नेभिगेशन
अर्थतन्त्र

किसान सहकारीले थाल्यो ‘पढ्दै कमाउँदै’

कैलाली । कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै– कमाउँदै कार्यक्रम सुरु गरेको छ । संस्थाले स्थानीय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्ला वितरण गरी यो कार्यक्रम सुरु गरेको हो ।

संस्थाले पहिलो चरणमा सरस्वती मावि र नवज्योति माविमा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीलाई प्रतिविद्यार्थी ५ वटाका दरले न्यु हिमशिखर र अस्ट्रेलियन लोकल जातका कुखुराका चल्ला वितरण गरेको छ । विद्यार्थीको व्यावसायिक सीप विकास गर्दै परिवारको आयआर्जनमा टेवा पुर्‍याउनुका साथै अभिभावकलाई व्यावसायिक कुखुरापालनतर्फ आकर्षित गर्ने संस्थाको योजना छ ।

भविष्यमा विद्यार्थी अथवा अभिभावकले व्यावसायिक कुखुरापालन गर्न चाहेमा संस्थाबाट आवश्यक पुँजी, प्रविधि उपलब्ध गराउने र व्यावसायिक क्षमता अभिवृद्धि गरिदिने संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए ।

२०५२ सालमा स्थापना भएको संस्थाले वित्तीय, कृषि र मार्ट गरी तीनवटा व्यावसायिक युनिटहरूमार्फत सदस्यलाई सेवा दिँदै आएको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको संस्थामा ९३ हजारभन्दा बढी सेयर सदस्य छन् । संस्थाको कुल कारोबार ७ अर्ब २० करोड रुपैयाँ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्