नेभिगेशन
अर्थतन्त्र

तेलको मूल्यमा उच्च वृद्धिपछि जी–७ राष्ट्रको आकस्मिक बैठक

काठमाडौं । कच्चा तेलको मूल्यप्रति ब्यारेल १२० डलरनजिक पुगेपछि जी–७ राष्ट्रले आकस्मिक बैठक बोलाएका छन् । युद्धका कारण अर्थतन्त्रमा परेको प्रभावबारे छलफल गर्न औद्योगिक राष्ट्रहरूका अर्थमन्त्री र यूके चान्सलर रचेल रिभ्ससहितको बैठक बोलाइएको हो । क्यानडा, फ्रान्स, जर्मन, इटाली, जापान, बेलायत र अमेरिकासहितका राष्ट्रहरूको समूह नै जी–७ हो ।
अमेरिका र इजरालयले इरानविरुद्ध संयुक्तरूपमा आक्रमण गरेपछि तेलको मूल्यमा उच्च दरले वृद्धि भएको छ । ‘स्ट्रेट अफ हर्मुज’ हुँदै आपूर्ति हुने तेल युद्धका कारण अवरुद्ध भएकाले विश्व बजारमा तेलको मूल्य सोमबार प्रतिब्यारेल १२० डलरनजिक पुगेको थियो ।
अमेरिका र इजरायलले इरानका तेल भण्डारण स्थलहरुमा हवाई आक्रमण गरिरहेका छन् । एसियाली बजारमा सामेबार ब्रेन्ट क्रुड तेलको मूल्य झण्डै २५ प्रतिशतले बढेर प्रतिब्यारेल ११९.५० डलर पुगेको छ । पछि फेरि घटेर प्रति ब्यारेल १०९ डलरमा झ¥यो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट क्रुड तेलको मूल्यवृद्धि पनि त्यस्तै देखिएको छ । यो झण्डै प्रतिडलर १०४ डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहजीकरणमा पेट्रोलियम पदार्थको भण्डारणबारे पनि जी–७ बैठकमा छलफल हुने द फाइनान्सियल टाइम्समा उल्लेख छ । ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने तेल आपूर्ति अवरुद्ध हुँदा विश्वभरका उपभोक्ता र व्यवसाय प्रभावित भएका छन् ।
विश्वको पाँच भागमध्ये एक भाग तेल ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाटै आपूर्ति हुँदै आएको थियो । तर, एक साताअघि सुरु भएको युद्धका कारण यो साँघुरो जलमार्गबाट जहाज आवातजावत ठप्प छ । इरानले आइतबार आयतुल्लाह अली खामेनाईको उत्ताराधिकारीका रुपमा उनका छोरा मोज्तबा खामेनाईलाई सर्वोच्च नेता बनाउने घोषणा गरेको छ ।
पिटरसन इन्स्टिच्युटका अन्तर्राष्ट्रिय अर्थतन्त्रका जानकार अडनान माजरेईले खाडी तथा पश्चिम एसियाका केही मुलुकमा द्वन्द्वका कारण तेलको उत्पादन रोकिएको र अन्य कारणले तेलको मूल्य वृद्धि हुनु अपेक्षित रहेको बताए । ‘मानिसहरुले यो युद्ध तत्काल टुंगिँदैन भन्ने बुझिसके,’ उनले भने, ‘अमेरिकाले गरेको बीमा र अन्य वाचा तथा प्रतिबद्धताहरू अपत्यारिला देखिन्छन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो तेलको मूल्य वृद्धिबारे उठेका चासो र चिन्तालाई अस्वीकार गर्दै आएका छन् । आइतबार उनले ट्रुथ सामाजिक सञ्जाल प्लेटफर्ममार्फत ‘इरानको आणविक खतरा समाप्त भएपछि तेलको मूल्य घट्ने’ दाबी गरेका थिए । 
अमेरिकी ऊर्जा सचिवले आइतबार इरानका तेल पूर्वाधारहरूमा भएको आक्रमणको जिम्मा लिन पनि अस्वीकार गरे । ‘इरानको ऊर्जा पूर्वाधारमा अमेरिकाले नभई इजरायलले आक्रमण गरेको हो । युद्धका कारण देशभित्र पेट्रोलको मूल्यवृद्धि हुने चिन्ता पनि बढिरहेको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्