काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४ सयभन्दा बढीले उम्मेदवारी दिएका छन् ।
विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएका सम्मको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिँदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बनेका डा. प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुन् । पूर्वअर्थराज्यमन्त्री उदयशमशेर जबरा पनि प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
शीर्षस्थ दलसँगको आबद्धता, प्रभावशाली राजनीतिज्ञका रुपमा पहिचान र दरिलो विषयगत ज्ञान भए पनि यी कुनै पनि पूर्वअर्थमन्त्रीले लगातार दुई आर्थिक वर्षको बजेट ल्याउन पाएनन् । पटक–पटक फेरिने राजनीतिक गठबन्धन र सरकार बन्ने–भत्किने शृंखला चलिरहँदा यी कुनै पनि अर्थमन्त्रीले अघिल्लो वर्षका योजना र कार्यक्रम पछिल्लो वर्ष आफैं निरन्तरता दिने अवसर पाएनन् । बजेट निर्माण गर्दा एउटा र कार्यान्वयन गर्दा अर्कै व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा रहने क्रम पटक– पटक दोहोरियो ।
२०६५ यताको बजेट इतिहास हेर्दा राष्ट्रियसभा सदस्यका रुपमा संसद् छिरेका डा. युवराज खतिवडाले तीनवटा, डा. रामशरण महतले दुईवटा र तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दुई वटा बजेट लगातार ल्याएका छन् । अध्यादेशमार्फत ल्याइएका पेस्की बजेट र पुरक बजेटलाई छोडेर हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका रुपमा माथि उल्लिखित कुनै पनि पूर्वअर्थमन्त्रीले लगालग दुई आर्थिक वर्षको बजेट ल्याउन पाएका छैनन् ।
डा. भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न लागेका उनले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष २०६५/६६ को बजेट ल्याएका थिए ।
पूर्वअर्थमन्त्री पुनले नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् । उनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक वर्ष २०६९/७० का लागि अध्यादेशमार्फत बजेट ल्याएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुपन्देही २ मा नेकपा (एमाले) बाट उम्मेदवारी दर्ता गराएका पूर्वअर्थमन्त्री पौडेल हालसम्म पाँचपटक अर्थमन्त्री बनेका छन् । हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पौडेलले ल्याएका हुन् । आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७८/७९ को बजेट पनि उनैले ल्याएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सुनसरी ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका पूर्वअर्थमन्त्री कार्कीले बजेट ल्याएका छैन । त्यस्तै पूर्वअर्थमन्त्री शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गृह जिल्ला रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका थिए । कांग्रेस नेता डा. महतले नुवाकोट १ बाट उम्मेदवारी दिएका छन् । उनले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए ।