नेभिगेशन
अर्थतन्त्र

रास्वपाको बहुमतपछि सेयर बजारमा उछाल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार अधिक उत्साह देखिएको छ । कारोबार सुरु भएपछि लगातार तीन पटकसम्म सकारात्मक सर्किट लाग्यो । यससँगै सोमबारका लागि कारोबार पनि बन्द भयो । कारोबार सुरु भएको एक घण्टाभित्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ । यो अवधिमा करिब ५५ करोड ५९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
बजारको यो वृद्धि अर्थतन्त्रमा भएको सुधार, कम्पनीहरुको नाफामा उच्च वृद्धि, ब्याजदर वा प्राविधिक चालको कारणले भएको भने होइन । नेप्सेको वृद्धिमा पछिल्लो राजनीतिक घटनाक्रम मूलतः प्रतिनिधिसभाको निर्वाचन परिणाम प्रतिबिम्बित भएको हो ।

चुनावी परिणाम र बजार मनोविज्ञान
प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट बहुमत (दुई तिहाईनजिक) प्राप्त गरेपछि लगानीकर्ताको मनोविज्ञान एकाएक सकारात्मक बनेको छ । नेपालको सेयर बजारमा राजनीतिक स्थिरता सधैं महत्वपूर्ण कारक बन्ने गरेको छ । विगतमा पटक–पटक हुने सरकार परिवर्तन, गठबन्धनको अनिश्चितता, नीतिगत अस्थिरता र निर्णय प्रक्रियामा ढिलाइका कारण बजारमा निराशा देखिने गरेको थियो ।
तर, अहिले स्पष्ट बहुमतसहित एकल सरकार बन्ने भएपछि नीति निर्माण छिटो हुने, आर्थिक सुधारका कार्यक्रम अघि बढ्ने र दीर्घकालीन योजना कार्यान्वयनमा सहजता आउने अपेक्षा लगानीकर्ताले गरेका छन् । यही अपेक्षाको प्रतिक्रिया सेयरबजारमा देखिएको हो । स्थिर सरकारले उत्पादन बढाई आर्थिक गतिविधि वृद्धिमा छिटो काम गर्न सक्ने हुन्छ । निर्वाचन परिणामले अब त्यो सम्भव देखिएको छ ।

स्थिर सरकारको आर्थिक अर्थ
एउटै दलको स्पष्ट बहुमतको सरकार बनेपछि अर्थतन्त्रमा केही महत्वपूर्ण परिवर्तन हुने अपेक्षा छ । विश्वमा स्थिर सरकार भएका देशहरुमा विकासका काम छिटो भएका छन् । आर्थिक नीतिहरु छिटो बन्ने भएकाले आर्थिक स्थिरताको अवस्था बन्ने र देशमा लगानीको वातावरण निर्माण हुँदै जाने हुन्छ । स्थिर सरकार हुँदा अर्थतन्त्रमा कसरी फाइदा पुग्न सक्छ तीन बुँदामा हेरौं–
पहिलो, आर्थिक नीति स्थिर हुन्छ । लगानीकर्ताले नीतिगत अनिश्चितताभन्दा स्थिर वातावरण खोज्छन् । दोस्रो, विकास बजेटको प्रभावकारी कार्यान्वयन हुन्छ । राजनीतिक अस्थिरताका कारण धेरै आयोजना ढिलाइ हुने गरेको सन्दर्भमा बलियो सरकारको उपस्थितिले पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन र औद्योगिक क्षेत्रमा गति आउन सक्छ ।
तेस्रो, निजी क्षेत्रको आत्मविश्वास बढ्छ । जब सरकार दीर्घकालीन रूपमा टिक्छ, निजी क्षेत्रले पनि दीर्घकालीन लगानी योजना बनाउन थाल्छ ।

सेयरबजारमा तुरुन्तै किन देखिन्छ प्रतिक्रिया ?
सेयर बजार भविष्यको अपेक्षामा चल्ने बजार हो । अहिलेको आर्थिक अवस्थाभन्दा आगामी सम्भावनालाई लगानीकर्ताले मूल्यांकन गर्छन् । यो भन्नुको अर्थ आफूले लगानी गरेको कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिन सक्छ भन्ने हो । त्यसैले राजनीतिक परिवर्तन वा चुनावी परिणामले तत्काल बजारमा प्रतिक्रिया देखिन्छ ।
रास्वपाको बहुमतको सरकार बन्ने निश्चित भएपछि लगानीकर्ताले सम्भावित आर्थिक सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारको अपेक्षा गरेका छन् । रास्वपाका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेलगायतका व्यक्ति आर्थिक नीति निर्माणमा सक्रिय हुने र जसले देशलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा पनि लगानीकर्तामा छ । नयाँ राजनीतिक शक्तिले पुरानो राजनीतिक प्रवृत्तिमा परिवर्तन ल्याउने आशा पनि छ, जसले बजारलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको देखिन्छ ।

