नेभिगेशन
अर्थतन्त्र

जर्मनीमा ‘ट्रेडिङ हब’ स्थापना गर्ने योजना

काठमाडौं । नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनजीसीसीआई) ले जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने योजना अघि सारेको छ । नेपालस्थित फिनल्यान्ड दूतावासका प्रतिनिधिसँग भएको छलफलमा नेपाल, फिनल्यान्ड र अन्य युरोपेली संघका देशबीच व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा विशेष जोड दिइएको हो ।
नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले हाल नेपाल र फिनल्यान्डबीचको व्यापार तथा आर्थिक गतिविधि सीमित भए पनि भविष्यमा सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको बताए । एनजीसीसीआईका अध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालले फिनल्यान्डसँग व्यापारिक सम्बन्ध अझ सुदृढ बनाउन चाहेको उल्लेख गर्दै नेपालबाट हस्तकला, ऊनी कार्पेट, तयारी पोसाक, काठ तथा बाँसका उत्पादन निर्यात हुने गरेको जानकारी दिए । त्यस्तै नेपालले फिनल्यान्डबाट मेसिनरी, दूरसञ्चार उपकरण, मलखाद तथा विद्युतीय सामग्री आयात गर्ने गरेको पनि उनले बताए ।
उनले फिनल्यान्डलाई नेपाली उत्पादनका लागि युरोपेली बजारमा प्रवेश गर्ने ‘गेटवे’का रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै एनजीसीसीआईले जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने योजना अघि बढाएको जानकारी दिए ।
बैठकमा एनजीसीसीआईका उपाध्यक्ष, कार्यसमिति सदस्य तथा व्यवसायीहरू सहभागी थिए । सो अवसरमा डा. गोपालप्रसाद तिवारीले युरोपेली संघका बजारमा नेपालको उपस्थिति विस्तार गर्न सकिने अवसरबारे प्रस्तुति दिँदै व्यापारिक अवरोध घटाउन आवश्यक रहेको बताए । नेपालस्थित फिनल्यान्ड दूतावासकी सहकार्य प्रमुख सारा एलानेनले डिजिटलाइजेसन र जलवायु परिवर्तनका क्षेत्रमा नेपालसँग सहकार्य बढाउन फिनल्यान्ड इच्छुक रहेको बताइन् ।
त्यसैगरी एनजीसीसीआईका उपाध्यक्ष उत्तम भट्टराई, महासचिव एलेक्सलाल मुक्तान, कोषाध्यक्ष शुभाशिष थपलिया, सह–कोषाध्यक्ष गोपालदास मानन्धर तथा कार्यसमिति सदस्यहरू अवदेश के दास, राजीव मंगल जोशी र विधाता श्रेष्ठले नेपाली उत्पादनको निर्यात प्रवर्धन र युरोपेली पर्यटक आकर्षित गर्ने उपायबारे सुझाव दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्