नेभिगेशन
अर्थतन्त्र

एनआरएनए महाधिवेशनका लागि सुरु भयो दौडधुप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ । फागुन ३० देखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका हुन् ।
संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन । यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताले स्वागत गरे । शेरचनका साथै अन्य देशका कयौँ प्रतिनिधि पनि नेपाल आइसकेका छन् ।
विशेषगरी एनआरएनएको डेलिगेट्स चयनलगायतका प्राविधिक र कानुनी विषयमा सहमति नजुट्दा तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्ने विषयमा अझै अन्योलता कायम छ । अध्यक्षका उम्मेदवार शेरचनले पनि विवादित विषयहरूलाई पहिले सम्बोधन गरेरमात्रै एकताको महाधिवेशन गरिनुपर्ने अडान राख्दै आएका छन् । उनले केही दिनअघि मात्रै संस्था बचाउन र एकता कायम गर्न सार्वजनिक अपिल गरेका थिए ।
यसैबीच, शनिबार नै एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक बसेको छ । बैठकमा मध्यपूर्वको तनावलगायतका समस्याका कारण अनलाइनबाटै उम्मेदवारी दर्ता गर्ने विशेष व्यवस्थाबारे छलफल भएको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने निर्णय भएको छ ।
बैठकमा सहभागी अधिकांश अभियन्ताले विवाद समाधान नभए अक्टोबरमै महाधिवेशन सार्न वा सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । यद्यपि, अध्यक्ष बद्री केसीले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय गराएका छन् ।
नयाँ नेतृत्वका लागि रोविन शेरचन र वर्तमान उपाध्यक्ष हेमराज शर्माबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर, संस्थालाई थप विभाजनबाट जोगाउन र एकता कायम गर्न हेमराज शर्माभन्दा शेरचनको नाममा सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्न धेरैजसो अभियन्ताहरूले सुझाव दिएका छन् ।
शेरचनले आफू सबैलाई मिलाउन सक्ने साझा व्यक्ति भएको भन्दै अहिलेको अवस्थामा चुनाव नगरी आफ्नो नाममा सहमति गरिनुपर्ने बताए । ‘सहमति नहुने हो भने निर्वाचनकै माध्यमबाट पनि चुनाव जित्न सहज छैन,’ उनले भने । शेरचनले भौतिक उपस्थितिमै महाधिवेशन सबैभन्दा उत्तम रहेको समेत बताउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्