नेभिगेशन
अर्थतन्त्र

स्वच्छ हावा परियोजनाका लागि विश्व बैंकको साढे ७ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा औद्योगिक प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन सुदृढ गर्न पाँच करोड २० लाख अमेरिकी डलर अर्थात् करिब सात अर्ब ६४ करोड रूपैयाँ ऋण सहयोग स्वीकृत गरेको छ । नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट नामक यो परियोजनाले औद्योगिक तथा व्यावसायिक बोइलर र भट्टीबाट निस्कने सूक्ष्म कण (पिएम २.५) प्रदूषण घटाउन मद्दत गर्नेछ ।
परियोजना विशेष गरी वायु प्रदूषण गम्भीर समस्या बनेको  काठमाडौं उपत्यका, तराई क्षेत्र र आसपासका पहाडी भू–भागमा केन्द्रित हुनेछ । विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषणका कारण स्वास्थ्य खर्च र श्रम उत्पादकत्वमा हुने क्षतिका कारण वार्षिक ६ प्रतिशतभन्दा बढी जीडीपी बराबरको आर्थिक भार पर्छ ।
परियोजनाअन्तर्गत करिब ४ सय उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई स्वच्छ प्रविधि अपनाउन सहयोग गरिनेछ । यसमा विद्युत् बोइलर भट्टी, आधुनिक बायोमास बोइलर तथा उन्नत उत्सर्जन नियन्त्रण प्रविधि जडान गर्न वित्तीय सहायता, प्रोत्साहन र प्राविधिक सहयोग दिइनेछ ।
परियोजना उद्योग विभाग र वातावरण विभागले कार्यान्वयन गर्नेछन् भने राष्ट्रिय वाणिज्य बैंकमार्फत स्वच्छ प्रविधिको लागि आवश्यक वित्तीय सुविधा दिनेछ । यसका अतिरिक्त परियोजनामा युनाइटेड किङडम फरेन, कमन वेल्थ एन्ड डेभलपमेन्ट अफिस र स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसनको सहयोगमा सञ्चालित ‘रेजिलिएन्ट एसिया कार्यक्रम’ बाट ५ मिलियन डलर (७३ करोड ५० लाख रुपैयाँ) अनुदान पनि प्राप्त हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्