नेभिगेशन
अर्थतन्त्र

व्यवसायमा सफल, राजनीतिमा असफल

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आर्थिकरूपले सफल उद्योगी व्यवसायी पनि विभिन्न राजनीतिक दलबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तर, उद्योग, व्यापार, बैंकिङ, पर्यटन, म्यानपावर, यातायातजस्ता क्षेत्रमा स्थापित भएर राजनीतिमा प्रवेश गरेका उनीलाई चुनावी प्रतिस्पर्धामा भने असफल भएका छन् ।
निर्वाचनमा विभिन्न क्षेत्रका चर्चित उद्योगी व्यवसायी उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएको भए पनि धेरैले मतदाताको भरोसा गुमाएको देखिएको छ । अघिल्ला निर्वाचनमा संसद् पुगेका केही उद्योग व्यवसायीले यसपटकको निर्वाचनमा हार बेहोरेका छन् ।

विनोद चौधरी
सबैभन्दा सफल र विश्वकै धनीहरूको सूचीमा पर्ने उद्योगी विनोद चौधरी यो निर्वाचनमा पराजित भए । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालसँग ठूलो मतान्तरले पराजित भएका हुन् । उनी अघिल्लो पटक २०८९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी भएर संसद् पुगेको भए पनि यसपटक रास्वपाको लहरमा ठूलो मतान्तरले पराजित भएका छन् । यो क्षेत्रमा विजयी हुने रास्वपाका उम्मेदवार खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मत मात्रै प्राप्त गर्न सके । 

रमेशप्रसाद धमला
पर्यटन व्यवसायी रमेशप्रसाद धमला यो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । धादिङ क्षेत्र नम्बर–२ बाट कांग्रेसबाट टिकट लिई चुनावी प्रतिस्पर्धामा उत्रिएका धमला रास्वपाका उम्मेदवारसँग पराजित भएका हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्षसमेत रहेका धमलाले २० हजार २७९ मत ल्याउँदा उनलाई हराउने रास्वपाका उम्मेदवार बोधराज श्रेष्ठले २६ हजार १४५ मत प्राप्त गरे ।

चुन्नप्रसाद शर्मा पौडेल
यो निर्वाचनमा खाद्य व्यवसायी चुन्नप्रसाद शर्मा पौडेल पनि पराजित भए । कांग्रेस पार्टीको टिकट लिएर रुपन्देही क्षेत्र नम्बर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी पराजित हुन पुगे । रास्वपाका सुलभ खरेल र पूर्व अर्थमन्त्री विष्णु पौडेललगायतसँग चुनावी प्रतिस्पर्धा गरेका पौडेलले जित निकाल्न सकेनन् । यो क्षेत्रबाट रास्वपाका खरेल भारी मतान्तरले विजयी हुँदा उनी तेस्रो मात्रै हुन सके ।
यशोदा फुड्स, सोना प्याकेजिङ तथा होटल व्यवसायमा समेत संलग्न रहेका उनी व्यावसायिक रूपमा सफल भए पनि मतदाताको रोजाइमा भने पर्न सकेनन् । उनी उठेको क्षेत्रबाट खरेलले ५६ हजार ५५० मत ल्याउँदा दोस्रो भएका विष्णु पौडेलको १२ हजार ८६१ मत आएको छ । तेस्रो भएका तेस्रो भएका पौडेलले ९ हजार ३९२ मत मात्रै ल्याए ।
अनिलकुमार रुंगटा 
पर्सा क्षेत्र नम्बर–१ कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका व्यवसायी अनिलकुमार रुंगटा पनि यो निर्वाचनमा पराजित हुँदा संसद प्रवेश गर्ने सपना अधुरै हुन पुगेको छ । जगदम्बा इन्टरप्राइजेजका सञ्चालक रुंगटा प्रतिस्पर्धामा तेस्रो हुन पुगेका छन् । यो क्षेत्रबाट रास्वपाका बुद्धिप्रसाद पन्त (हरि) २७ हजार २७४ मत प्राप्त गरी विजयी हुँदा तेस्रो भएका उनले ११ हजार ८८५ मत मात्रै ल्याउन सके । उनले भन्दा बढी नेकपा एमालेका प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन् ।

