नेभिगेशन
अर्थतन्त्र

कालोसूचीमा पर्ने प्रावधानलाई खुकुलो बनाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कालोसूचीमा पर्ने प्रावधानलाई खुकुलो बनाउने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका हुन् ।
‘चेक ब्याउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौं,’ पर्सामा आयोजित कार्यक्रममा उनले भने, ‘कालोसूचीमा पर्नेहरूको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौं । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ ।’
गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेरमात्रै पनि मुलुक नचल्ने बताए । ‘व्यवसाय भनेको कलेज पढाएरमात्रै पुग्ने रहेनछ । व्यापारी हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खानुपर्ने रहेछ,’ उनले भने, ‘त्यसपछि मात्रै व्यवस्थित ढंगले अघि बढ्ने हुँदा त्यसलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी छ ।’ व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ पनि ध्यान दिन जरुरी रहेको उनले बताए ।
गर्भनर पौडेलले व्यवसाय गर्न खोज्नेलाई एकपटक गल्ती गर्दैमा दुःख दिन नहुने पनि स्पष्ट पारे । फरक प्रसंगमा उनले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अंगिकार गर्दै आइरहेको जानकारी दिए । ‘भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्रथामिकतामा राख्दै आइरहेका छौं,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्