नेभिगेशन
अर्थतन्त्र

लगानी अनुकूल वातावरणप्रति निजी क्षेत्र उत्साही

 

काठमाडौं । लामो समयपछि मुलुकमा बहुमतको सरकार गठन हुने भएकाले नीतिगत स्थायित्वमा निजी क्षेत्र आशावादी देखिएको छ । गैरआवासीय नेपाली संघको १२औं विश्व सम्मेलनमा शनिबार सहभागी उद्योगी व्यवसायी मुलुकमा अब लगानीको वातावरण बन्नेमा आशावादी सुनिए । 
उनीहरुले बहुमतको सरकारसँगै नेपालमा लगानीको वातावरण अनुकूल हुने प्रष्ट देखिएको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी बढाउन आह्वान पनि गरे । उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके प्रवासमा रहेका नेपालीको लगानी बढ्न सक्ने धारणा राखे ।
उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके विदेशमा रहेका नेपालीको लगानी उल्लेखनीयरूपमा बढ्न सक्ने धारणा राखे । उनीहरूका अनुसार राजनीतिक अस्थिरताले विगतमा लगानीकर्तामा अनिश्चितता पैदा गरे पनि अब स्थिर सरकार बनेमा आर्थिक गतिविधि विस्तार हुने र निजी क्षेत्रले पनि लगानी बढाउने अपेक्षा गर्न सकिन्छ ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मुलुकमा लगानीका लागि विश्वासिलो आधार निर्माण गर्न सरकार, गैरआवासीय नेपाली र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।  विगतमा सरकार अस्थिर हुँदा नीतिगत एकरूपतामा समस्या आएको उल्लेख गर्दै अब स्थिर सरकार बन्ने संकेतले लगानीकर्तामा सकारात्मक सन्देश जाने बताए । ‘विगतमा अस्थिर सरकारका कारण नीतिगत एकरूपतामा केही समस्या देखिएको थियो,’ उनले भने, ‘अब करिब दुई तिहाइको सरकार बन्ने सम्भावना रहेकाले लगानीकर्तामा आत्मविश्वास जगाउन सबै एकजुट हुनुपर्छ ।’ उनले लगानीकर्ताका लागि सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरे ।
नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई मुलुकको दीर्घकालीन आर्थिक विकाससँग जोड्ने विषयमा गम्भीररूपमा सोच्नुपर्ने बताए । उनले भने, ‘विदेशमा रहेका नेपालीसँग ठूलो आर्थिक स्रोत र सीप छ । त्यसलाई नेपालभित्र उत्पादन र उद्यमसँग जोड्न सके देशको आर्थिक विकासमा ठूलो योगदान पुग्न सक्छ ।’ लगानीका लागि सुरक्षित वातावरण, पारदर्शी नीतिगत संरचना र विश्वासको आधार तयार गर्नुपर्नेमा पनि उनले जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा राजनीतिक स्थिरताको वातावरण बन्दै गएको उल्लेख गर्दै प्रवासी नेपालीसँग सहकार्य गरेर लगानी भिœयाउन निजी क्षेत्र तयार रहेको बताए । लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका प्रक्रिया अघि बढिरहेको जानकारी पनि उनले दिए ।
‘अहिलेको विश्व परिवेश हेर्दा, चाहे मध्यपूर्वको द्वन्द्व होस् या कोभिडको समय, अन्तिममा फर्किने ठाउँ भनेको आफ्नै जन्मभूमि हो,’ उनले भने, ‘नेपालमा जुनसुकै व्यावसायिक क्षेत्रमा लगानी गरे पनि जति सम्भावना र अवसर यहाँ छ, सायदै अन्यत्र कतै होला ।’
नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न गैरआवासीय नेपालीको लगानी महŒवपूर्ण हुने धारणा राखे । ‘हाम्रो आन्तरिक स्रोतले मात्र सय बिलियन डलरको अर्थतन्त्र बनाउन सम्भव छैन,’ उनले भने, ‘एलडीसी ग्राजुएसनपछि वैदेशिक सहायताको योगदान कम हुने भएकाले नेपाललाई रूपान्तरण गर्न एनआरएनको लगानी बढाउनुको विकल्प छैन ।’ विभिन्न देशहरूले प्रवासी नागरिकको ज्ञान र लगानी उपयोग गरेर आर्थिक विकास गरेको उदाहरण पनि उनले प्रस्तुत गरे ।
‘सन् १९६० को दशकतिर कोरियाले विदेश गएका आफ्ना नागरिकलाई कर छुट र प्रशासनमा पहुँच दिएर फर्कायो, जसको अनुसन्धान र लगानीबाट हुन्डाई र किया जस्ता कम्पनी जन्मिए । जापानले पनि विदेशमा रहेका आफ्ना नागरिकको सीपको उपयोग गरेर औद्योगिक विकासलाई तीव्र बनायो,’ उनले भने, ‘अब हामीले पनि विश्वभर फैलिएका नेपालीको नलेजलाई नेपालसँग जोड्नुपर्छ ।’
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी सुरक्षा र विश्वासको वातावरण निर्माणमा जोड दिए । हाउजिङ र घरजग्गा व्यवसायमा सहकारले सहजीकरण गर्नुपर्नेमा उनले क्षेत्र औंल्याए । 
‘गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न संस्थागत संयन्त्र आवश्यक छ । राज्यका तर्फबाट लगानीमैत्री वातावरण बनाउन थुप्रै ऐन–नियममा सुधार गर्नुपर्छ,’ उनले भने । 
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ संकल्पको कमी रहेको बताए । ‘हामी नेपाललाई किन समृद्ध बनाउन सक्दैनौं ? म गैरआवासीय नेपाली मित्रहरूलाई भन्न चाहन्छु – हामी सरकारसँग गुनासो मात्रै गर्छौं। सबै कुरा राम्रो भएको भए तपाइँ–हाम्रो के आवश्यकता पर्ने थियो र ?,’ उनले भने । 
महतोले देश निर्माणमा प्रवासी नेपालीले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता उल्लेख गरे । उनले भने, ‘जुन बेला देश अप्ठ्यारोमा हुन्छ, नियम–कानुन अप्ठ्यारा हुन्छन्, त्यस्तो बेला हामीले नै आएर नेपाल बनाउने अभियान अगाडि बढाउनुपर्छ ।’ विदेशमा रहेका नेपालीको आर्थिक योगदान उल्लेख गर्दै उनले थपे, ‘२००३ मा करिब ३० लाख नेपाली विदेशमा थिए, अहिले ८० लाखभन्दा बढी छन् । त्यतिबेला पाँच बिलियन रेमिट्यान्सको कुरा हुन्थ्यो, अहिले २० बिलियन पुगेको छ । नेपालभित्र र बाहिरको आर्थिक शक्ति जोड्न सकियो भने छोटो समयमै १०० बिलियन डलरको अर्थतन्त्र बनाउने सम्भावना छ ।’ प्रवासी नेपालीको लगानीले नेपालभित्र रहेका लगानीकर्तालाई पनि थप प्रेरणा र बल दिने उल्लेख गर्दै उनले गैरआवासीय नेपालीलाई संगठनमा आफ्ना नयाँ पुस्तालाई पनि जोडेर अघि बढ्न आह्वान गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै