नेभिगेशन
अर्थतन्त्र

माथिल्लो त्रिशूली–१ प्रभावितलाई तालिम

काठमाडौं । रसुवामा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यलाई तालिम प्रदान गरेको छ । आयोजनाले स्वरोजगार, रोजगारी तथा सीप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सुरु गरेको हो ।

आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थान लगायतका गाउँका आयोजना प्रभावित ४० जनालाई तालिम प्रदान गर्न सुरु गरिएको जनाएको छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको तालिमको मंगलबार वडा नं १ कार्यालयमा आयोजित कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ ।

आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताको आधारमा २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालनसम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको हो । आगामी चरणमा आयोजनाबाट प्रभावित पालिका अन्य वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिनेछ । समग्रमा यस कार्यक्रममार्फत आयोजना प्रभावित समुदायका करिब ३७० जनालाई सीपमूलक तालिम दिने लक्ष्य राखिएको छ ।

कार्यक्रममा कालिका गाउँपालिका वडा नं. १ का अध्यक्ष दावा तामाङले मागमा आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमबाट स्थानीय सहभागिता सहज बनाएको उल्लेख गरे । यस किसिमका कार्यक्रमले स्थानीय स्तरमै दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ ।

आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पुसदेखि सुरु गरिएको हो । हाल भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण २०८३ मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्