नेभिगेशन
अर्थतन्त्र

इलेक्ट्रिसियनका लागि लिट्मसको २० दिने सिप सुधार कार्यक्रम

काठमाडौं । लिट्मस इन्डस्ट्रिजले इलेक्ट्रिसियनहरूका लागि सिप सुधार कार्यक्रम सुरु गरेको छ । शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित यो विशेष सीपमूलक कार्यक्रम काठमाडौंबाट सुरु गरिएको हो ।

सीप सुधार कार्यक्रम लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रिसियनहरूका लागि विशेष रूपमा तयार गरिएको हो, जसले कम्पनीले ग्राहकप्रति राखेको जिम्मेवारी र योगदानको प्रतिबिम्ब देखाउँछ । यस पहलमार्फत लिट् मसले प्राविधिक सीपलाई थप सुदृढ बनाउँदै देशभर सुरक्षित इलेक्ट्रिक अभ्यासलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

२० दिने तालिम कार्यक्रमले सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा ध्यान केन्द्रित गर्ने आयोजकको दाबी छ । यसमा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणाली तथा अन्य आवश्यक ह्यान्ड्स–अन सीपहरू समावेश छन् । इलेक्ट्रिसियनहरूको दक्षता बढाएर सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

यो तालिम सिटिईभिटीसँग आबद्ध बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । कार्यक्रममा लिट्मस इन्डस्ट्रिजकी निर्देशक साक्षी गुप्ताले यो पहल तालिम मात्र नभएर समाज र ग्राहकप्रतिको जिम्मेवारी भएको बताइन् ।

बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशीलकुमार श्रेष्ठले लिट्मस इन्डस्ट्रिज जस्तो प्रतिष्ठित कम्पनीसँगको सहकार्यले इलेक्ट्रिसियनहरूको सीप, व्यावसायिक दक्षता र सुरक्षा सचेतनामा वृद्धि गरी समाजमा सकारात्मक प्रभाव पार्ने बताए । ‘शिक्षा, दक्षता, सुरक्षा’ भन्ने नाराबाट प्रेरित लिट्मसको सीप सुधार कार्यक्रमले इलेक्ट्रिसियनहरूलाई सशक्त बनाउने, सुरक्षा मापदण्ड सुधार गर्ने र नेपालमा दक्ष प्राविधिक जनशक्ति विकासमा योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्