नेभिगेशन
अर्थतन्त्र

देश चुनावमा होमिँदा नेप्सेमा उत्साह

काठमाडौं । देश चुनावमा होमिँदा सेयर बजारमा पनि उत्साह देखिएको छ । मनोनयन दर्ताको अघिल्लो कारोबार दिन आइतबार ३१.१२ अंकले बढेको सेयर बजार आज मंगलबार ४२ अंकले उकालो लागेको हो ।

मंगलबार देशभर उम्मेदवारी दर्ता चलिरहँदा नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ अंकमा उक्लिएको छ । यो १.५८ प्रतिशतको वृद्धि हो । नेप्से परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।

मंगलबार ३३९ कम्पनीको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम आइतबारको तुलनामा धेरै हो । आइतबार ८ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार सबै समूहको उपसूचक बढेको छ । बैंकिङ १.२४, विकास बैंक १.४५, वित्त ०.९७, होटल तथा पर्यटन ३.३६, जलविद्युत् १.७७ र लगानी समूह २.५४ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.५४, म्युचुअल फन्ड १.०४, निर्जीवन बीमा १.६५, व्यापार ०.३७ र अन्य समूह १.४४ प्रतिशतले बढेको छ ।

मंगलबार २२४ कम्पनीका लगानीकर्ताले कमाउँदा ३१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । पाँचवटा कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबारको कारोबारमा गुर्खाज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेन्चर २०८९ को सेयर मूल्य ४.२३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्