नेभिगेशन
अर्थतन्त्र

लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण आवश्यकः जर्मन राजदूत

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत तथा नेपाल जर्मन उद्योग वाणिज्य संघका मानार्थ अध्यक्ष उडो एउगेन फोल्जले नेपालमा लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण आवश्यक रहेको बताएका छन् । स्पष्ट नीति, स्थिर वातावरण र व्यवसायमैत्री संरचना भए मात्र व्यापार र आर्थिक गतिविधि विस्तार हुने उनले बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल जर्मन उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघसँग आबद्ध व्यवसायी सहभागी थिए । राजदूत फोल्जले नेपाली उद्यमीलाई नेपाल र जर्मनीमा आयोजना हुने व्यापार मेला तथा व्यावसायिक मञ्चहरूमा सक्रिय सहभागिता जनाउन आग्रह पनि गरे । उनले जर्मन पर्यटकको नेपालप्रति बढ्दो आकर्षण रहेको पनि जानकारी दिए । विशेषगरी पर्वतारोहण र साहसिक पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको उनको भनाइ छ ।
नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोषचन्द्र कुँवरले तीन दशकभन्दा बढी समयदेखि जर्मनीले नेपालको व्यापार र लगानी प्रवर्धनमा काम गर्दै आएको बताए । जर्मन लगानी बढाउन तथा नेपाल र युरोपेली मुलुकबीचको आर्थिक सहकार्य बलियो बनाउन थप पहल आवश्यक रहेको धारणा उनले राखे ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनुपबहादुर मल्लले नेपाल र जर्मनीबीचको व्यापार विगतमा सकारात्मक रहे पनि अहिले घाटामा गएको बताए । काठमाडौंस्थित जर्मन दूतावासका अधिकारीले ती सुझावलाई सकारात्मक रूपमा लिएको जनाइएको छ । कार्यक्रममा जर्मन दूतावासका प्रथम सचिव पिटर स्पेयरसहित अन्य अधिकारी तथा २० भन्दा बढी व्यवसायीको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र