नेभिगेशन
अर्थतन्त्र

चुनावले जगायो पुँजीबजारमा आशा

काठमाडौं, माघ १३

कमजोर आर्थिक परिदृश्यका बीच चुनावमा मुलुक होमिँदा शेयर लगानीकर्तामा बेग्लै आशा जागेको छ । लामो समयदेखि २४०० देखि २६०० सय अंकको बीचमा रुमल्लिएको बजारमा फागुन २१ को चुनावी माहोलले रौनक थपेको छ ।

मनोनयन दर्ताको दुई दिन अघिदेखि नै बढ्न थालेको बजारमा हिजोआज दैनिक १६ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको छ । यसले लगानीकर्तालाई उत्साहित बनाएको छ । यसबीचमा मंगलबार बजार ४२ अंकले घटेको छ । सोमबारदेखि चलाइएको संसद् पुनःस्थापनाको हल्लाले बजारलाई प्रभावित बनाएको कतिपय शेयरबजार विश्लेषकले बताएका छन् । कतिपयले भने शेयरबजारमा सामान्य करेक्सन आएको टिप्पणी गरेका छन् ।

चुनाव हुने निश्चित भएपछि ठूला लगानीकर्ता बजार प्रवेश गर्न थालेको शेयरबजार विश्लेषक रवीन्द्र भट्टराईले बताए । राजनीति परिवर्तनका घटनाक्रमले शेयरबजार प्रभावित हुने गरेको उनी बताउँछन् । ‘नेपालमा चुनाव मात्र हुन गइरहेको छैन, नयाँ पार्टीहरूको पक्षमा माहोल पनि देखिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा राजनीतिक परिवर्तन हुन सक्ने अपेक्षा लगानीकर्ता बढेको हुनसक्छ । राजनीतिक परिवर्तनले लगानीकर्तामा सधैं आशा जगाउँछ ।’

बैंकको सीईओ आउँदा होस् या धितोपत्र बोर्डमा प्रमुख फेरिँदा बजारले जहिल्यै सकारात्मक संकेत देखाउने गरेको उनले बताए । ‘चुनावी वर्षमा सामान्यतया बजार बढेकै इतिहास छ । अमेरिकालगायतका अरू देशमा पनि हरेक चुनावी वर्षमा शेयरबजार बढ्छ,’ भट्टराईले भने ।

चुनाव र राजनीतिक परिवर्तनको अपेक्षाका बीच अत्यन्तै सस्तो ब्याजदर र फालाफाल लगानीयोग्य रकमले पनि शेयरबजारलाई माथि लैजान सहयोग पुग्ने उनको विश्लेषण छ । ‘ब्याजदर पनि असाध्यै सस्तो छ । लगानीकर्तालाई कन्फिडेन्स पनि चाहिएको थियो । चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । अब हुन्छ भन्ने भएपछि उनीहरूमा आत्मविश्वास बढेको छ ।’

नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक एवं शेयरबजार विश्लेषक डा गोपाल भट्टले नेपालको मात्र नभएर संसारभरका शेयरबजार तत्काल उपलब्ध सूचना र भविष्यप्रतिको अनुमानमा निर्भर रहने बताए । ‘सामान्यतः स्टक मार्केटले दुईवटा मुख्य कुरा ‘हाल उपलब्ध सूचना’ र ‘भविष्यप्रतिको अनुमान’अनुसार प्रतिक्रिया दिन्छ,’ उनले भने ।

केही समय अघिसम्म शेयरबजारको भविष्यलाई लिएर लगानीकर्ता त्यति विश्वस्त नरहेका कारण बजार लामो समयसम्म २४०० देखि २६०० अंकको उतार–चढावमा सीमित रहेको उनले बताए । ‘अहिले पनि बजार बढ्नुमा आर्थिकभन्दा पनि राजनीतिक कारणको प्रभाव बढी छ,’ डा भट्टले भने, ‘आर्थिक आधारभूत सूचकहरूमा ठूला परिवर्तन आएका छैनन् न त लगानीकर्ताको अपेक्षा अत्यन्तै बलियो छ तर निर्वाचनको सम्भावना, राजनीतिक नेतृत्वमा परिवर्तन आउन सक्ने संकेत र युवा नेतृत्वको सम्भावित आगमनजस्ता कुराले भविष्यमा राजनीतिक स्थिरता आउन सक्छ भन्ने सामान्य आशा सिर्जना गरेको छ ।’ यही आशालाई लगानीकर्ताले शेयर मूल्यमा रूपान्तरण गरेको उनको विश्लेषण छ । ‘नेपालको वित्तीय क्षेत्र दबाबमा छ । बैंक तथा वित्तीय संस्थाहरूको वासलात राम्रो छैन, ब्याजदर अत्यन्तै तल छ तर पनि कर्जा प्रवाह बढेको छैन । बजारमा माग छैन, सरकारी खर्च न्यून छ, वैदेशिक लगानी आएको छैन । समग्र अर्थतन्त्र नै राजनीतिक स्थिरताको प्रतीक्षामा छ,’ उनले भने, ‘यस्तो अवस्थामा पनि बजारमा उछाल आउनुका पछाडिको मुख्य कारण नै चुनाव र चुनावपछिको आशा हो ।’

