नेभिगेशन
अर्थतन्त्र

सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर सर्वसम्मत

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारणसभापछि सञ्चालक समितिबाट अलग भएकाले रिक्त पदमा श्रेष्ठलाई सर्वसम्मतबाट चयन गरिएको हो ।

सिबिफिनको विधानमा कार्यसमितिका पदाधिकारी वा सदस्यहरू निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ ।

परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १५औं बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा मनोनित भएका श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका अग्रणी व्यक्तित्वका रुपमा परिचित छन् । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव थिए ।

अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले हालसम्मको विरासतलाई अक्षुण्य राख्दै सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । नेपालको अर्थतन्त्रको आधारशिलाको रूपमा रहेको बैंकिङ जस्तो अपरिहार्य एवं संवेदनशील क्षेत्र आज चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले करोडौँ जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रको साझा हितको प्रवद्र्धन, बैंकिङ क्षेत्रप्रतिको आम जनविश्वास एवं भरोसा अभिवृद्धि, वित्तीय स्थायित्व र दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र एवं समुन्नत राष्ट्र निर्माणका लागि सम्बन्धित सबै पक्षसँग हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनित गरेको छ । श्रेष्ठ अध्यक्षमा मनोनित भएपछि रिक्त भएको महासचिव पदमा गोयललाई चयन गरिएको हो । त्यस्तै एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले बैंकको अध्यक्षबाट राजीनामा दिएका कारणले कोषाध्यक्ष पदसमेत रिक्त थियो ।

यसअघि, कार्यसमितिको सदस्य रहेको गोयल एक कुशल र अनुभवी बैंकरको रुपमा परिचित छन् । उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको उच्च तहको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । त्यसैगरी, यसअघि कार्यसमितिको सदस्य रहेका कोषाध्यक्ष नेपाल नेपालको बैंकिङ र वित्तीय क्षेत्रका एक अनुभवी व्यक्तित्वको रूपमा चिनिन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्