नेभिगेशन
अर्थतन्त्र

चार दिनपछि घट्यो नेप्से

काठमाडाैं । सेयर बजार परिसूचक नेप्से चार दिनपछि घटेको छ । लगातार अघिल्ला चार कारोबार दिन बढेको नेप्से बुधबार ९.४३ अंकले घटेको हो ।

चुनावी गतिविधिमा बढोत्तरी भएसँगै गत साताको मंगलबारदेखि नेप्से लगातार बढिरहेको थियो । गत साता मंगलबार ४.९ र बुधबार १.५२ अंकले नेप्से बढेको थियो । यो साता प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ताको १ दिनअघि आइतबार ३१.१२ अंकले बढेको नेप्से मनोनयन दर्ताको दिन मंगलबार ४२.२६ अंकले उकालो लागेको थियो ।

चार दिनमा ७९.८ अंकले बढेका बजार अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेपछि बुधबार घटेको छ । अन्यबाहेकका सबै समूह राताम्य भएपछि बुधबार नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५.३८ अंकमा झरेको हो ।

बुधबार १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ वटाको बढेको छ । तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बुधबार नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । मंगलबार ११ अर्ब ७३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२४ कम्पनीको ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री भएको हो ।

सूचीकृत १३ समूहमध्ये १२ वटा घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्स १.६७ प्रतिशत, व्यापार १.३६, म्युचुअल फन्ड ०.६५, लगानी समूह ०.६४, विकास बैंक ०.५९, उत्पादन तथा प्रशोधन ०.४६, जीवन बीमा ०.३६, निर्जीवन बीमा ०.३०, लघुवित्त ०.२५, बैंकिङ ०.१६ र जलविद्युत् ०.०३ प्रतिशतले घटेको छ । अन्य समूह ०.२६ प्रतिशतले बढेको छ ।

घटेको बजारमा पनि बुधबार कालिका पावर कम्पनी ९.८४ प्रतिशत, नारायणी विकास बैंक ९.१६, रिभल्स पावर ५.५०, विकास हाइड्रोपावर कम्पनी ४.९८ र मन्डु हाइड्रोपावर ४.५८ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त र मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीको सूचीमा छन् ।

बुधबार आँखुखोला जलविद्युतको ४३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड, हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ९७ लाख र राधी विद्युत् २८ करोड २५ लाखको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्