अर्का शेयरबजार विश्लेषक मुक्ति अर्याल पनि हाल देखिएको बजारको गतिविधि मुख्यतया चुनावी वातावरणसँग जोडिएको बताउँछन् । ‘चुनाव हुने निश्चित भएपछि बजारमा अलिकति चहलपहल बढेको छ,’ उनले भने, ‘सामान्यतया चुनावी माहोलले लगानीकर्तामा केही हदसम्म कन्फिडेन्स ल्याउने गर्छ ।’

चुनावपछि कस्तो प्रकारको सरकार बन्छ भन्ने कुराले बजारको दीर्घकालीन दिशा निर्धारण गर्ने उनले स्पष्ट पारे । ‘बहुमतको स्थिर सरकार गठन भयो भने बजार अझै माथि जान सक्ने सम्भावना रहन्छ तर स्थिर सरकार बन्न सकेन भने बजारमा पुनः अनिश्चितता बढ्न सक्छ,’ अर्यालले भने ।

मंगलबार बजार ४२ अंकले घट्नुको पछाडि पनि केही हल्ला जिम्मेवार देखिने उनले बताए ।

‘संसद् पुनःस्थापना हुन सक्ने भन्ने चर्चा हिजोदेखि नै बजारमा फैलिएको छ, यस्ता हल्ला वास्तविक हुन् वा अफवाह मात्र हुन् भन्ने स्पष्ट नभए पनि यिनले बजारको कन्फिडेन्स कमजोर बनाउने काम गर्छन्,’ उनले भने । संसद् पुनःस्थापना भएमा हालको चुनावी प्रक्रिया प्रभावित हुने, तत्काल चुनाव नहुने र पुराना राजनीतिक शक्तिहरू पुनः सक्रिय हुने सम्भावनाले बजारमा थप अन्योलता सिर्जना गर्न सक्ने उनले बताए । यस्तो अवस्थाले बजारलाई झनै अस्तव्यस्त बनाउने जोखिम रहने उनको तर्क छ ।

ब्याजदर कम हुनु, तरलता प्रशस्त हुनु र विदेशी मुद्रा सञ्चिति उच्च हुनुजस्ता आधारभूत सूचकहरू भने विगतदेखि नै सबल अवस्थामा रहे पनि बजार नबढेको अर्यालले बताए । ‘त्यसकारण माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता भएपछि चुनाव हुने निश्चितता बढ्यो, त्यसको केही दिन अघिबाट बजारमा क्रमशः सुधार देखिन थाल्यो । यसको प्रमुख कारण चुनावी कन्फिडेन्स नै हो ।’

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले पनि लगानीकर्ताका लागि शेयरबजार अनुकूल रहेको बताएका छन् । ‘अहिले ब्याजदरले बजारलाई सबैभन्दा धेरै सपोर्ट गरेको छ,’ उनले भने, ‘अर्को कुरा चुनावको समयमा बजार सधैं बढेको इतिहास छ ।’ झण्डै डेढ सय अंकले बढेको बजारबाट नाफा बुक गर्नेहरूका कारण मंगलबार बजार घटेको उनले बताए । ‘कारोबार रकममा उत्साह छ, यसको अर्थ बजारमा ठूला लगानीकर्ता प्रवेश गरेका छन्,’ रौनियारले भने, ‘उतारचढाव हुनु शेयरबजारको विशेषता नै हो तर बजार बढ्न धेरै कुरा अनुकूल छन् ।’

घट्दो ब्याजदरले साथ दिएका बेलाको चुनावी माहोलले बजारलाई बढ्न सहयोग पुग्ने उनले बताए । ‘अहिले सस्तिएको शेयरमा लगानी गरेर लाभ लिनेहरूका लागि यो अवसर पनि हो,’ उनले भने, ‘किनकि अब बजार बढ्ने नै हो ।’ तर, नेप्से परिसूचक मंगलबार भने ४२.५८ अंकले घटेर २७२६.५१ अंकमा झरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्