नेभिगेशन
अर्थतन्त्र

अर्थमन्त्री खनाल र निजी क्षेत्रका शीर्ष नेतृत्वबीच विशेष छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका शीर्ष नेतृत्वबीच अर्थ मन्त्रालयमा समसामयिक आर्थिक मुद्दा तथा निजी क्षेत्रसँगको सहकार्यबारे विशेष छलफल भएको छ । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी उपस्थित थिए ।
अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रले पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै २०८२ भदौ २३ र २४ को आन्दोलनले असर पारेको व्यावसायिक वातावरण सुधार्ने चुनौतीमा साझा प्रयासबाट उल्लेखनीय प्रगति भएको बताएका छन् ।
आर्थिक स्थायित्व कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवर्धन गर्न, पुँजी बजार पारदर्शी बनाउने र आर्थिक सुशासन कायम गर्ने विषयमा आएका सुझावमा चर्चा भएको उनले बताए । आफ्नो कार्यकालमा बाँकी रहेका योजना र कार्यक्रम आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिने जानकारी पनि उनले दिए ।
निजी क्षेत्रका नेतृत्वले अर्थमन्त्रीको चासो र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै मुलुकको समग्र विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरूले मूल्य अभिवृद्धि, कच्चा पदार्थ र तयारी वस्तु आयातमा कर घटाउने, उत्पादन तथा निर्यात प्रवर्धनमा सरकारको ध्यान केन्द्रित गर्ने, नियमनकारी निकायको प्रभावकारिता मूल्यांकन गर्ने र उच्च शुल्क दर घटाउने जस्ता विषयमा अझै सुधार आवश्यक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्