वीरेन्द्रप्रसाद कनौडिया
उद्योगपति वीरेन्द्रप्रसाद कनौडिया पनि पराजित भएका छन् । कपिलवस्तु–३ बाट नेकपा एमालेका तर्फबाट टिकट लिएर उम्मेदवार बनेका उनी प्रतिस्पर्धामा तेस्रो हुँदै पराजित हुन पुगेका हुन् । यो निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह विजयी भएका छन् । शाहले २३ हजार ५३५ मत ल्याउँदा दोस्रो भएका रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८९० मत ल्याउँदा उनले १४ हजार ७६३ मत ल्याएका छन् ।

राजेन्द्र घिमिरे
झापाका अलैंची व्यवसायी राजेन्द्र घिमिरेको पनि संसद् प्रवेशको यात्रामा ब्रेक लागेको छ । झापा क्षेत्र नम्बर–३ बाट कांग्रेसबाट टिकट लिएर निर्वाचनमा होमिएका घिमिरे प्रतिस्पर्धामा तेस्रो हुँदा पराजित हुन पुगेका हुन् । यो क्षेत्रबाट रास्वपाका प्रकाश पाठक विजयी भएका छन् । पाठकले ३८ हजार ६७४ मत प्राप्त गरे । दोस्रो भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत ल्याउँदा तेस्रो स्थानका घिमिरेले ८ हजार १९९ मत मात्रै ल्याउन सके । उनी नेपाल अलैंची व्यवसायी संघका पूर्वअध्यक्ष भए पनि यो निर्वाचनमा जनताको मन जित्न नसक्दा पराजित हुन पुगे ।

कृष्ण रिजाल
धादिङ–१ मा पर्यटन व्यवसायी कृष्ण रिजाल पनि पराजित भएका छन् । उनी कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको भए पनि निर्वाचित हुन सकेनन् । उनले चुनाव लडेको क्षेत्रमा सामाजिक अभियन्ता रास्वपाकी आशिका तामाङ विजयी हुँदा रिजालको संसद प्रवेश गर्ने सपना पूरा हुन सकेन । तामाङले ३९ हजार १२८ मत ल्याउँदा चौथो स्थानका रिजालले १० हजार ८० मत मात्रै ल्याउन सके । यो क्षेत्रमा दोस्रो भएका नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३१ मत ल्याउँदा तेस्रो स्थानका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ मत ल्याए । रिजाल नेपाल पर्यटन बोर्डका पूर्वसदस्य पनि हुन् ।

सुमन सायमी
राजधानीमा मिठाइको व्यवसाय गर्दै आएका सुमन सायमी पनि यो निर्वाचनमा पराजित भएका छन् । नेकपाका तर्फबाट काठमाडौं क्षेत्र नम्बर–८ बाट यसपटक उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका सायमी पराजित भएका हुन् । यो क्षेत्रबाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी हुँदा उनले भने लज्जास्पद हार बेहोर्नुपरेको छ । श्रेष्ठले २४ हजार ५९२ मत ल्याउँदा सायमीले ३ हजार २१७ मात्र मत ल्याए । उनको यो तेस्रो हार हो । पहिलोपटक उनी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए । दोस्रो पटक अघिल्लो संसदीय निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका थिए ।

असिममान सिंह बस्न्यात
राइड–सेयरिङ एप ‘पठाओ’ का सञ्चालक असिममानसिंह बस्न्यात पनि पराजित भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर–१ बाट पराजित भएका हुन् । उनी पराजित भएको क्षेत्रमा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छन् । उनले ५० मत मात्रै ल्याएका छन् ।
सुनिलकुमार शर्मा
मोरङ क्षेत्र नम्बर–३ बाट कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मेडिकल व्यवसायी सुनिलकुमार शर्मा पराजित भएका छन् । यो क्षेत्रबाट उनले चुनाव जित्ने दाबी गरिएको भए पनि रास्वपाका गणेश कार्कीसँग उनी पराजित हुन पुगेका हुन् । कार्कीले ३६ हजार ९२४ मत ल्याउँदा शर्माले २४ हजार ३५४ मत मात्रै ल्याउन सके । उनी अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । 
यस्तै, मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्षद्वय भरतराज ढकाल र मीनप्रसाद गुरुङ पनि पराजित भएका छन् । दुवै जना स्याङ्जा क्षेत्र नम्बर–१ बाट रास्वपाका धनञ्जय रेग्मीसँग पराजित भएका हुन् । ढकाल कांग्रेस र गुरुङ नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । यसबाहेक घरजग्गा व्यवसायी प्रेमबहादुर खत्री, म्यानपावर व्यवसायी तिलक रानाभाट पनि निर्वाचनमा सफल हुन सकेनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्