नेभिगेशन
अर्थतन्त्र

भोजपुरमा आलु थन्काउन किसान व्यस्त

भोजपुर । भोजपुरका किसान आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भिœयाउने काम गरिरहेका हुन् ।
जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महŒवपूर्ण बालीका रूपमा लिइन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै आम्दानीको बलियो स्रोतसमेत बनेको छ । विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।
भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकासहित प्रायः सबै क्षेत्रमा किसान यतिबेला आलु खन्ने र थन्क्याउने काममा व्यस्त देखिन्छन् । केही किसानले उत्पादन भएको आलु घरायसी प्रयोजनका लागि भण्डारण गरिरहेका छन् भने अधिकांशले बजारमा बिक्रीका लागि तयारी गरिरहेका छन् ।
भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाका अनुसार आलु खेतीले प्रशस्त आम्दानी दिने भएकाले किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । ‘अन्य बालीभन्दा आलुबाट छिटो आम्दानी लिन सकिन्छ,’ उनले भने, ‘भोजपुर बजार नजिक भएकाले बेचबिखनमा खासै समस्या छैन । हामी यतिबेला आलु थन्क्याउनमा व्यस्त छौँ ।’
गाउँबाट युवाशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ जाने क्रम बढ्दै जाँदा खेतबारीमा कामदार अभाव हुने समस्या देखिएको किसानहरूको गुनासो छ । अधिकांश किसानले परिवारका सदस्यकै सहयोगमा आलु खन्ने र थन्काउने काम गरिरहेका छन् । जिल्लामा उत्पादन भएको आलु स्थानीय बजारसँगै छिमेकी जिल्ला र पूर्वी तराईका बजारसम्म पनि बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । उचित बजार व्यवस्थापन र भण्डारणको सुविधा उपलब्ध भए आलुखेतीबाट थप आम्दानी लिन सकिने किसानको भनाइ छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कुल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । समयमै आलु थन्काएर सुरक्षित रूपमा भण्डारण गर्न सके किसानलाई वर्षभरि खाद्यान्नको सहजता हुने र अतिरिक्त उत्पादन भएको बिक्री गरेर आम्दानी लिन सकिने किसान बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्