नेभिगेशन
अर्थतन्त्र

सिमेन्टको प्रयोग बढाउन आवश्यक : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा नै उत्पादन हुने सिमेन्टलाई प्रवर्धन गर्दै आयातित अलकत्राको प्रयोगलाई घटाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

आइपिटिएम नेपाल प्रालिको सहजीकरणमा नेपाल सिमेन्ट उत्पादक संघद्वारा मंगलबार आयोजित सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माणसम्बन्धी एकदिने तालिमको आरम्भ गर्दै उनले बागमती प्रदेश सरकार र सिमेन्ट उद्योगबीच सहकार्य गरी आगामी बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बताए ।

‘दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य छ । अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरण गर्नु हो,’ उनले भने । सिमेन्टको अधिकतम खपतका लागि पनि कालोपत्रे सडकको सट्टा कंक्रिट (ढलान) सडक निर्माणतर्फ जानुपर्ने उनले स्पष्ट पारे ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुले हाल नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायातमार्फत हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अत्यावश्यकता रहेको धारणा राखे । कालोपत्रे सडकको तुलनामा प्रारम्भिक लागत केही बढी भए पनि कंक्रिट पक्कीकरण दीर्घकालीन रूपमा कम मर्मतसम्भार खर्च, उच्च टिकाउपन र विश्वसनीयता हुने उनले बताए ।

उनका अनुसार नेपालमा बर्सेनि ११ अर्बभन्दा बढीको विटुमिन आयात हुने गर्छ । यसलाई प्रतिस्थापन गर्न स्वदेशी सिमेन्टमार्फत कंक्रिट सडक निर्माण गर्न जरुरी छ ।

कार्यक्रममा कंक्रिट सडक प्रविधिको महत्व, डिजाइन अवधारणा, प्रकार, छनोटका आधार, डिजाइन सिद्धान्त, संरचनात्मक तत्व, जोइन्ट तथा रि– इनफोर्समेन्टको भूमिका र निर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । यसबाट नीति निर्माण, योजना, डिजाइन, सुपरिवेक्षण तथा निर्माणमा संलग्न प्राविधिक जनशक्ति लाभान्वित भएको जनाइएको छ ।

कार्यक्रममा इन्जिनियर अर्जुनजंग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण दिएका थिए । त्यस्तै आइपिटिएम नेपालका कार्यकारी निर्देशक चुमनबाबु श्रेष्ठले तालिमको महत्वका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्