सम्भावित क्षेत्रगत प्रभाव
राजनीतिक स्थिरता कायम रह्यो भने केही क्षेत्रमा विशेष प्रभाव देखिन सक्छ । बैंक तथा वित्तीय क्षेत्रः आर्थिक गतिविधि बढ्दा कर्जा प्रवाह बढ्ने सम्भावना हुन्छ । जलविद्युतः ऊर्जा निर्यात र लगानी बढ्ने हुन्छ । स्थिर सरकार हुँदा लगनीकर्तामा विश्वास बढेर जाने भएकाले लगानी बढ्ने र यसबाट उत्पादित वस्तु निर्यात हुन सक्दा अर्थतन्त्रमा फाइदा पुग्छ । पूर्वाधारमा सरकारी परियोजना र निजी लगानी दुवै बढ्न सक्छ । स्थिर राजनीतिक वातावरणले विदेशी पर्यटक र लगानी आकर्षित गर्न सक्छ ।

सावधानी अपनाउन आवश्यक
सरकार परिवर्तन हुँदा बजारमा सकारात्मक माहोल बनेको यो पहिलो पटक भने होइन । विगतमा पनि सरकार परिवर्तन हुँदा र सेयरबजारलाई सकारात्मक रुपमा लिने व्यक्ति अर्थमन्त्री बन्दा बजारमा उत्साह देखिएको थियो । तर, अपेक्षित आर्थिक गतिविधि हुन नसक्दा छोटो समयमै बजार निराशामा परिणत भएको थियो ।
अहिले पनि बजारमा देखिएको यो उत्साह दीर्घकालीन रूपमा टिकिरहन्छ भन्ने निश्चित छैन । सेयर बजारले भावनात्मक प्रतिक्रिया पनि दिन सक्छ । अपेक्षाअनुसार नीतिगत सुधार, आर्थिक कार्यक्रम र सुशासन कार्यान्वयन भएन भने बजार फेरि सुधार (करेक्सन) तर्फ जान पनि सक्छ ।
नेपालको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स, आयातमा निर्भरता, उत्पादनशील क्षेत्र कमजोर रहनु, बेरोजगारी दर बढेर जानु र बजार निर्माण गर्न नसक्नु जस्ता संरचनात्मक समस्यासँग जुधिरहेको छ । त्यसैले राजनीतिक परिवर्तन मात्रले सबै समस्या समाधान गर्दैन, वास्तविक सुधार नीतिगत र संस्थागत स्तरमै हुनुपर्छ । त्यो काम रास्वपाको स्थिर सरकारले गर्न सक्नुपर्छ । सोमबार नेप्सेमा लागेको सकारात्मक सर्किट केवल सेयर बजारको घटना मात्र होइन, नेपालको राजनीतिक परिवर्तनप्रति लगानीकर्ताको आशा र अपेक्षाको प्रतिबिम्ब हो ।
रास्वपाको स्पष्ट बहुमतले स्थिर सरकारको संकेत दिएको छ, जसबाट आर्थिक सुधार र विकासको नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । यद्यपि, रास्वपा नयाँ दल हो, यसले छोटो समयमै ठूलो जिम्मेवारी पाएको छ । त्यसैले, अबको मुख्य प्रश्न भनेको रास्वपाले यो राजनीतिक उत्साहलाई आर्थिक समृद्धिमा कसरी रूपान्तरण गर्छ भन्ने हो ।
सरकारले सुशासन, नीतिगत स्थिरता र लगानीमैत्री वातावरण निर्माण गर्न सफल भयो भने अहिलेको सेयर बजारको उत्साह दीर्घकालीन आर्थिक वृद्धिको सुरुवात पनि हुन सक्छ । भएन भने फेरि ठूलो करेक्सन आउने र लगानीकर्ताको मनोबलमा धक्का लाग्ने हुन सक्छ ।

एकैदिन पौने ३ खर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति
जेनजी आन्दोलनपछि फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएपछि लामो समयदेखि राजनीतिक अस्थिरता, नीतिगत अन्योल र आर्थिक चुनौतीका कारण प्रभावित बनेको शेयर बजारमा उत्साह छाएको छ ।
नेप्से सोमबार १६२.९३ अंकले बढेर २८७५.४३ अंकमा उक्लिएको छ । गत साता मंगलबार नेप्से ३८.५२ अंकले बढेको थियो । सामेबार २५२ कम्पनीको शेयर मूल्य बढ्दा एउटाको भने घटेको छ । नेप्सेमा ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँबराबरको ११ लाख ४३ हजार ७६७ कित्ता शेयर किनबेच भएको छ । 
नेप्सेमा सूचीकृत सबै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै व्यापार समूह ७.७३ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह ७.०६, अन्य ५.५६,निर्जीवन विमा ३.७४, म्युचुअल फण्ड ०.१८, लघुवित्त ४.०७, उत्पादन तथा प्रशोधन ५.३०, जीवन बीमा ४.६७, जलविद्युत् ६.८१, होटल तथा पर्यटन ५.७३, वित्त ५.४७, विकास बंैक ५.९१ र बैंकिङ समूह ६.९२ प्रतिशतले बढेको छ ।
सोमबार दुई वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने २८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बंैक र शिवश्री हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सोमबार एउटा कम्पनीको शेयर मूल्य घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य १.४९ प्रतिशतले घटेको हो ।
एकै दिनको कारोबारमा लगानीकर्ताको सम्पत्ति पौने ३ खर्ब बढेको छ । गत साता मंगलबार ४५ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबारको सर्किटसँगै २ खर्ब ७४ अर्बले बढेर ४८ खर्ब ३७ अर्ब २३ करोड रुपैयाँ नाघेको छ । कुल बजार पुँजीकरण भन्नाले नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको कुल सेयर मूल्य हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्