नेभिगेशन
अर्थतन्त्र

काठमाडौंमा याङ्गोको डेलिभरी सेवा

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ औपचारिक रूपमा सुरु गरेको छ । यो सेवा व्यक्ति–व्यक्ति र साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै काठमाडौंभित्र छिटो, सहज र भरपर्दो पार्सल ढुवानी समाधान प्रदान गर्ने उद्देश्यले ल्याइएको हो ।

याङ्गो डेलिभरीको सुरुवातसँगै अब याङ्गो एपमार्फत राइड– हेलिङ र डेलिभरी दुवै सेवा एउटै प्लेटफर्ममा उपलब्ध भएका छन् । यसले काठमाडौँका बासिन्दा तथा आगन्तुकहरूको दैनिक आवागमन र सामान ढुवानी आवश्यकतालाई अझ सरल बनाउने विश्वास लिइएको छ । यस सेवाअन्तर्गत प्रयोगकर्ताहरूले आवश्यकता अनुसार तीन प्रकारका डेलिभरी विकल्प छनोट गर्न सक्नेछन् ।

मोटो कुरियर साना प्याकेज र कागजातका लागि, कार कुरियर मध्यम आकारका सामानका लागि र कार्गो ठूला तथा भारी सामान ढुवानीका लागि उपलब्ध छ । विशेषगरी नयाँ कार्गो विकल्पले काठमाडौंभित्र ठूलो सवारी आवश्यक पर्ने ढुवानीलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

सहरी जीवनशैली र साना व्यवसायहरूमा छिटो र विश्वासिलो डेलिभरीको माग बढ्दै गएको सन्दर्भमा, यी इन–एप विकल्पहरूले व्यक्ति–व्यक्ति ढुवानी गर्ने प्रयोगकर्ता तथा सहरभरि सामान सार्न चाहने व्यवसायहरूलाई सहयोग पुर्‍याउने याङ्गोको भनाइ छ ।

याङ्गो डेलिभरीका दक्षिण एशियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले भने, ‘हाम्रो लक्ष्य काठमाडौँमा सामान पठाउने र प्राप्त गर्ने प्रक्रियालाई अझ सरल बनाउनु हो । सानो प्याकेजदेखि ठूलो सामानसम्म, प्रयोगकर्ताले एप खोलेर उपयुक्त विकल्प छान्ने र सेवा साझेदारमार्फत सहजै डेलिभरी अनुरोध गर्न सक्ने व्यवस्था गरेका छौँ ।

प्रविधिको प्रयोगमार्फत याङ् गो डेलिभरीले रुटिङ र ब्याचिङ एल्गोरिदम प्रयोग गरी ढुवानी प्रक्रियाको कार्यक्षमता बढाउने जनाएको छ । यसले सवारी साधनको अधिकतम उपयोग सुनिश्चित गर्नुका साथै ट्राफिक अवस्थाका बाबजुद समयमा डेलिभरी हुने दर सुधार गर्ने लक्ष्य राखेको छ । साथै, लाइभ–ट्र्याकिङ सुविधामार्फत पठाइएका सबै प्याकेजहरू रियल–टाइममा ट्र्याक गर्न सकिनेछ, जसले पारदर्शिता र विश्वास बढाउने दाबी गरिएको छ ।

याङ्गो डेलिभरीले आफ्नै सवारी वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूसँग साझेदारीमा काम गर्ने मोडेल अपनाएको छ । यसको उद्देश्य स्थानीय साझेदारहरूलाई डिजिटल रूपमा सशक्त बनाउँदै अन्तिम माइल कनेक्टिभिटीमा प्रविधिमार्फत कार्यक्षमता बढाउनु हो । यसले साझेदार चालकहरूका लागि आम्दानीका थप अवसर सिर्जना गर्ने पनि याङ्गोले जनाएको छ । याङ्गो ग्रुपले मे २०२५ मा ‘याङ्गो’ सिटी सर्भिसेस एपमार्फत नेपाली बजारमा प्रवेश गरेको थियो । परीक्षण चरणमा काठमाडौँमा राइड– हेलिङ सेवा सुरु गरिएको थियो भने अहिले डेलिभरी सेवा थपिएसँगै याङ्गो एप काठमाडौंका लागि बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विस्तार भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्