नेभिगेशन
अर्थतन्त्र

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट

काठमाडौं । मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राहीलाई छुट दिने गरी सम्झौता भएको छ । सम्झौताअनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउने भएका छन् ।

मौलाकाली केवलकारका स्टेसन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब एउटा केवलकारको यात्रा गरेका सेवाग्राही यात्रुले अर्को केवलकारमा यात्रा गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

अघिल्लो यात्राको टिकट देखाएर उक्त छुट प्राप्त गर्न सकिने मौलाकाली केवलकारका स्टेसन म्यानेजर पौडेलले बताए । ‘हाललाई टिकट देखाएरै छुट प्राप्त गर्न सक्नुहुन्छ, यसलाई अझै व्यवस्थित र सहज कसरी गर्न सकिन्छ भनेर हामीले सोचिरहेका छौं,’ उनले भने ।

यो छुटले लुम्बिनी र मौलाकाली दुवैतर्फका सेवाग्राही लाभान्वित हुने कम्पनीको विश्वास छ । आइएमई समूहद्वारा प्रवर्धित यी दुवै केवलकारबीचको यो सम्झौता आपसी सहकार्यको राम्रो नमुना भएको पौडेलले बताए ।

एकले अर्को गन्तव्यको प्रवर्धन गर्ने यो संस्कृतिले पर्यटन प्रवर्धनमा पनि राम्रो टेवा पुग्ने लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेको ठहर छ । एक–अर्काका यात्रु सेवाग्राहीलाई दिइने यो छुट सुविधा अघिल्लो केवलकारको टिकट काटेको मितिले तीन महिनासम्म प्राप्त गर्न सकिनेछ ।

मौलाकाली केवलकार नवलपुरको गैंडाकोटमा अवस्थित छ, जहाँबाट १५औं शताब्दीदेखिको इतिहास बोकेको प्रसिद्ध मौलाकालिका मन्दिर पुग्न सकिन्छ । त्यस्तै लुम्बिनी केवलकार बुटवलको गोलपार्कमा अवस्थित छ, जहाँबाट पाल्पाको वसन्तपुर डाँडामा अवस्थित माँ कामाख्या मन्दिर पुग्न सकिन्छ ।

मौलाकाली केवलकारको टप स्टेसनमा सुविधासम्पन्न होटल सञ्चालित छ भने वसन्तपुरमा पनि १५० कोठासहितको अति सुविधासम्पन्न होटल निर्माण हुने चरणमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्