नेभिगेशन
अर्थतन्त्र

बालेन शाहको निर्वाचन खर्च १४ लाख १७ हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित सांसद बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका छन् । उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई बुझाएको विवरण सार्वजनिक गरिएको हो ।
झापा जिल्ला क्षेत्र नम्बर–५ बाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गरी विजयी रास्वपाका वरिष्ठ नेता शाहले सार्वजनिक गरेको खर्चको विवरणअनुसार निर्वाचन प्रचारप्रसारको अवधिभर सवारीसाधन भाडा खर्च (दुईवटा गाडी) २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको छ । यो खर्च १५ दिनसम्म सवारीसाधनको भाडा र इन्धन बापतको खर्च हो । 
यस्तै, पाँचपटक ओहोरदोहोर गर्दा हवाई भाडाबापत ३५ हजार रुपैयाँ खर्च भएको शाहले बुझाएको खर्च विवरणमा उल्लेख छ । यस्तै, १५ दिनसम्म निर्वाचन क्षेत्र नम्बर ५ का २९ वटा वडामा गरिएको वडास्तरीय घरदैलो कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी, मतदाता प्रशिक्षण कार्यक्रममा ५८ जनाका लागि खाजा खर्चबापत २८ हजार ९७० रुपैयाँ तथा नमूना मतपत्र छपाइका लागि ४९ हजार ८५० रुपैयाँ खर्च भएको छ । झापा ५ स्थित क्षेत्रीय निर्वाचन कार्यालय दुई महिना सञ्चालन गर्दाको खर्च १ लाख २० हजार रुपैयाँ तथा स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ भएको शाहले पेस गरेको खर्चको विवरणमा उल्लेख छ ।
यस्तै, निर्वाचनमा प्रचारप्रसार सामग्री छपाई (झण्डा एवं ब्याच)मा १ लाख ५७ हजार ४१ रुपैयाँ एवं ब्यानर तथा स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको शाहले पेस गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्