नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका छन् ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका ग्राहकलाई विशेष ग्राह्यताका साथ एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्नेछ । बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैंकिङ सेवाहरू जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङसम्बन्धी सेवाहरू प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवाहरू उपलब्ध गराउनेछ । 
विदेशमा रहेका नेपालीलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने जनाएको छ । विभिन्न देशमा रहेका नेपालीको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत ग्राहकलाई २४सै घण्टा सेवा प्रदान गर्नेछ ।   
सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरूको विकास तथा विभिन्न १० देशभन्दा बढी देशमा रहेका बैंकका कर्मचारीमार्फत बैंकिङ सेवाहरू प्राथमिकतामा प्रदान गर्दै आएको छ ।
विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोधबिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ । विभागको उद्घाटन गर्दै अध्यक्ष ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महŒवपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने विश्वास व्यक्त गरे । ‘यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरूको आवश्यकता तथा चाहनालाई पुरा गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्