवको अवसरदेखि सुरु गरिएको यस अभियानअन्तर्गत हालसम्म एक लाखभन्दा बढी विरुवा रोपिएको छ । तीमध्ये करिब ६५ हजार विरुवा सफलतापूर्वक हुर्किसकेका छन् ।
सोलुखुम्बु, रामेछाप र दोलखा जिल्लाका जलविद्युत् आयोजना क्षेत्र, साथै मेचीदेखि महाकालीसम्म फैलिएका ग्रुपका ४२ अटो डिभिजन शाखा, विभिन्न विद्यालय, मन्दिर तथा सार्वजनिक स्थलहरूमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । टिमुर, रुद्राक्ष, अमला, लप्सी, नासपाती, सुन्तला, एभोकाडो, ओखर, सल्लो, कपुर, आँप, अम्बा, बेल, जामुन, कटहर, चन्दन, अनार, नीम, कागती, तेजपत्ता, बाँस लगायत फलफूल, जडीबुटी, काठजन्य तथा फूलका बिरुवाको नियमित गोडमेल, सिँचाइ र संरक्षणसमेत गरिँदै आएको छ ।
ग्रुपले वन विभाग मातहतका निकायसँग समन्वय गरी आवश्यक जग्गा उपलब्ध भएमा योजनाबद्ध रूपमा आगामी पाँच वर्षभित्र थप ५ लाख विरुवा हुर्काउने लक्ष्य लिएको जनाएको छ । चालु वर्षमै न्यूनतम एक लाख विरुवा रोप्ने तथा संरक्षण गर्ने योजना रहेको छ । यस अभियानले नेपाल सरकारको वातावरण संरक्षण र हरियाली प्रवर्द्धनसम्बन्धी लक्ष्यमा उल्लेखनीय योगदान पुग्ने ग्रुपको विश्वास छ ।
अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मोत्सवको अवसरमा वातावरणीय अभियानसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । ‘तपाईंको एक थोपा, कसैको जीवन’ भन्ने मूल नाराका साथ सातै प्रदेशका २० स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा ५७८ जनाबाट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको थियो, जसबाट तीन जना बिरामीको ज्यान जोगाउन सकिएको थियो ।
वातावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन गरिएका यस्ता अभियानहरूले एम.भी. दुगड ग्रुपलाई जिम्मेवार र उदाहरणीय कर्पोरेट संस्थाको रूपमा स्थापित गरिरहेको छ ।