नेभिगेशन
अर्थतन्त्र

हुन्डाई पालिसेड २०२६ ‘नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर’ घोषित

काठमाडौं । हुन्डाई मोटर कम्पनीको एसयूभी हुन्डाई पालिसेडले सन् २०२६ का लागि प्रतिष्ठित ‘नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर’ उपाधि हात पारेको छ । उत्तर अमेरिकाको सबैभन्दा विश्वसनीय र स्वतन्त्र अटोमोटिभ पुरस्कारमध्ये एक मानिने न्याकटोय (नर्थ अमेरिकन कार, युटिलिटी एन्ड ट्रक अफ द इयर) संस्थाले हुन्डाई पालिसेडलाई सम्मान गरेको हो ।

संयुक्त राज्य अमेरिका र क्यानडाका ५० अग्रणी अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलले डिजाइन, प्रदर्शन, नवीनता, सुरक्षा, प्रविधि र मूल्यका आधारमा व्यापक मूल्यांकपछि पालिसेडलाई उत्कृष्ट युटिलिटी भेहिकलको रूपमा छनोट गरेको छ । सवारीसाधनहरूलाई दीर्घकालीन ड्राइभिङ, तुलनात्मक परीक्षण र वास्तविक प्रयोगमार्फत मूल्यांकन गरिन्छ ।

नयाँ पुस्ताको हुन्डाई पालिसेडले हाइब्रिड तथा आन्तरिक दहन इन्जिन (आईसीई) दुवै विकल्प उपलब्ध गराउँदै बहुआयामिक पावरट्रेन लाइनअप प्रस्तुत गरेको छ । विशेषगरी, नयाँ हाइब्रिड भेरियन्टले ३४ माइल प्रति ग्यालोनसम्म माइलेज र ६ सय माइलभन्दा बढी ड्राइभिङ रेन्ज प्रदान गर्ने क्षमताका कारण प्रशंसा पाएको छ । साथै, यसको विशाल र प्रिमियम इन्टेरियर, सहज प्रविधि प्रणाली तथा परिवारमैत्री सुरक्षा र सुविधा विशेषताहरूले निर्णायकहरूको ध्यान तानेको हो ।

हुन्डाई मोटर कम्पनीका अध्यक्ष तथा सीईओ जोसे मुनोजले यो उपलब्धि कम्पनीका लागि ठूलो सम्मान भएको बताए । ‘पालिसेडको सुन्दर डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट सुरक्षाका साथै मूल्य पनि उपयुक्त छ,’ उनले भने ।

पालिसेडले सन् २०२५ मा अमेरिकामा रेकर्ड बिक्रीसमेत हासिल गरेको थियो, जहाँ खुद्रा बिक्री १७ प्रतिशत र कुल बिक्री १३ प्रतिशतले वृद्धि भएको थियो । यस सफलताले आधुनिक परिवारका लागि बहुउपयोगी, प्रविधियुक्त र भरपर्दो एसयूभीप्रतिको बढ्दो मागलाई स्पष्ट पारेको हुन्डाईले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्