नेभिगेशन
अर्थतन्त्र

झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव

झापा । औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रंगशालामा सुरु भएको छ । झापा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सव माघ २१ सम्म सञ्चालन हुनेछ ।

संघका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार उद्योग, व्यापार, कृषि, पशुपन्छी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै आन्तरिक बजार सवलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिन महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा १३० वटा स्टल (कक्ष) निर्माण गरिएका छन् । राईका अनुसार ती स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकलाका सामग्री, विभिन्न कम्पनीका अटोमोबाइल, कृषि औजार, बीउबीजन, मलखाद, जडीबुटी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा गार्मेन्ट सामग्री, जुत्ता– चप्पल, गलैँचा तथा पस्मिना, सौर्य ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था, फर्निचर तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी तथा कारोबार हुनेछ ।

महोत्सवलाई थप आकर्षक बनाउन ‘सेल्फीजोन’, मनोरञ्जनात्मक खेल तमासा, स्थानीय तथा राष्ट्रियस्तरका सांगीतिक र हास्यव्यंग्य कार्यक्रम, स्थानीय गीत तथा नृत्य, सांस्कृतिक प्रस्तुति, बालउद्यान तथा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनको व्यवस्था गरिएको संयोजक राईले बताए । महोत्सव अवधिमा विभिन्न खेलकुद कार्यक्रम पनि आयोजना गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्