काठमाडौं । शेयरबजारमा यो साता अधिकांश दिन हरियाली छाएको छ । साताभरमा सोमबार बिदा परेकाले चार दिनमात्र कारोबार भएको बजारमा तीन दिन बजार उकालो लाग्यो भने एक दिन घट्यो ।
शेयरबजार परिसूचक नेप्से साताभरमा ७३.१८ अंकले बढेको छ । आइतबार ३१.१२, मंगलबार ४२.२६ र बिहीबार ९.२३ अंकले बजार बढ्यो । बुधबार भने बजार ९.४३ अंकले ओरालो लाग्यो ।
अघिल्लो सातादेखि करिब ८० अंकले बढेको बजारबाट अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा बुधबार बजार घटेको थियो । साताभरमा बजार २६४१.४३ अंकबाट बढेर २७१४.६१ अंकमा उक्लिएको छ ।
३७ अर्बको कारोबार
साताभरमा ३७ अर्बको शेयर कारोबार भएको छ । कारोबार रकम गत साताभन्दा बढेको हो । गत साताभरमा २० अर्ब हाराहारीको मात्र शेयर किनबेच भएको थियो ।
यो साता आइतबार ८ अर्ब ३५ करोड ७३ लाख, मंगलबार ११ अर्ब ७३ करोड ७९ लाख, बुधबार ८ अर्ब ७९ करोड ३ लाख र बिहीबार ९ अर्ब ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै आइतबार १ करोड ५२ लाख १० हजार, मंगलबार २ करोड ३१ लाख ४६ हजार, बुधबार १ करोड ८१ लाख ३० हजार र बिहीबार १ करोड ७८ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ ।
बिहीबार कारोबार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
आईपीओ निष्कासन
यो साता एउटा कम्पनीले आईपीओ निष्कासन गरेको छ भने एउटाले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । त्यस्तै दुईवटा कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृतिपश्चात् निष्कासन प्रक्रिया अघि बढाएका छन् ।
शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ देखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
त्यस्तै सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएको हो ।
सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि आवश्यक प्रत्याभूति व्यवस्थापन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ ।
विजय लघुवित्त एफपीओ र पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड यो साता विजय लघुवित्त र पाल्पा सिमेन्टको एफपीओ बाँडफाँड भएको छ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको एफपीओ बाँडफाँड गरेको हो । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । गोला प्रथाबाट ४६ हजार ६८१ जनाले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् भने ७ जनाले थप १–१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् ।
त्यस्तै पाल्पा सिमेन्ट इन्डस्ट्रिजले पुस २५ देखि ३० सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो । यस्तै कम्पनीले स्थानीयका लागि खुलाएको आईपीओमा आवेदन दिने अवधि माघ ११ सम्म थप गरेको छ ।
लाभांश वितरण
हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले यसै साता लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको हो ।
कम ब्याजदर, शेयर र चुनावको सिजन
शेयरबजार विश्लेषक रवीन्द्र भट्टराईले नेपाली शेयरबजारले लगानीकर्ताका अवसर प्रदान गरिरहेको संकेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक ‘कम ब्याजदर, शेयर र चुनावको सिजन’ स्टाटसहित ‘माइन्ड म्याप’ सार्वजनिक गर्दै उनले बजारका लागि सुखद् सम्भावना औंल्याएका हुन् ।
मंगलबार उनले राखेको म्यापमा ब्याजदर, चुनाव र सिजनबीचको सम्बन्धलाई देखाइएको छ । बजारलाई मुख्यतः प्रभावित पार्ने फ्याक्टरमा उनले कम ब्याजदर, चुनाव र शेयरको सिजनलाई लिएका छन् भने शेयर सिजनको विशेषताका रूपमा चैतपछिको समय, वित्तीय विवरण र अर्को आर्थिक वर्षको निकटतालाई उल्लेख गरेका छन् ।
वित्तीय विवरणमा तेस्रो त्रैमासिक रिपोर्ट र वार्षिक नतिजा अनुमानलाई उनले म्यापमा देखाएका छन् । समग्रमा बैंकिङ प्रणालीमा १४ खर्ब हाराकारी लगानीयोग्य रकम रहेको र बैंकहरूले ७ प्रतशितभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिरहेको अवस्था शेयरबजारका लागि अनुकूल बन्ने उनले ठहर गरेका छन् ।
निक्षेपको ब्याजदर कम हुँदा पनि बैंकमा पैसा राख्नभन्दा सस्तो मूल्यको शेयरमा लगानी गरेर फाइदा लिने अवस्थामा लगानीकर्ता पुग्छन् । यसले बजारमा शेयरको माग बढाउन उत्प्रेरकको काम गर्नेछ ।
अर्कोतर्फ कम्पनीहरूले वैशाखमा तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक गर्छन् । तेस्रो वित्तीय रिपोर्टले सामान्यतः कम्पनीहरूको अवस्था आकलन गर्न र निर्णय लिन लगानीकर्तालाई सहज हुन्छ । नाफाका वास्तविक अवस्थालाई तेस्रो रिपोर्टले संकेत गरिसकेको हुँदा लगानीकर्ताले निर्णय लिने र सस्तो शेयर उठाउने अवस्था रहन्छ ।