नेभिगेशन
अर्थतन्त्र
कृषि विकास बैंकको ५९औं वार्षिकोत्सव

साना किसान लक्षित ‘वान मिनेट बिजनेस प्लान’ आरम्भ

काठमाडौं । कृषि विकास बैंकले ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको हो ।

केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याए । हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उनले कृषि विकास बैंकले ती परिवर्तनलाई धेरै हदसम्म आत्मसात् गर्दै आएको बताए । प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको जानकारी दिए । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए ।

बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक केन्द्रित बनाउने उद्देश्यसहित पाँच वर्षे रणनीतिक व्यवसायिक योजना २०८१/८२ देखि आव २०८४/८५ सम्म कार्यान्वयनमा ल्याइएको पनि उनले जानकारी दिए । नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्णपालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै सिइओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको बताए । व्यावसायिक विविधता कायम गर्दै अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धी बैंकको रूपमा आफूलाई स्थापित गर्न बैंक सफल भएको उनको दाबी छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक आरम्भ गरेको छ । बैंकमा हाल ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ । आर्थिक सूचकांकका हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बैंकको कुल निक्षेप २०.३१ प्रतिशतले वृद्धि भई दुई खर्ब ९३ अर्ब ३५ करोड पुगेको छ भने कर्जा प्रवाह ८.४० प्रतिशतले वृद्धि भई दुई खर्ब २४ अर्ब पुगेको छ ।

असारसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३.४४ प्रतिशत र खुद नाफा तीन अर्ब ७३ करोड थियो । त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकको कुल निक्षेप तीन खर्ब २४ अर्ब ९७ करोड र कुल कर्जा प्रवाह दुई खर्ब ३० अर्ब २७ करोड पुगेको छ । हाल निष्क्रिय कर्जा कुल कर्जा लगानीको तुलनामा ४.५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्