नेभिगेशन
अर्थतन्त्र

विद्यार्थी र शिक्षकलाई वित्तीय साक्षरता शिक्षा

मुगु । मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकामा रहेको नमुना उच्च माविमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक ४०६ नम्बर शाखा कार्यालय मुगुले बिहीबार महाकाली उच्च माविमा अध्यनरत कक्षा १० देखि १२ सम्मका १२५ भन्दा बढी विद्यार्थी र शिक्षकलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरेको हो ।

कार्यक्रममा बैंकिङ सेवा प्रविधिमैत्री बनाउने उद्देश्यले एटीएम, मोबाइल बैंकिङ, क्यूआर कोड, स्क्यान, ब्यालेन्स लोड तथा चेक, अनलाइन कारोबार, रेमिट्यान्सलगायत सेवाका प्रयोग, फाइदा तथा सुरक्षित कारोबारका उपायबारे जानकारी दिइएको छ ।

साथै, आधिकारिक एपको प्रयोग, अपरिचित लिंकबाट हुने जोखिम, गोपनीयता, सार्वजनिक वाइफाइ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीजस्ता विषयमा समेत प्रशिक्षण दिइएको बैंक शाखा मुगुका प्रबन्धक मुनबहादुर बुढाले जानकारी दिए । उनका अनुसार विद्यार्थीले सिकेका ज्ञान घरपरिवारसम्म सजिलै पुर्‍याउन सक्ने भएकाले विद्यालयस्तरमै वित्तीय साक्षरता कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमअन्तर्गत बैंकका कर्जा इन्चार्ज आनन्दबहादुर शाहीले बैंक कर्जा (ऋण) लिने प्रक्रिया, ब्याजदर, कर्जाका प्रकार, कर्जा भुक्तानी गर्ने तरिका, समयमा कर्जा नतिरेमा लाग्ने जरिवाना, कालोसूचीमा पर्ने जोखिमलगायत विषयमा जानकारी गराए । महाकाली उच्च माविमा कक्षा १२ मा अध्ययनरत छात्रा थापादेवी बढुवालले मोबाइलबाट रकम ट्रान्सफर गर्ने तरिका, कर्जा तथा कालोसूचीसम्बन्धी विषय कार्यक्रममा स्पष्ट रूपमा बुझ्न पाएको बताइन् । ‘पहिले सुनेको मात्र थिएँ तर आज व्यावहारिक रूपमा सिक्ने अवसर मिल्यो,’ उनले भनिन् ।

प्रविधिमैत्री बैंकिङ सेवाको प्रयोग बढ्दो क्रममा रहेको अवस्थामा विद्यालयमै आएर विद्यार्थी तथा शिक्षकलाई वित्तीय साक्षरता शिक्षा दिएकोमा विद्यालय परिवारको तर्फबाट प्रधानाध्यापक खड्कबहादुर रोकायाले राष्ट्रिय वाणिज्य बैंकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्दै विद्यार्थीले सिकेका ज्ञान घरपरिवार र आफन्तसम्म फैलाउन आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्